‘हवल्दार सुन्तली’ बायोग्राफी होईन, एउटा घटनाले उब्जाउने कथा हो: ऋषि लामिछाने



hawaldar-suntali-interview-rishi-lamichhane-1

करिव २२ वटा चलचित्रमा एशोसियट निर्देशक भएर काम गरेका निर्देशक ऋषि लामिछाने निर्देशित चलचित्र ‘हवल्दार सुन्तली’ नयाँ बर्षको अवसर पारेर चैत २७ गते देशव्यापी रिलिज हुँदैछ । टेलिभिजनमा करिब पाँच सय भाग टेलिश्रृंखला निर्देशन गरेका लामिछानेले चलचित्र ‘कहिँ मिलन कहिँ बिछोड’बाट ठुलोपर्दाको निर्देशनमा डेब्यू गरेका थिए । त्यसपछि सुपरहिट चलचित्र ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ लगाएत ‘श्रीमान श्रीमती’, ‘हाम्रो माया जुनीजुनीलाई’, ‘सरि ल’ लगाएतका चलचित्र निर्देशन गरेका लामिछाने द्वारा निर्देशित पछिल्लो चलचित्र ‘हवल्दार सुन्तली’मा शिल्पा पोखरेल, सविन श्रेष्ठ र किशोर खतिवडाको मुख्य भूमिका रहेको छ ।

आफ्नै सहकर्मीबाट बलात्कृत प्रहरी हवल्दार सुन्तली धामीको जीवनमा घटेको एक घटनालाई मुख्य आधार मानी तयार यो चलचित्र सुन्तली धामीको पुरै जीवनमा आधारित नभएको निर्देशक लामिछानेले बताएका छन् । प्रस्तुत छ निर्देशक ऋषि लामिछानेसँग ठुलोपर्दा डटकमका जीवन पराजुलीले गरेको कुराकानीको सम्पादित अंश:

१. छविराज प्रोडक्शनमा पहिलोपटक काम गर्नुभएको छ । धेरै स्टार जन्माएका छवि ओझासँग काम गर्न पाउँदा कस्तो महशुस भईरहेको छ ?
म पनि अरु भन्दा पृथक हुन सक्दिन । मैले पनि एउटा कर्म गर्ने हो । सम्झौता गरेको चार बर्षपछि मैले यो ब्यानरमा काम गरेको हो । सम्झौता पछि खासै महत्व नदिई अरु काम गरेँ । जतिबेला म फ्रि भएँ अनि यहाँ आएर काम गर्छु भनेको हो । म यहाँ आउनुभन्दा पहिला म यो ब्यानरमा काम गर्न लालायित थिइन । जब मैले ‘हवल्दार सुन्तली’ यहाँबाट गरेँ र चलचित्रप्रति छवि ओझाको जुन त्याग छ त्यस्तो मान्छेसँग काम गर्न पाउँदा अब चाहिँ म लालायित हुन्छु । अब म यो ब्यानरमा काम गर्दा भाग्यमानी ठान्छु । आगामी दिनमा पनि यस्तै कामहरु यहाँबाट गरिरहन पाउँ भन्ने लागेको छ । हिजोको दिनमा त्यस्तो लाग्दैनथियो ।

२. हिजोका दिनमा किन लाग्दैनथियो ?
मैले यो प्रोडक्शन बाहिरबाट काम गर्दा पनि सफलता हात पारेकै थिएँ । त्यसकार सफलताको लागी मात्रै मैले यो प्रोडक्शनमा आउनु थिएन । तर, यो प्रोडक्शनमा काम गरिसकेपछि अनि मात्र मलाई महशुस भयो ।

३. भनेपछि तपाईँको विचार सफल हुन चाहने मात्र छविराज प्रोडक्शनमा आउँछ भन्ने थियो ?
थिएन, थिएन । यहाँ आउनको लागी मानिसहरु मरिहत्ते गर्छन् जस्तो पनि लागेको थिएन मलाई । खासै महत्व लाग्दैनथियो । अरु ब्यानर जस्तै काम गर्ने हो मात्र लाग्थ्यो । जब मैले यो ठाउँमा आएर काम गरेँ अनि मैले किन ढिला गरेछु जस्तो लाग्यो ।

४. अरु प्रोडक्शन र छविराज प्रोडक्शनमा देख्नुभएका भिन्नता के-के हुन् ?
सबैलाई तुलना गर्न मिल्दैन । कतै के प्लस हुन्छ कतै के प्लस हुन्छ । सबै निर्माताहरु आफ्नो चलचित्रबारे र समग्र चलचित्रबारे चिन्तित हुन्छन् तर त्यो भन्दा एक स्टेप अगाडी छविराज ओझा हुनुहुन्छ ।

५. यो ब्यानरले बनाउने चलचित्र चल्छ भन्छन् नि, के लाग्छ तपाईँलाई ?
त्यो होईन । जुनसुकै चल्ने भए ‘लोफर’ पनि चल्थ्यो होला । मलाई के लाग्छ भने छवि ओझा चलचित्रप्रति समर्पित मान्छे, चिन्तित मान्छे हो । उहाँको धर्म पनि कर्म पनि यहि भएको हुनाले यहाँको चलचित्र चल्ने गरेका हुन् । छविराज ओझाले एक रुपैयाँ पनि कसैको ठगेको रेकर्ड छैन । जसले पुण्य काम गर्छ त्यो मान्छे सफल हुन्छ ।

hawaldar-suntali-interview-rishi-lamichhane

६. निर्देशकिय दृष्टिकोणमा ‘हवल्दार सुन्तली’ कस्तो चलचित्र हो ?
निर्देशकिय दृष्टिकोणको मात्र कुरा गर्ने हो भने धेरै कुराहरु गल्ती छन् । मैले धेरै कुरा गर्न बाँकी छ । यस्तो काम गरेको भए हुनेथियो भन्ने मलाई महशुस भईरहेको छ । ‘हवल्दार सुन्तली’ सबै कुराले राम्रो छ भन्ने महशुस गरेँ भने मैले यो भन्दा राम्रो चलचित्र बनाउन सक्दिन । त्यसकारण पनि मेरा कमिकमजोरीहरु धेरै छन् । बजार, बजेट जस्ता कुराले कहिँ न कहिँ छवि ओझा तथा ऋषि लामिछाने जस्ता चलचित्रकर्मीलाई अंकुश लगाईरहेको हुन्छ । त्यस्ता पेरिफेरी छन् तर आम चलचित्र भन्दा अलिकति सभ्य र अलिकति भव्य पक्कै छ ।

७. बायोपिक र फिक्शन दुवै चलचित्र भनिएको छ, कसरी सम्भव भयो ?
यो चलचित्र सुन्तली धामीको बायोग्राफी होइन । सुन्तली धामीको जीवनीमा बनेको वृत्तचित्र होइन । एउटै कुरा के हो भने सुन्तली धामीको जीवनमा घटेको एउटा घटना हो । त्यो घटनाले उनको जीवन आज नारकिय रुपमा बितिरहेको छ । अथवा त्यो घटनाले उ अहिलेपनि पिडित छिन् । यो एउटा घटना मात्र हामीले उठाएको हो । सुन्तली धामीको बलात्कार अघिको जीवन र पछिको जीवनलाई चलचित्रमा उतारेका छैनौँ ।

८. चलचित्रको नामले त उनको बायोग्राफी बुझाउँछ नि !
चलचित्रको नाम सुन्तली धामी राखेका छैनौँ । उनको जीवनी बनाएको भए हामीले ‘सुन्तली धामी’ नाम राख्ने थियौँ । बायोग्राफी होइन त्यसकारण नाम ‘हवल्दार सुन्तली’ राखेका छौँ ।

९. चलचित्रमा सुन्तली धामीको घटना एउटा किस्साको रुपमा राख्नुभयो । अगाडी-पछाडी कस्तो फिक्शन छ ?
उक्त घटनालाई एउटा किस्साको रुपमा नबुझ्नुस् । त्यहि एउटा घटनाले मानिसको जीवन कति पिडादायी बन्न सक्छ, त्यहि घटना नघटेको भए उसको जीवन कति स्वर्णिम हुन सक्थ्यो भन्ने कुरा आउँछ ।

१०. भनेपछि चलचित्रको टर्निङ्ग पोईन्ट नै त्यहि हो ?
चलचित्र नै त्यहि घटना हो । तर, त्यो घटनाले निम्त्याउने परिघटनाहरु ऋषि लामिछानेको, छवि ओझाको र शिवम् अधिकारीले सोचेका परिकल्पनाहरु हुन् । त्यो घटना अगाडीका घटना पनि हामीले सोचेका घटना हुन् ।

११. कलाकारको काम कस्तो पाउनु भो ?
धेरैजनाले मलाई शिल्पा पोखरेललाई नायिकामा किन लिनुभो भन्ने प्रश्न गर्नुभयो । मैले चलचित्र ‘लज्जा’ हेरेपछि शिल्पा पोखरेलमा धेरै सम्भावना देखेर हवल्दार सुन्तलीको त्यो भूमिकामा शिल्पा बाहेक कुनै पनि कलाकारहरु फिट नदेखेर मैले शिल्पालाई लिएको हो । छवि ओझाले मलाई कुनै दबाब दिनुभएको छैन । किशोर र सविनको कुरा चाहिँ मेरो कथाले मागेको हो । साँच्चिकै भन्नुपर्दा निर्माता-निर्देशकले कलाकार छान्नु भनेको दोश्रो कुरा हो । पहिलो रुपमा स्क्रिप्टले कलाकार छनौट गर्छ ।

१२. चलचित्र त्रिकोणात्मक प्रेमकथा हो ?
त्रिकोणात्मक प्रेमकथा हो तर यति मात्र होइन मानिसको जीवनमा प्रेम, आँशु, हाँसो, द्वन्द्व सबै हुन्छ । मानिसको जीवनमा हुने हरेक घटना-परिघटनाको परिवेश हो ‘हवल्दार सुन्तली’ । बच्चादेखी वृद्धसम्मको कथा चलचित्रमा छ ।

१३. कस्तो प्रतिक्रिया पाउनुभा’को छ ?
नेपाली चलचित्रको भिष्मपितामह मान्छु मैले छवि ओझालाई, उहाँको प्रतिक्रिया पाएको छु । चलचित्रको टिमको बाहेक मैले दर्शकको प्रतिक्रिया पाएको छैन । सबैभन्दा ठुलो स्यावासी निर्माता छवि ओझाबाट पाएको छु । उहाँले राम्रो प्रतिक्रिया दिनुभा’को छ । उहाँले मलाई बधाई दिँदै अर्को चलचित्रको लागी पनि अनुबन्ध गर्नुभा’को छ ।

१४. दर्शकलाई के भन्नुहुन्छ ?
परम्परागत रुपमा चलिआएजस्तै मेरो चलचित्र हेर्नुहोस् त पक्कै पनि भन्छु । नेपाल अधिराज्यभरि चैत २७ गते ‘हवल्दार सुन्तली’ चल्दै छ । त्यो सँगसँगै म भन्दा माथी मेरो चलचित्र उद्योग छ । चलचित्र बाँच्यो भने मात्र म बाँच्ने हो, म जस्तै हजारौँ बाँच्ने हो । मेरो चलचित्र चल्नुपर्छ र हामीसँगै लाग्ने अरु चलचित्र पनि चल्नुपर्छ । सबैलाई शुभकामना दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu