चलचित्रमा कुनै सपना देखेको छैनः सुब्रत



subrat-achary

[dropcap]हि[/dropcap]जोआज नेपाली चलचित्रमा सञ्चारकर्मीको प्रवेशले नयाँ चर्चा हुन थालेका छन् । केहि पत्रकार लेखनमा छन्, केहि निर्देशनमा भने केहि अभिनयमा । केहि चलचित्र रिलिज भईसकेका छन् भने केहि तयार बनिसकेका छन् । यसै क्रममा कान्तिपुर साप्ताहिकसँग आवद्द पत्रकार सुब्रत आचार्य पनि निर्देशनमा होमिएका छन् । पुराना निर्माता तथा वितरक प्रदिप कुमार उदयले लगानी गरेको चलचित्र ‘अधकट्टी’ छायांकन सकि पोस्टप्रोडक्शनमा रहेको छ । हल्काफुल्का कमेडी यो चलचित्र रिलिजको लागि कुनै मिति तोकिएको छैन । लामो समय थिएटरमा विताएका सुब्रत पत्रकारितामा आउनु अगावै चलचित्रमा आवद्द थिए तर त्यस्तो कुनै चिनिने काम भने गरेका थिएनन् । यसर्थ ‘अधकट्टी’ डेब्यू चलचित्र हो । सुब्रतसँग ठुलोपर्दा डटकमका जिवन पराजुलीले गरेको कुराकानीको संपादित अंशः

१. पत्रकारिताबाट निर्देशनमा किन आउनुभयो ?
वास्तवमा पत्रकारितामा आउनु भन्दा अगाडी नै म निर्देशनमा थिएँ । म थिएटरबाट आएको हो । सानो उमेर देखि नै म नाटकमा सहभागिता जनाउथेँ । नृत्य सिकाउथेँ । म नृत्य निर्देशक राजु शाहको चेला हुँ । दिलिप रायमाझी, शुसिल क्षेत्री र म एउटै कक्षामा नृत्य सिकेका थियौँ । त्यतिबेला म पत्रकारितातिर लाग्छु भन्ने सोचाई नै थिएन । आर.आर. क्याम्पस पुगेपछि पत्रकारिता पढ्न थालियो । अध्ययनको क्रममा विस्तारै पत्रकारितामा चाख बढ्दै गयो । फिल्मको किराले टोकिसकेपछि के हुने रहेछ भने मैले पढाई नै छोडेँ । आई.ए. पढ्दा-पढ्दै छोडेर धेरै फिल्ममा सह-निर्देशन गरेँ । त्यसपछि म क्याम्पस जानै छोडेँ । ३-४ बर्ष पछि यसरी हुँदैन भन्ने सोच आयो । यो बीचमा आन्दोलन, चुनौती, घाईते लगाएतका केहि टेलिफिल्म र भिडियो फिल्ममा काम गरेँ । जे काम गरे पनि ग्राजुएट चाहिँ हुनैपर्छ भनेर बुवाले गाली गरेपछि फेरी कम्मर कसेर पढेँ । पढ्दापढ्दै लेख्न मन लाग्यो । पत्रकारितामा लागियो । पत्रकारितामा नै १८ बर्ष बिताईसकियो ।

२. ‘अधकट्टी’को अवधारणा कसरी आयो ?
मैले भनिहालेँ मलाई फिल्मी किराले टोकेको छ । जतिबेला मैले सह-निर्देशक भएर काम गरेँ, थिएटरमा काम गरेँ त्यतिबेला देखि नै चलचित्रको लत बसिरहेको थियो । बेला-बेला म्यूजिक भिडियो गर्थेँ, साथीभाईलाई सर्ट फिल्ममा सहयोग गर्थेँ । एक समय निर्देशक नारायण पुरी दाईको मिडिया एडभाईजर जस्तै भएर काम गरेँ । यस्तै कुराबाट धेरै कुरा सिकेँ । सञ्चारकर्मी भएपछि अर्को फाईदा रहेछ । सबैको शुटिङ्ग, एडिटिङ्ग लगाएतको ढोका खुल्ला हुने रहेछ । त्यो फाईदा मैले उठाएँ । म हेर्नलाई मात्र गईन, सिक्नको लागि गएँ । पछि आएर अभिनय सिकाउने क्याम्पस नै खुले । हाम्रो पालामा त्यस्तो केहि थिएन । नारायण पुरी दाई, करुण थापा दाईहरुसँग धेरै कुरा सिक्ने मौका पाएँ । ‘शंकर’ चलचित्र हुन पहिलोपटक कम्प्यूटरमा एडिट भयो, त्यो पनि मैले हरेको छु । त्यतिबेला देखी नै भविष्यमा चलचित्र निर्देशन गर्छु भन्ने अठोट थियो । मैले हामी के कुरामा पछाडी परेका छौँ भन्ने केलाउँदा स्क्रिप्टमा ध्यान पुगेजस्तो लागेन । मैले एउटा प्लट खोजिरहेको थिएँ । एक ठाउँमा एउटा घटना घटेको रहेछ । उक्त कुरा साप्ताहिकका प्रधान सम्पादक सुवास ढकाल दाईले भन्नुभयो । त्यसपछि म र मेरी श्रीमती जया बसेर त्यो घटनालाई विस्तार गर्न थाल्यौँ । त्यो काम सकाउन लगभग डेढ बर्ष लाग्यो । केहि साथीहरुको सल्लाह पनि लिएँ । स्क्रिप्टको ड्राफ्ट बनाएपछि व्याबसायिक पटकथाको लागि विजय अधिकारीलाई जिम्मा दिएँ । त्यपछि निर्माता प्रदिप उदय दाईसँग सहकार्य गरि सिनेमा बनाउने काम गरियो ।

३. पुराना निर्मातासँग कसरी काम सम्भव रह्यो ?
मैले स्क्रिप्ट बोकेर भौँतारिईरहेको थिए । आफुसँग राम्रो स्क्रिप्ट छ भन्ने थाहा थियो । मैले मलाई सहज हुने निर्माता चाहेको थिएँ । नयाँ भएपनि सहज होस्, पुरानै भएपनि सहज होस भन्ने चाहन्थेँ । मैले स्थापित अन्य केहि निर्मातासँग पनि कुरा गरिसकेको थिएँ तर केहि कुराहरु मिलेन । प्रदिप दाईले यो कुरा थाहा पाउनुभएछ । मलाई बोलाउनुभयो । स्क्रिप्ट सुनिसके पनि उहाँले यो म नै गर्छु तर केहि समय लाग्छ भन्नुभयो । प्रदिप दाईको त्यो कुरा साह्रै चित्त बुझ्यो । मैले के सोचेँ भने नयाँ निर्माता लिएर गर्योय भने सुब्रतले फिल्म बनाउन नयाँ मुर्गा फसाएछ भन्ने हल्ला भईहाल्छ, प्रदिप दाईसँग चलचित्र बनाउँदा यो आरोप मलाई लाग्दैन । अर्को कुरा उहासँग मैले धेरै कुरा सिक्न पाउँछु । चलचित्र राम्रो म बनाउँछु होला तर त्यसपछिका विभिन्न उतार-चढाव, प्रदर्शन, राजनीति जस्ता कुरा प्रदिप दाई जस्तो व्यक्तित्वबाट मैले सिक्न पाउथेँ । प्रदिप उदय जस्तो स्थापित निर्माताले मलाई सुब्रतमा केहि छ र त लियो भन्ने कुरा बाहिर परेको छ । म चलचित्र बनाउँदिन भनेर हतास भइसकेको थिए, प्रदिप दाईले लिनुभयो, मलाई जागरुक बनाउनुभयो, म एकदमै खूशी छु । उहाँमा युवासँग घुलमिल हुनसक्ने शक्ति छ । त्यो बानीले म प्रभावित थिएँ । मैले नारायण पुरी दाईसँग काम गर्दा नै उहाँलाई चिनेको थिएँ, धेरै बर्ष भइसक्यो । उहाँले मलाई पत्याउनुभयो मलाई त्यहि कुरा नै ठुलो लागेको छ । किन पत्याउनु भयो मलाई, म आँफैलाई अचम्म लाग्छ ।

४. अधकट्टीको सबैभन्दा च्यालेनजिङ् कुरा के रह्यो ?
मैले ‍च्यालेन्जको रुपमा लिएकै छैन । भोली भबिष्यमा के हुन्छ म भन्न सक्दिन, चलचित्र सामान्य नै हो । हेरुञ्जेल रमाईलो लाग्छ । केहि सन्देशहरु पनि छन् । हाम्रै समाजमा घटेका कुराहरु छन् । च्यालेञ्जिङ् भनेको चाहि के थियो भने जति पनि क्यारेक्टर छन्, कलाकारहरु ति क्यारेक्टर भन्दा बाहिर जालान की भन्ने डर थियो । तर, हामीले राम्रा कलाकारहरु छनौट गरेका रहेछौँ । मुख्य चुनौती भनेको कम बजेटमा राम्रो चलचित्र बनाउनुपर्छ भन्ने थियो । पहिलो चलचित्रमा निर्मातालाई फाइदा हुनुको अर्थ मेरि भबिष्य सुरु हुनु हो ।

५. अहिले सस्तोमा चलचित्र बनाउने भन्दै हिड्ने चलन बसेको छ, तपाईँलाई के लाग्छ बजेट अनुसार चलचित्रको गुणस्तरमा फरक पर्ला ?
बजेटमा भर पर्छ नै तर, चलचित्रको अवधारणा के हो त्यसमा भर पर्छ । उदाहरणको लागि ग्राफिक्सका काम बढि छन् भने अवश्य बढि बजेट हुन्छ, महंगा-महंगा गाडी, घर, लोकेशन पनि हेवी, ड्रेसअप पनि त्यस्तै, विदेश शुटिङ् गर्नुछ भने अवश्य बजेट बढि हुन्छ । कहिले काहिँ बढि बजेटका चलचित्र पनि बन्नुपर्छ । सकेसम्म बजेटमा मुठी कसेर बनाउनु राम्रो हुन्छ । बिर्सिनु के हुन्न भने हाम्रो बजार सानो छ । विस्तार हुने क्रममा छ, जबसम्म विस्तार भईसक्दैन हामीले खुलेर पैसा फिर्ता हुने अवस्था रहँदैन । त्यसकारण बजेटलाई जोगाउने काम चाहिँ गर्नैपर्छ ।

adhkatti

६. पत्रकारले निर्देशन गरेका चलचित्रले अपेक्षित जस पाएका छैनन्, तपाईँलाई डर लाग्दैन कि भोली अधकट्टी पनि यस्तै हुने हो कि भनेर ?
जब पानीमा हाम फालिसकियो भने पौडिन अवश्य सिकिन्छ, पानीबाट निस्किन्छ । हाम त फालिसकियो अब मलाई यसबाट निस्किनु छ । मानिस पिच्छे चलचित्रको रोजाई फरक हुने रहेछ । कसैलाई कमेडी मन पर्छ, कसैलाई एक्सन, कसैलाई पारिवारिक मन पर्छ । मेरो चलचित्रबाट बढि अपेक्षा गरेर यस्तो हुनुपर्थ्यो उस्तो हुनुपर्थ्यो भन्ने खालका कुराहरु आउन सक्छ । यो आम चलचित्र हो । आम मानिसबीचबाट नै कथा निकालेको छु । आम मानिसकै क्यारेक्टरहरु लिएको छु । त्यस्तै चलचित्रहरु चलिरहेका छन् । त्यसकारण पनि यो चलचित्रले जस पाउँछ की जस्तो लागेको छ ।

७. पत्रिकामा काम गर्दैगर्दा तपाईँले चलचित्रको बारेमा धेरै लेख्नुभयो, लेखाई र भोगाईमा के फरक पाउनुभयो ?
मैले भोगिसकेर अनि मात्र लेख्न आएको भएर होला चलचित्र निर्माणमा कति तनाव हुन्छ सबै थाहा थियो । चलचित्रमा छिरेर दुई-चार घुट्की पानी खाएर निस्केको भएर मलाई त्यस्तो फरक ठानिन । मलाई यो भोगाई नै मन पर्छ । मैले एउटा घटना भन्छु । शुटिङ् सुरु गर्दा एकजना भाई तपाईँको ठुलोपर्दाको पहिलो एक्शन हुँदैछ, कस्तो लागिरहेको छ भनेर सोध्यो । मैले त्यस्तो केहि लागेको छैन भने । बेलुका फेरी रमाईलो भएको होला है सर भन्यो । मैले कुनै नयाँ काम गरेजस्तो नै लागेन भने । मैले जुन काम गर्छु म त्यसमा कटिवद्द भएर, नयाँ क्रियशन मिसाएर काम गर्ने बानी छ मेरो । विस्तारै तर सृजनशिल काम गर्ने बानी भएकोले मलाई त्यस्तो केहि लागेन । अफिसमा पुगेर लेख्न थाल्छु लेखाईमा नै डुब्छु, यता एडिटिङ्मा आउँछु एतै डुब्छु । त्यहि अनुसार नै मैले काम गर्छु ।

८. के अधकट्टी तपाईँको ड्रिम प्रोजेक्ट हो ?
ड्रिम भन्दा पनि प्रोजेक्ट मात्र हो । सपना त निकै ठुलो हुन्छ नी । करौडौँका चलचित्रहरु बनुन् । खुलेर सृजना गर्न पाईयोस् । त्यहि अनुसारका कलाकारहरु लिन पाईयोस् । त्यस्तै सेट पाईयोस् । सपना त त्यो पो हो त । यो चलचित्र नेपाली दर्शक, नेपाली परिवेशमा मात्रै बनाईएको छ । यो मेरो ड्रिम होइन । सपना त ठुलै देख्नुपर्छ ।
९. नेपाली दर्शक, नेपाली परिवेशको लागि सपना देख्न सकिँदैन र ?
यो एउटा मेरो काम हो । मैले सपना देखेको छैन, वास्तविकतामा नै काम गरेको छु । अहिले सपना देखेर भोली टुट्न पनि सक्छ । कतिपय राम्रो बनेका चलचित्र पनि देश, काल, परिस्थितीले गर्दा राम्रो तरिकाले चल्न नपाएर थन्केका छन् । यस्तै विविध कारणले सपना तुहिन सक्छ त्यसैले सपना नै देख्न चाहन्न म ।

१०. अधकट्टी आँफैले प्रिभ्यू गर्दा कसरी गर्नुहुन्छ ?
हरेकको जीवनमा बिभिन्न घटनाहरु भइरहेका हुन्छन् । आफ्नै घटना पछि सुनाउँदा हामी हाँसेर सुनाउँछौ । त्यस्ता घटनाहरु, जुन मैले सुनेको थिए तिनैलाई समेटेको छु । चलचित्र हेर्दा-हेर्दै कुनै कुनै क्यारेक्टरमा आँफैलाई देख्नुहुन्छ होला । रमाईलो छ । हाँसोको फोहोरा नै नआएपनि ओठमा मुस्कान चाहिँ अवश्य आउँछ ।

११. हलबाट निस्कँदा के लिएर जाने ?
मुस्कान नै लिएर जाने हो । सम्झेर हाँस्ने हो । हाम्रो जीन्दगी तनावपूर्ण छ, ओठमा हाँसो भएपनि भित्री मन खूशी छैन । अधकट्टी हेरपछि मान्छे रिफ्रेस होस् । यहि चाहना हो हाम्रो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu