विर्सन नसकिने चलचित्र पत्रकारिताको ईतिहास



Writer: Bijay Ratna
Writer: Bijay Ratna

विजयरत्न तुलाधर। वि.सं. २००७ असोज २२ गतेका दिन भारतीय भूमिमा निर्माण प्रारम्भ गरिएको नेपाली चलचित्र “सत्य हरिश्चन्द्र”लाई पहिलो नेपाली चलचित्र मान्ने हो भने यसको इतिहासले साठी वर्ष पार गरेको छ । यदि वि.सं. २०२२ असोज १५ गते प्रदर्शित “आमा” लाई पहिलो चलचित्र मान्ने हो भने पनि पचास वर्षको नजिक पुग्दैछ नेपाली चलचित्रको इतिहास ।

पहिलो नेपाली चलचित्र कुन हो भनी निक्र्यौल गर्न नसकेको नेपाली चलचित्र इतिहासमा चलचित्रलाई समेटेर गरिने पत्रकारिताको इतिहासलाई खोतल्न त्यत्ति सहज छैन र खोतल्दै जाँदा अहिलेसम्ममा भेटिएको सबैभन्दा पहिलो पत्रिका भनेको “सिनेमा” हो । यो पत्रिका वि.सं. २०११ कार्तिक १० गतेका दिन प्रकाशनमा आएको थियो ।यसका सम्पादक के.एल. कर्माचार्य हुन् र प्रकाशक प्रतापबहादुर जोशी हुन् । यो पत्रिका अन्नपूर्ण प्रेस, असनमा छापिएको हो । यो प्रेस अद्यापि असनमैं छ । तर अहिले त्यहाँ पूर्ण आधुनिक अफसेट मेसिन जडान गरिएको छ ।

सिनेमा पत्रिकाको सम्पादकका रूपमा नाम दिइएका व्यक्तित्व के.एल. कर्माचार्यको पूरा नाम केशवलाल कर्माचार्य हो । उनी वरिष्ठ साहित्यविद् माधवलाल कर्माचार्यका दाजु हुन् । नेपालमा चलचित्र बन्ने काम शुरु नै नभएको कालखण्डमा प्रकाशित “सिनेमा” पत्रिकामा हिन्दी चलचित्रका कुराहरू छापिएका थिए । त्यस्तो हुनु स्वभाविक पनि थियो किनभने यो पत्रिकाको मूल उद्देश्य नै नेपाली पाठकहरू माझ चलचित्रका कुराहरू पस्कनु थियो र यो आफ्नो अभिष्टमा सफल पनि भयो । “सिनेमा” पत्रिकामा हिन्दी चलचित्रबारे चर्चा गर्नु पर्दा यसका सम्पादकलाई त्यति सन्तुष्टि नभएको कुरा उनले पहिलो अङ्कको सम्पादकीयमा “आफ्नै उद्योग नभएको देशले बाहिरी उद्योगको फाइदा लिन हिच्किचाउनु भन्दा बरु आफ्नै उद्योग गर्नु लाख गुना जाति थियो भन्ने नहुञ्जेलसम्मलाई युगले दिएको सुविधाबाट वञ्चित भइरहनु बुद्धिमानी हुँदैन ।” भनी लेखका हरफबाट पुष्टि हुन्छ ।

पाक्षिक रूपमा प्रकाश गर्ने भनिएको “सिनेमा” पत्रिकाको दोस्रो अङ्कसमेत प्रकाशित हुन पाएन । त्यसपछि वि.सं. २०१४ श्रावण १५ गतेका दिन कुमारी मनचन्दा र शेखरकुमारको संयुक्त सम्पादकत्वमा “रङ्गमञ्च” नामक एउटा पत्रिका प्रकाशनमा आयो । यो पत्रिका साप्ताहिक रूपमा प्रकाशित गर्ने लक्ष्य लिइएको थियो । तीन अङ्कसम्म हप्तै पिच्छे प्रकाशित पनि भयो । तर पछि साप्ताहिक रूपमा प्रकाशित गर्ने योजना त्याग्दै मासिक रूपमा प्रकाशन गर्न थालियो । मासिक रूपमा पनि “रङ्गमञ्च” ले धेरै लामो यात्रा तय गर्न सकेन । “सिनेमा” पत्रिकाको दर्ता नम्बर का.मे.द.नं. ३८ थियो भने “रङ्गमञ्च” को दर्ता नम्बर का.मे.द.नं. १०८ रहेको थियो । दुवै पत्रिकाले आफ्नो प्रकाशन दीगो राखी राख्ने प्रयत्न स्वरुप वार्षिक ग्राहक योजनासमेत अघि सारेका थिए । प्रति वर्ष दस रुपैयाँ ग्राहक शुल्क तोकेको यी दुवै पत्रिकाको यात्रा भने दीगो हुन सकेन । यस पछि वि.सं. २०२७ तिर “आराधना” र “प्रिया” गरी दुई थप पत्रिकाहरू यो फाँटमा देखिए । “आराधना” का प्रकाशक राजा बी. दुकेला, प्रधान सम्पादक श्यामराज देव र सम्पादक गोपालप्रसाद अधिकारी रहेका थिए ।

FJA

यतिबेलासम्ममा आमा, परिवर्तन, हिजो आज भोलि, माइतीघर गरी चार चलचित्रहरू प्रकाशमा आइसकेका थिए । तर चलचित्र निर्माणको क्रम खास उल्लेखनीय रूपमा बढ्न नसक्दा “आराधना” र “प्रिया” पत्रिकामा चलचित्रका भन्दा साहित्यका कुराहरू बढी छापिएका थिए । साहित्यिक पत्रिकाको रूपमा प्रकाशित “प्रिया” का सम्पादक हिमालयभक्त प्रधानाङ्ग हुन् । उनले यो पत्रिका पछि मात्रै चलचित्र विषय समेटेका थिए । यसरी आक्कल झुक्कल नै भए पनि चलचित्रलाई विषय बनाई पत्रिकाहरू प्रकाशनमा आउन थालेका थिए ।

वरिष्ठ चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा चलचित्र जगतका एक गहन अध्ययनकर्ता मानिन्छन् र चलचित्रबारे कलम चलाउने पहिलो व्यक्ति पनि लक्ष्मीनाथ शर्मा नै हुन् । नेपालमा चलचित्र वितरण र प्रदर्शन शीर्षकमा उनले लेखेको लेख २०२९ मङ्सिर १ गते गोरखापत्रमा छापिएको थियो । उनको यो लेख नै अहिलेसम्म भेटिएको चलचित्र सम्बन्धी प्रकाशित सम्भवतः पहिलो लेख हो भन्ने देखिन्छ । चलचित्र निर्देशनका साथसाथै चलचित्रबारे विरचारोत्तेजक लेखहरू लेख्दै आइरहेका वरिष्ट चलचित्रकर्मी लक्ष्मीनाथ शर्मा नै चलचित्र सम्बन्धी पुस्तक लेख्ने पहिलो लेखक हुन् । उनले लेखेको पुस्तक “चलचित्रकला” वि.सं. २०३८ असारमा प्रकाशित भएको थियो । शुरुका दिनहरूमा नेपाली चलचित्रबारे कलम चलाउने चेतन कार्की पनि नेपालका वरिष्ठ चलचित्रकर्मीका रूपमा चिनिनु हुन्छ । उनले ती दिनमा लेखेका लेखहरूमध्ये तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकको अवसरमा (२०३१) प्रकाशित “भानु” पत्रिकामा छापिएको “चलचित्र संक्षिप्त इतिहास र वर्तमान”लाई अहिले ऐतिहासिक दस्तावेजको रूपमा लिन सकिन्छ ।

चलचित्रहरू बन्ने सङ्ख्या बढ्न नसके पनि चलचित्र पत्रिका भने आक्कल झुक्कल रूपमा देखिन क्रम बढ्न थाले । यसै बीच वि.सं. २०२८ तिर नै नरेन्द्रविलास पाण्डेको सम्पादनमा “नयाँ संसार”को प्रकाशन आरम्भ भयो । वरिष्ठ चलचित्र व्यवसायी उद्धव पौड्र्यालका अनुसार नरेन्द्रविलास पाण्डेको सम्पादनमा ”सिनेमा संसार“नामको एउटा पत्रिका पनि प्रकाशित भएको देखिन्छ र सो पत्रिकामा उद्धव पौड्र्याल स्वंयले पनि कलम चलाएको देखिन्छ । यो चलचित्र पत्रिकाकै रूपमा प्रकाशित गरिएको थियो र यसमा पनि हिन्दी चलचित्र बारेका कुरा नै बढी छापिने गर्थे । रमेशनाथ पाण्डेको सम्पादनमा “नयाँ सन्देश” नामक एउटा पत्रिका पनि त्यत्ति नै बेला देखा प¥यो । मनोरञ्जनलाई मूल विषय बनाइएको “नयाँ सन्देश” मा तत्कालीन युवा वर्गका मन जित्ने खालका सामग्रीहरू समावेश गरिएका थिए । त्यतिबेला प्रकाशनमा आएका पत्र–पत्रिकाहरू मनोरञ्जन मूलक नै भए पनि त्यसमा साहित्यिक स्तम्भ पनि राख्ने चलन थियो । त्यत्तिमात्र नभई अहिलेका विख्यात साहित्यकारहरूले समेत कलम चलाएका थिए ।

विश्व बस्नेतको प्रयासमा नेपालकै पहिलो रङ्गीन पत्रिकाको रूपमा “मधुरम” प्रकाशमा आयो । यो मूलतः चलचित्र विषयकै पत्रिका थियो । महङ्गो प्रविधि अपनाइएको कारण “मधुरम”ले सोचे जस्तो बजार लिन सकेन । यो पत्रिका दीगो रहन नसके पनि नेपाली चलचित्रको लागि भनेर प्रकाशित गरेको पहिलो पत्रिका यसैलाई मान्नु पर्दछ । वि.सं. २०३७ सालबाट प्रकाशन आरम्भ भएको “पुकार” पत्रिकाका प्रकाशक एवं प्रधान सम्पादक हिमालय लोहनी हुन् । अहिलेका विख्यात साहित्यकार एवं चलचित्र निर्देशक प्रकाश सायमी त्यतिबेला यस पत्रिकाका प्रधान सम्वाददाताका रूपमा रहेका थिए । साहित्यिक द्वैमासिकका रूपमा प्रकाशित “पुकार” लगायत परिवर्तन, ममता जस्ता पत्रपत्रिकामा पनि चलचित्रलाई केही स्थान दिने गरिएको थियो । जी.पी. शर्माको पत्रिका “ममता” मा विजय उदय पाल्पाली सह–सम्पादक र पुष्करलाल श्रेष्ठ खेलकूद स्तम्भकारका रूपमा संलग्न रहेका थिए । सानो बजार र बढ्दो लागतको कारण त्यतिबेला मनोरञ्जन विधाका पत्रिकाहरूको आयु लम्बिन सकेको थिएन । हुन त अहिलेसम्म पनि स्थिति त्यस्तै छ । तर त्यत्तिबेला निकै ठूलो समस्या भोग्नु पर्दथ्यो । यिनै समस्याहरूको कारण जी.पी.शर्माले “ममता” बन्द गर्ने निधो गरे ।

“ममता” भन्दा पहिलो जी.पी. शर्माले “हिमाली साँझ” नामक पत्रिका पनि प्रकाशित गरेका थिए । वि.सं. २०३२ मा प्रकाशन आरम्भ भएको यो पत्रिकामा चलचित्रका समाचार पनि छापिने गरेका थिए । यही “हिमाली साँझ” लाई पछि “ममता” नाम दिइएको थियो र “ममता” पनि बन्द भए पछि २०४१ मङ्सिर १५ गतेका दिन चलचित्र मासिकका रूपमा “कामना” प्रकाशनमा ल्याए । त्यतिबेला “कामना” का सम्पादक विजय उदय पाल्पाली रहेका थिए । पुष्करलाल श्रेष्ठले प्रकाशकको जिम्मेवारी बहन गरेको “कामना” प्रकाशन थालिएको दुई अङ्क पनि बित्न नपाउँदै सम्पादक विजय उदय पाल्पाली यसबाट अलगिए । उनी अलगिए पछि पुष्करलाल श्रेष्ठ स्वयं नै सम्पादक र प्रकाशकको जिम्मेवारी वहन गर्दै अगाडि बढे । यो क्रम निरन्तर रूपमा अघि बढिरहेको नै छ । पच्चीस वर्ष अगाडि ट्याब्लोईड साइजमा श्यामश्वेत पृष्ठहरूमा प्रकाशित “कामना” ले आफ्नो प्रकाशनको २५ औं अङ्क पुग्दा आवरण र केही पृष्ठ रङ्गीन कलेवरमा छाप्न शुरु गरेको थियो भने अहिले पूर्ण रूपमा रङ्गीन पृष्ठहरू प्रकाशित भइरहेका छन् ।

“कामना” पाक्षिक रूपमा समेत प्रकाशनमा आएको थियो । यसरी अडिग रूपमा अगाडि बढिरहेको “कामना” नै नेपालको चलचित्र पत्रकारिता फाँटलाई आधुनिकतातिर डो¥याउन सफल पत्रिका हो । उसो त ७÷०४१–४२ दर्ता नं. रहेका “कामना” भन्दा अगावै १०–९÷०३८–३९ दर्ता नं. रहेको “कलाकार आवाज” र दर्ता नं. ५७÷०३६–०३७ रहेको “रूपरङ्ग” पत्रिका पनि अस्तित्वमा आइसकेको थियो । तर यी पत्रिकाहरू पनि “कामना” प्रकाशन थालिएपछि मात्र नियमित रूपमा प्रकाशन यात्रामा अगाडि बढेका थिए ।

“कलाकार आवाज” का सम्पादक सुभाष गजुरेल हुन् । “रुपरङ्ग” का सम्पादक श्री आचार्य हुन् । शुरुमा यी पत्रिकाहरु सामान्य छपाई प्रविधिमा छापिएका थिए । चलचित्र पत्रकारिता क्षेत्रको विकासको युगको थालनीको रूपमा लिन सकिने यही कालमा विजयरत्न तुलाधर, रमण घिमिरेपछि कृष्णमुरारी अधिकारी, प्रदीप भट्टराई, राजेश खनाल, श्रीओम श्रेष्ठ रोदन÷शैलेश आचार्य जस्ता अग्रज पुस्ताका चलचित्र पत्रकारहरूले आफ्नो पत्रकारिताको यात्रा आरम्भ गरे । यस्तै गरी मोहन निरौला सम्पादक र राजेश खनाल सह सम्पादक रहेको “चलचित्र”पनि यो फाँटको एक उल्लेखनीय पत्रिका थियो ।

चार पाँच वर्ष भए पनि आफ्नो अस्तित्व जोगाउन सफल भएका पत्रिकाहरूमा जे.बी. किराती राईको सम्पादनमा प्रकाशित “मनोकामना” पनि एक प्रमुख पत्रिका हो । नेपालको चलचित्र पत्रकारिता फाँटमा देखिएका अन्य पत्रिकाहरूमा उर्वशी, चाँदनी, श्री, अप्सरा, प्रिया, रोशनी, पूर्णिमा, सिने स्टार, मञ्जुषा, सिनेमा टाइम्स, कुमारी, तरङ्ग, मनको तरङ्ग, माधुरी, गीताञ्जली, भावना, ढुकढुकी, सिमल, स्क्रिन, वारपार, कलिउड स्टार, प्राइम म्यागजिन, सानो पर्दा, कलाश्री,सिने सम्झना, कलापुञ्ज, सिनेमा समर्पण, सिने हट लाइन, स्टारडम तथा अभिसर्ग आदि जस्ता कैयन पत्रिकाहरू एक पछि अर्को हुँदै गएका चलचित्र विषयक पत्रिकाहरू हुन् भने आर.डी. शृङ्खलाको “सिनेयात्री” लगायत “शृङ्गार” नामक पत्रिका अहिले पनि अक्कल झुक्कल प्रकाशनमा आइरहेका छन् । त्यस्तै गरी रामराजा फुँयालको सम्पादनमा “ग्लामर प्लस” नामक पत्रिका पनि अहिले बजारमा देखिने गरेका चलचित्र पत्रिका हो ।

यसरी हेर्दा वि.सं. २०११ सालमा प्रकाशित नेपालको पहिलो चलचित्र पत्रिका “सिनेमा” बाट आरम्भ भई अहिले निकिता पौडेलको सम्पादनमा प्रकाशन आरम्भ गरिएको साप्ताहिक पत्रिका “सिनेमा संसार” सम्म पुग्दाको चलचित्र पत्रकारिताको यात्रामा पच्चीस वर्षको परिपक्व अनुभव सँगालेर “कामना” मासिकमात्रै निर्वाध रूपमा अगाडि बढ्न सफल भइरहेको छ । अरु पत्रिकाहरूले यस्तो दीगो इतिहास बोकेको देखिँदैन । अहिले शान्तिप्रियको “फिल्मी खबर”ले एउटा नयाँ आश देखाएको छ । यो पत्रिका प्रकाशनमा आउनु अघि आर.के. सुवेदीले साप्ताहिक रूपमा “बक्स अफिस” प्रकाशन आरम्भ गरेका थिए ।

अहिले विज्ञानको विकास र प्रविधिको विकास सँगसँगै चलचित्र पत्रकारिताको क्षेत्र पनि दिनानुदिन विस्तारित हुँदै गइरहेको छ । अहिले प्रकाशनमा आइरहेका सम्पूर्ण राष्ट्रिय दैनिकहरूमा चलचित्र सम्बन्धी सामग्रीका लागि छुट्टै पृष्ठ छुट्याउने चलन बढेको छ । विगतका दिनहरूमा त्यस्तो थिएन (चलचित्रको सानो समाचारसम्म छपाउन पनि गाह्रो थियो) अहिले चलचित्र पत्रकारिताको क्षेत्र बढ्दै गई टेलिभिजन रेडियो, एफ.एम. सम्म पुगिसकेको छ । यतिमात्र नभई इन्टरनेटको माध्यमबाट पनि चलचित्रको पत्रकारिता अगाडि बढ्न थालेको छ । अहिले टेलिभिजन च्यानलहरू पनि धेरै भइसकेका छन् । ती सबै टेलिभिजनमा अहिले चलचित्र विषयको कार्यक्रम प्रसारण भइरहेको छ । टेलिभिजनमा चलचित्र बारेका पहिलो कार्यक्रम चलाउने भरत शाक्य हुन् । उनले नेपाल टेलिभिजनमा वि.सं. २०५२ तिर पहिलो पटक “सयपत्री” नाम राखी टेलिभिजन कार्यक्रम मार्फत् चलचित्र पत्रकारिताको क्षेत्र विस्तारित गरेका थिए । विधुतिय माध्यममा रेडियो , एफ.एम लगायत वेबसाइटहरु मार्फत पनि चलचित्र पत्रकारिता फस्टाँउदै गइरहेको छ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu