सौगात विष्टलाई बाल प्रोत्साहन पुरस्कार, यस्तो रह्यो ‘चौथो म्युजिक अवार्ड’



music-khabar-15-thuloparda
ठुलोपर्दा डटकम, काठमाण्डौ।
सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी ‘चौथो म्युजिक खबर म्युजिक अवार्ड–२०१५’ विभिन्न ३१ विधामा प्रदान गरिएको छ । म्यूजिक खबर डट कमद्वारा आयोजित सो कार्यक्रममा २०७१ सालभरि बजारमा आएका गीत–संगीतबाट उत्कृष्टलाई अवार्ड प्रदान गरिएको थियो। कार्यक्रममा सर्वोत्कृष्ट सुगम संगीत गायकको अवार्ड देउरालीको ढुंगा गीतबाट आनन्द कार्कीले र सर्वोत्कृष्ट सुगम संगीत गायिकाको अवार्ड धेरैलाई बाँड्दा गीतबाट अञ्जु पन्तले अवार्ड उचालिन् । यस्तै, सर्वोत्कृष्ट युगल गायनतर्फको अवार्ड आफ्नै जिन्दगी गीतबाट प्रमोद खरेल र शिव परियारले प्राप्त गरे। यस्तै, सुगम संगीततर्फ नै सर्वोत्कृष्ट एल्बमको अवार्ड ‘अन्तर्ध्वनी’ एल्बमबाट विश्व देवकोटाले पाए । सर्वोत्कृष्ट सुगम संगीतकारको अवार्ड कस्तो माया गीतबाट हरि लम्सालले पाए भने सुगम संगीततर्फकै सर्वोत्कृष्ट गीतको अवार्ड निष्ठुरीको छेउमा गीतबाट हरि विष्टले प्राप्त गरे।

Click Here to Watch Entertaining Videos
त्यस्तै, सुगम संगीततर्फ नै सर्वोत्कृष्ट संगीत संयोजनको अवार्ड जिउने कोसिसबाट विपीन आचार्यले पाए भने सर्वोत्कृष्ट ध्वनी मुद्रणको अवार्ड आँसु झारी गीतबाट मित्र लामाले अवार्ड समाते । सुगम संगीतमै सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशनको अवार्ड किन रोयौ चरी गीतबाट समन अधिकारीले, सर्वोत्कृष्ट पुरुष मोडलको अवार्ड तिमीले छमछम गीतको भिडियोबाट अभिनेता गजित विष्टले र सर्वोत्कृष्ट महिला मोडलको अवार्ड तिम्रो यादमा गीतको भिडियोबाट अभिनेत्री अशिष्मा नकर्मीले प्राप्त गरिन्। सर्वोत्कृष्ट सुगम संगीत नवप्रतिभाको अवार्ड चोली ल्याऊ गीतबाट मनोज महतो र न म तिम्रो गीतबाट रोशनी अधिकारीले पाए।

सर्वोत्कृष्ट गजल रचनाको अवार्ड निशा देशारद्वारा स्वरबद्ध तथा जुगल डंगोलद्वारा संगीतवद्ध साउनको भेलजस्तो गजलबाट डब्बु क्षत्रीले प्राप्त गरे भने यो वर्ष भूकम्पको सर्वोत्कृष्ट भूकम्प गीतको रचनाको अवार्ड हाम्रो साहसबाट डा.आसबहादुर तामाङले र सर्वोत्कृष्ट भूकम्प गीत भिडियो निर्देशनको अवार्ड ढले धरोहरको भिडियोबाट निर्देशन दिनेश डीसीले प्राप्त गरे। सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतको अवार्ड मेरो देशको झन्डा गीतबाट माधव खरेलले हासिल गरे।

त्यस्तै, चलचित्रतर्फको अवार्डमा सर्वोत्कृष्ट चलचित्र संगीतकारको अवार्ड चलचित्र स्टुपिड मनको तिम्रो आँखामाबाट अर्जुन पोखरेलले पाए गरे भने सर्वोत्कृष्ट चलचित्र गीतकारको अवार्ड चलचित्र कोहिनूरको के म तिम्रो होइन गीतबाट डा.कृष्णहरि बरालले प्राप्त गरे। सर्वोत्कृष्ट चलचित्र पार्श्र्व गायकको अवार्ड चलचित्र नोभेम्बर रेनको तिमीलाई म के भनूँ गीतबाट युवराज चौलागाईंले र सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिकाको अवार्ड चलचित्र लज्जाको मात लाग्यो गीतबाट माण्डवी त्रिपाठीले हात पारिन । त्यस्तै पपतर्फ सर्वोत्कृष्ट पप गायनको अवार्ड पुरुषतर्फ माया बस्यो गीतबाट कृष्ण काफ्ले र महिलातर्फ पिरतीको गोली गीतबाट एन्जिला रेग्मीले हासिल गरे। सर्वोत्कृष्ट पप संगीतको अवार्ड माया बस्यो गीतबाटै दीपक शर्माले प्राप्त गरे।

यस्तै, लोक दोहोरीतर्फ सर्वोत्कृष्ट लोक दोहोरी लयको अवार्ड जुनकिरी गीतबाट विरही कार्कीले, सर्वोत्कृष्ट लोकगीतको अवार्ड दौरा–सुरुवाल गीतबाट राजु परियारले हासिल गरे। सर्वोत्कृष्ट लोकदोहोरी गायकको अवार्ड रातो पछ्यौरी गीतबाट बद्री पंगेनीले, सर्वोत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड म त फूल झैं गीतबाट मुना थापाले पाए भने सर्वोत्कृष्ट लोकदोहोरी शब्दको अवार्ड झल्को आउँछ गीतबाट रमेश बिजीले हासिल गरे। यस्तै, सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभाको अवार्ड पुरुष गायनतर्फ म त फूलझैं गीतबाट सञ्जयले पाए भने महिला गायनतर्फको अवार्ड तोरी भएर गीतबाट सम्झना भण्डारीले प्राप्त गरिन्। लोकदोहोरी म्युजिक भिडियोतर्फ सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड मत फूल झैं बाटै शंकर बीसीले र यही गीतबाट सर्वोत्कृष्ट लोकलोहोरी गीत म्युजिक भिडियो पुरुष मोडलको अवार्ड नारायण ढकालले हात पारे। सर्वोत्कृष्ट लोकदोहोरी म्युजिक भिडियो मोडलको अवार्ड रातो पछ्यौरी गीतको भिडियोबाट पार्वती राईले प्राप्त गरिन्।

सोहि क्रममा नेपाली संगीत पत्रकारितामा उल्लेख्य योगदान पुर्‍याएको भन्दै यस वर्षको ५ हजार ५ सय ५५ रुपैयाँ राशिको संगीत पत्रकारिता पुरस्कार सञ्चारकर्मी कृष्ण भट्टराईलाई प्रदान गरिएको थियो भने गायक रेवत राईलाई प्रोत्साहन पुरस्कार, बाल गायिका दर्शना महर्जन र विश्वकै कान्छा चलचित्र निर्देशक सौगात विष्टलाई बाल प्रोत्साहन पुस्कार एवं कुमार पुनलाई डायस्पोरा संगीत सम्मान प्रदान गरिएको थियो । यो वर्षको पब्लिक च्वाइस अवार्ड चलचित्र यो कथा हो तिम्रो मेरोबाट संगीतकार विकास चौधरीले र गायक राजन ठकुरीले प्राप्त गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष सुमन बैरागीले नेपाली संगीतको विकास र उत्थानका लागि आफूहरुले इट्टा थप्ने काम गरेको बताए । आनन्द कार्की, राजु परियार, अन्जु पन्त, युवराज चौलागाईं, दुर्गा परियारको गायन, दिनेश डीसीको प्रहसनसहितको प्रस्तुतिसँगै दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे ‘माग्ने बुढा’, प्रियंका कार्कीको प्रहसनले कार्यक्रमलाई थप रौनकता थपेको थियो । कार्यक्रममा लोक गायक राजु परियार, गायिका अञ्जु पन्तले आफ्नो चर्चित गीतहरु गायका थिए भने मोडल तथा निर्देशक शंकर वीसीले चलचित्र ‘वडा नम्बर ६’को ‘सुर्के थैली खै’ बोलको गीतमा नृत्य गरे । गायक आनन्द कार्कीले आफ्नो सार्वजनिक हुन लागेको ‘तिमीसँग आउँदैछु’ बोलको गीत गाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu