ठुलोपर्दा डटकम, काठमाण्डौ।
भदौ ११ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र भैरव सेन्सरमा रोकिएको छ । सर्लाही र भारत नाकाको गम्भिर विषय वस्तु र मधेशका कुरा उठाएका कारण चलचित्र सेन्सर पास हुन नसकेको स्रोतले बताएको छ ।
अहिले मधेशी नेताहरुले सर्लाहीमा गरिरहेको आन्दोलनका कारणले गर्दा पनि सेन्सरले भैरवलाई सर्टिफिकेट दिन आनाकानी गरिरहेको छ । खबरका अनुसार मंगलबार सेन्सर बोर्डले गृह मन्त्रालय र केही सभासदलाई चलचित्र देखाउने तयारीमा छ । चलचित्रले मधेशका कुरालाई उठाएको र अहिले मधेशमा आन्दोलन चलिरहेका कारण गर्दा चलचित्र प्रदर्शनमा आइसकेपछि झन गाह्रो हुने भएका कारण सेन्सर बोर्डले चलचित्र भैरव गृह मन्त्रालयलाई देखाउन लागेको हो ।
प्रदर्शन मिति नजिकदै गर्दा सेन्सरले झमेला खडा गरिदिएपछि यति बेला चलचित्रका निर्देशक, निर्माता र कलाकार निखिल उप्रेती तनाबमा देखिएका छन् । चलचित्र भैरबमा निखिलको अलवा अनु शाह, मुरलीधर, जयकिसन बस्नेत, नागेन्द्र रिजाल, रविन सेनलगायतले अभिनय गरेका छन् । चलचित्रको छायाँकान नवराजकृष्ण थापाले गरेका छन् भने चलचित्रको द्वन्द्व निर्देशन हिमाल केसीले गरेका छन् । संगीतमा सुरेश अधिकारी, नृत्यमा रामजी लामिछानेको निर्देशन रहेको छ । चलचित्रमा निखिल उप्रेती प्रहरी निरिक्षकको भूमिकामा देखिनेछन् ।