सिन्दुर मेटिन्छ, सिउदो मेटिनुहुँदैन | श्वेतालाई आज साहसको खाँचो छ



Writer: Dinesh Khadka
Writer: Dinesh Khadka

दिनेश खड्का। महान दार्शनिक ओशोले भन्नुभएको छ मानिसहरु अरुको मृत्यु देखेर रुदैनन् वास्तवमा उनीहरु अरु मरेको देख्दा आफनो मृत्यु सम्झेर रुन्छन् । आज मानिसहरु फेरी एकपटक नायक श्रीकृष्ण श्रेष्ठको नाममा रोए चाहे त्यो आफनो मृत्युलाई सम्झेर नै किन नहोस् । मृत्यु अकाट्य छ । फरक यति मात्र हुन सक्छ, ढिलोचाँडो । कोहि मृत्युपछि लोकप्रिय हुन्छन् त कोहि लोकप्रिय हुनलाई मृतुवरण गरेका हुन जस्तो पनि लाग्न सक्छ । तर श्रीकृष्णको मृत्यु सम्मानको लागि मृत्यु होईन । मृत्युसँगै उनको अभावले सृजना गरेको साँचो सम्मान हो । यो सम्मान स्वागत योग्य छ । यसले सिङ्गो नेपाली चलचित्र जगतप्रति श्रद्दामात्र होईन सम्मान बढाएको छ भने आफ्नो हुनुको पुष्टि गरेको छ ।

सिङ्गो समाज श्रीकृष्णप्रति समर्पित भैरहँदा असहृय पिडाको पहाड बोक्न विवश महिला श्वेता खड्काको वारेमा ज्यादा सोच्न जरुरत छ । श्रीकृष्णलाई सम्मान दिने यही हाम्रो समाज भोली उनलाई अपमानको आँशु बगाउन विवश नवनाउला भन्न सकिन्न । तसर्थ श्वेतालाई आज साहसको खाँचो छ । उनको लुटिएको खुसी, उमङ्ग र सार्थक जीवन फर्काउन ज्यादा जरुरत छ न कि कृतिम लाग्ने सिन्दुर । समाजको सोच बदलिन सकोस कि श्वेता श्रीकृष्णको अन्त्यको कारण होईनन बरु सम्मानको साधक हुन् । श्वेताका आँशु रित्तिए भने फेरी सकंलन हुन सक्छन् तर उनको हिम्मत, आत्मबल र स्वाभिमानको शिर झुक्यो भने त्यो समाजको लागि शोभायमान हुँदैन । अतः श्वेतालाई उत्तिकै सम्मानको अपरिहार्य छ जति आज हामीले श्रीकृष्णलाई दिन सक्यौ ।

shree-sweta

भुमरीबाट शुभारम्भ भएको श्रीकृष्णको यात्रा कोहिनुरमा आएर अन्त्य भएको छ । यि दुई चलचित्र विचको सम्बन्धलाई केलाएर हेर्दा गहिरो अर्थ छ । भुमरी भनेको असहज परिस्थिति हो जवकि कोहिनुर एक प्रकारको हिरा हो । यस अर्थमा बुझिन्छ कि श्रीकृष्णको जीवन सुरुवातमा जति कठिनबाट सुरु भएको थियो अन्त्य चम्किएर भएको छ । उनका चलचित्रहरु कसैका लागि जीवन बने भने उनको जीवन चलचित्र जस्तो भएको छ । अर्कोतर्फ कृष्ण र श्वेता एकअर्काका विपरित अर्थ जनाउने शब्द हुन् । कृष्णलाई कालो मान्दै गर्दा श्वेताको अर्थ हुन जान्छ सेतो अर्थात निश्चत । यि दुईविचको समायोजन असम्भव जस्तो लाग्छ तर सम्भव सावित भो । अन्ततः कठोर समयले प्राकृतिक नियमलाई सत्य सावित गर्ने दुष्साहस गरयो कि कालो र सेतो सङ्गै रहन सक्दैन ।

प्रकृतिको यो कठोर नियम भन्दा माथि हुन त हामी नसकौँला तर मानवताको मापदण्ड भन्दा माथि उठ्न अत्यावश्यक छ भन्ने यो घटनाले सिकाएको छ । तसर्थ श्वेताको मनलाई कालो देख्नेहरुले बुझ्न जरुरत छ कि उनी नाम जस्तै निष्कलङक छिन् । उनको व्यवहार आदर्श समाजले कल्पना गरे भन्दा धेरै माथि छ । दाग लगाउन खोज्नेहरुका लागि उनी एउटा यस्तो पात्र हुन जस्को नाम गलत ढङ्गले उच्चारण गर्ने साहस आज सम्म कसैले गर्न सकेको छैन र भोली पनि नगरोस् ।

समय परिवर्तनशिल छ । आज उनको सहानुभूतिमा आँशु झार्ने यही समाजले सिसा नरोप्ला भन्न सकिन्न । तर त्यो धृष्टता कसैले गर्छ भने त्यो उसको समाप्ति हुनेछ । स्नेहपूर्व आग्रह गर्न मात्र सकिन्छ कि उनी कसैको श्रीमती मात्र होईनन्, यो समाजको पथप्रर्दशक हुन् । कसैको अपार प्रेरणाको स्रोत हुन् । कसैको लागि आर्दश महिला हुन् । उनको भावनामा ठेस लाग्दै गर्दा उनको पछाडि भएको सिङ्गो जमात आत्मग्लानिले जल्नुपर्ने हुन्छ ।

परिभाषा बदलिने अपेक्षा छ कि महिलाको जीवन सिन्दुरले होईन सिउदोले कोरिनुपर्छ । प्रकृतिले कोरेको सिउदो भन्दा सिन्दुरको एक धर्को माथि हुन सक्दैन । सिन्दुरलाई मान्यता दिने समाजलाई बदल्न अत्यावश्यक छ । आखिर सिन्दुर त मेटिन्छ तर सिन्दुर रहने सिउदो मेटिनुहदैन । सिउदो बोकेको शिर आत्मग्लानीले झुक्नुहदैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu