राम्रो र हिट दुवै हुनुपर्ने चुनौती : टुल्के बिश्लेषण



टुल्केको पोष्टरमा ‘सुपरहिट चलचित्र लुटका निर्देशक द्धारा निर्देशित दोस्रो चलचित्र’ भनि ठुलो-ठुलो अक्षरमा लेखिदा निश्चललाई गर्व कम, डर ज्यादा लागेको हुनुपर्छ । तर पनि पब्लीसिटीको यो फण्डा स्वभाविक नै हो ।

अपिल त्रिपाठी ।
नाम – ‘टलकजंग भर्सेस टुल्के’, यो नाम दर्शकलाई सम्झन गाह्रो छ, अनि सम्झेपछी बिर्सन । अहिले नाम सम्झाउने गृहकार्य हुँदैछ । ‘टलकजंग भर्सेस् टुल्के’ गुणस्तरीय होला नहोला तर उत्पादन गुणस्तरीय मात्र भएर हुदैन, बजारमा बेच्न पनि जान्नुपर्छ । पब्लीसिटी ढिलो सुरु हुँदा, सबैखाले दर्शकमाझ फिल्मको पब्लीसिटी प्रभाव परीसकेको छैन । तर इन्टरनेट प्रयोगकर्तामाझ भने फिल्मको पब्लीसिटी पर्‍याप्त छ ।

टुल्केले बम्पर ओपनिङ गर्ने छैन । सिनेमाको व्यापारको आधार स्वभाविक ‘माउथ पब्लीसिटी’ नै हो । प्रोमोले फिल्म प्रतिको उत्सुकता बढाएको छ तर रमाइलो फिल्म हेर्ने अपेक्षा भएका केही दर्शकलाई प्रोमोमा देखाइएको राजनैतिक बिषयवस्तु मन परीरहेको छैन । निर्देशक निश्चल बस्नेतले निर्देशन गरेको फिल्म लुट र निर्माण अनि अभिनय गरेको कबड्डी रमाइला फिल्महरु थिए । धेरै दर्शकलाई टुल्के बाट त्यही रमाइलोपनको अपेक्षा छ । तर एउटै मेकरका सवै फिल्म एकै प्रकारका नहुन सक्छन भनेर बुझ्ने र बुझाउने काम भएको छैन ।

निश्चल बस्नेतले बनाउने फिल्ममा नेपालीपन हुन्छ भन्ने खालको मानसिकता छ । नेपाली फिल्ममा पहिले देखि खड्कीएको अभाव पनि मौलिकता नै हो । टुल्केसँग पनि स्वभाबिक मौलिकताको अपेक्षा छ । त्यो अपेक्षा चाही टुल्केले पुरा गर्नेछ ।

टुल्केको व्यापारमा स्टारकास्टको प्रभाव कम पर्ने छ । यसो त लुट रिलीज हुने बेला लुटको पोस्टरमा देखिएका सवै जसो कलाकार दर्शकका लागी नयाँ नै थिए ।

tulke

सब कुरा छाडेर टुल्के चल्ने पहिलो कारण हो – निश्चल बस्नेत । यद्मपि फिल्म कसले बनायो भन्दा पनि कस्तो बनायो भन्ने नै महत्वपुर्ण हो । सामान्य अनुमानले लुटका निर्देशकको फिल्म झुर नहुने अपेक्षा गर्न सकिन्छ ।

पछिल्लो समय नेपालमा प्रोमो आतंक चल्यो । प्रोमोले लोभ्याएर हल सम्म पुगेका दर्शक धेरै फिल्मबाट निराश भएर बाहिर निस्कने गरेका छन । प्रोमो मेकिङको कुरा गर्दा कबड्डीलाई सम्झनु यँहानेर सान्दर्भिक हुन्छ । निश्चल बस्नेत निर्मित कबड्डीको प्रोमोमा मध्यान्तर अघिको मात्र फुटेज राखिएको थियो, र रिलीज पुर्व, प्रोमोमा देखाइएको चिज भन्दा फिल्ममा धेरै कुरा छैन भनिएको थियो । तर फिल्मको मुख्य थिम नै सस्पेन्स थियो । जसले गर्दा दर्शकले फिल्म अनुमान भन्दा भिन्न पाए । दर्शकलाई ज्यादै महत्वकाक्षी बनाउनु हुदैन । लुटको प्रोमो अहिले हेर्दा पनि त्यती खास लाग्दैन, जती फिल्म छ । यसरी हेर्दा टुल्केको प्रोमो भन्दा फिल्म नै बनाउन मेहनत गरे होलान भन्ने सामान्य अनुमान गर्न सकिन्छ ।

सबैभन्दा ठुलो चुनौती निर्देशक ज्यु लाई नै छ । फिल्म राम्रै बनेको भए पनि दर्शकमा लुटको स्वाद र ज्यादा महत्वकांक्षा भएको हुदा दर्शकको अपेक्षा पुरा नहुन पनि सक्छ । अघिल्लो भन्दा पछिल्लो काम थप राम्रो हुनै पर्छ । यो चुनौतीमा निश्चल बस्नेत कत्तीको खरो उत्रीएका छन हेर्न बांकी छ । टुल्केको पोष्टरमा ‘सुपरहिट चलचित्र लुटका निर्देशक द्धारा निर्देशित दोस्रो चलचित्र’ भनि ठुलो-ठुलो अक्षरमा लेखिदा निश्चललाई गर्व कम, डर ज्यादा लागेको हुनुपर्छ । तर पनि पब्लीसिटीको यो फण्डा स्वभाविक नै हो ।

टुल्के प्रदर्शन हुने कार्तिक १४ मा शाहरुख खानको फिल्म ह्याप्पी न्यु इयर नेपालका धेरै सिनेमाघरमा प्रदर्शन भइरहेकै हुनेछ । त्यसमाथी अघिल्लो शुक्रबार रिलीज भएका दुई नेपाली फिल्म लज्जा र स्टुपिड मनले ठिकठाकको ब्यापार गरीरहेका छन । अनि कार्तिक १४ मै रिलीज हुने अर्को फिल्म एउटा साथीले गर्दा टुल्केलाई सबैभन्दा ठुलो समस्या पर्दाको हुनेछ । जसको प्रभाव ओपनिङ बिजनेश देखी नै पर्नेछ । यद्मपी फिल्मले राम्रो माउथ पब्लीसिटी पाएको खण्डमा ओपनिङ बिजनेशमा लागेको घाउ बिस्तारै पुरीँदै जानेछ ।

नेपालमा फिल्म फ्लप होस वा हिट निर्देशकले फिल्म खोजीरहेका छन र पाइरहेकै छन । लुट हिट भएपनि निश्चलले दोस्रो फिल्म निर्देशन गर्न हतार गरेनन् । फिल्म राम्रो हुनु र हिट हुनु फरक कुरा हो तर टुल्केलाई राम्रो र हिट दुवै हुनुपर्ने चुनौती छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu