कामना फिल्म अवार्डस्‌का लागि आवेदन खुला



Kamana

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
यसै बर्षबाट आयोजना हुन लागेको कामना फिल्म अवार्डस्‌का लागि आवेदन खुला गरिएको छ । प्रेस विज्ञप्ती जारी गर्दै आयोजक कामना मासिकले अवार्डमा सहभागी हुनका लागि २०७० साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म प्रदर्शित नेपाली चलचित्रलाई आवेदन गर्न आब्हान गरेको छ ।

कामना फिल्म अवार्डस् २०७१ मा सहभागी हुन इच्छुक नेपाली भाषामा बनेका कथानक चलचित्रका निर्माताहरूले कामना न्यूज पब्लिकेसन्स्को कार्यालयमा सम्पर्क राखि चलचित्र विकास बोर्डबाट प्राप्त चलचित्र निर्माण इजाजतपत्रको छायाँछवि सहित आवेदन दिनसक्ने प्रावधान राखिएको छ । केवल च्यारिटी शोमात्र भएका चलचित्रले कामना फिल्म अवार्डस् २०७१ मा सहभागी हुन नसक्ने आयोजकले जनाएका छन् । आवेदन आगामी असार १ देखि १५ गतेसम्म भरिसक्नुपर्ने आयोजक कामना न्यूज पब्लिकेसन्स्ले जनाएको छ ।

विगत लामो समयदेखि कला क्षेत्रकै कलाकर्मी तथा चलचित्रकर्मीहरुले निष्पक्षरुपमा अन्तर्राष्ट्रियस्तरको फिल्मी अवार्ड गर्न दिँदै आएको सुझावलाई मनन गर्दै कामनाले यो वर्षबाट अवार्ड कार्यक्रम आरम्भ गर्न लागेको हो । समग्र कलाकर्मी, चलचित्रकर्मी र प्राविधिकको सामाजिक प्रतिष्ठा, अन्तर्राष्ट्रिय ख्याति निर्माण एवम् त्यसको श्रीवृद्धि अनि नेपाली चलचित्र क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय पहिचान दिलाउने उद्देश्यले प्रकाशनमा ल्याइएको कामना सिने मासिकले आयोजना गर्न लागेको कामना फिल्म अवार्डसलाई कामनाले समग्र कलाकर्मीको अवार्डको रुपमा सम्पन्न गर्ने दृढता व्यक्त गरेको छ ।

कलाकर्मीको सम्मानलाई नै आफ्नो सम्मानका रुपमा लिादै आएको साधना स्वास्थ्य मासिक, नेपाल समाचारपत्र राष्ट्रिय दैनिक र न्यूज अफ नेपाल डट कमसमेत प्रकाशन र सञ्चालन गर्दै आएको कामनाले कलाकर्मीकै निष्पक्ष मूल्यांकन र सम्मानका लागि यो अवार्डको थालनी गर्न लागेको कामनाका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको भनाइ छ । ‘अवार्ड भन्नासाथ निष्पक्षताको कुरा आउने गर्छ, त्यसका लागि हामी सर्वप्रथम अवार्डका हरेक गतिविधिलाई पूर्णरुपमा पारदर्शी बनाउनेछौं । साथै मूल्यांकन प्रक्रियालाई सरल र विवादरहित बनाउनका लागि हरेक विधाको मापदण्ड निर्माण गरेका छौं’, प्रधान सम्पादक श्रेष्ठ भन्नुहुन्छ- ‘नेपाली चलचित्र जगत्को गुणात्मक विकास तथा अन्तर्राष्ट्रियरुपमा चलचित्रकर्मीहरुको ख्याति वृद्धि गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको कामना फिल्म अवार्ड्ससाग नेपाली मनोरञ्जन क्षेत्रमा बहुप्रतिष्ठित सिजी इन्टरटेनमेन्टको सहकार्यले अवार्ड अझै स्तरीय हुने अपेक्षा गरेको छु ।’

त्यसै गरी सिजी इन्टरटेनमेन्टका अध्यक्ष तथा प्रतिष्ठित उद्योगपति वसन्त चौधरीले कामना फिल्म अवार्डसँग जोडिनु आफ्नो र कम्पनीका लागि गौरवसँगै सुखद पक्ष रहेको बताउनुभयो । ‘कामनाले तीन दशक पूरा गरेको गौरवमय अवसरमा शुरु गर्न लागेको कामना फिल्म अवार्ड्समा सिजी इन्टरटेनमेन्टको सहभागिता मेरा लागि सुखद अवसर हो । हाम्रो सहकार्यले सम्मानजनक यस थालनीलाई थप मजबुत बनाउने विश्वास मैले लिएको छु । निष्पक्षता, पारदर्शीता र उत्कृष्टताले नै यो अवार्ड नेपाली चलचित्र क्षेत्रको महाउत्सव हुनेछ ।’

कामना फिल्म अवार्डसलाई प्रतिस्पर्धाका आधारमा मुख्य अवार्ड, प्राविधिक अवार्ड र अप्रतिस्पर्धीरुपमा सम्मान, क्रिटिक्स एवम् जुरी अवार्ड गरी ५ भागमा विभाजन गरिएको छ । कुल ३१ विधामा प्रदान गरिने अवार्ड समारोहमा एकजना कलासाधकलाई १ लाख रुपियाँ नगदसहित लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिने छ । कामना फिल्म अवार्डस्मा मुख्य अवार्डतर्फ सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, खलपात्र, हास्य कलाकार, सह-अभिनेता, सह-अभिनेत्री, संगीतकार, गीतकार, पाश्र्व गायक, पाश्र्व गायिका, नवनिर्देशक, नवअभिनेता, नवअभिनेत्री र बालकलाकार विधामा अवार्ड प्रदान गरिनेछ ।

त्यसै गरी प्राविधिक अवार्डतर्फ सर्वोत्कृष्ट कथा, पटकथा, संवाद, छायांकन, सम्पादन, नृत्य निर्देशन, ध्वनि मिश्रण, पाश्र्व संगीत, द्धन्द्ध निर्देशन र शृङ्गार विधामा अवार्ड प्रदान गरिने कार्यक्रम रहेको छ । यसबाहेक सम्मान समर्पणका रुपमा एकजना कलासाधकलाई एक लाख रुपियाँ नगदसहित लाइफ टाइम अचिभमेन्ट सम्मान प्रदान गरिनेछ छ भने क्रिटिक्स अवाडतर्फ सिजी संगीत क्रिटिक्स अवार्ड, सिजी फेशन क्रिटिक्स अवार्ड र सिजी नाटक क्रिटिक्स अवार्ड प्रदान गरिनेछ । यसका अलावा एक फिल्म वा कलाकार/प्राविधिकलाई जुरी अवार्डबाट पुरस्कृत गरिने कार्यक्रम रहेको छ । कामनाका सम्पादक विदुर गिरीका अनुसार अवार्डको आन्तरिक तयारी जारी छ भने छिट्टै नै अवार्डको तिथि घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu