ठुलोपर्दा डटकम, काठमाण्डौ।
यसै बर्षको विजया दशमी अर्थात कात्तिक ३ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘परदेशी’को ४ वटा गीतको भिडियो प्रदर्शन गरिएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले वीवी अनुरागीको संगीत रहेको चलचित्रको अडियो विमोचन पनि गरेका थिए ।
Click Here to Watch Entertaining Videosकार्यक्रममा चलचित्रका नायक प्रशान्त तामाङको पनि उपस्थिती रहेको थिए । दिल्लीमा आफ्नै परिवारसँग केहि समयदेखी रहँदै आएका प्रशान्तले चलचित्र परदेशी राम्रो चलचित्र बनेको कार्यक्रममा बताएका थिए । उनले कार्यक्रममा गीत गाएर पनि सुनाएका थिए । नेपालबाट विदेशी भूमिमा कमाउनका लागी जाने महिलाहरुको कथामा निर्माण भएको चलचित्र परदेशीलाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । यस अघि चलचित्र ‘गोर्खापल्टन’ निर्देशन गरेका रायमाझीले यो चलचित्रमा भने लगानी पनि गरेका छन् ।
लगानीमा रायमाझीलाई राजेश बंशलले पनि साथ दिएका छन् । कार्यक्रममा बोल्दै नारायण रायमाझीले चलचित्र परदेशी हरेक नेपालीहरुको कथा रहेको बताए । उनले भने, ‘चलचित्र परदेशीलाई हामीले नेपालीहरुको चलचित्र बनाएका छौं, नेपाली दाजुभाई, दिदी बहिनीहरुको व्यथा विसाएका छौं त्यसैले चलचित्र परदेशीलाई ‘गोर्खापल्टन’ चलचित्र जसरी नै साथ दिनुहुनेछ भन्नेमा हाम्रो टिम पुर्ण विश्वस्त रहेको छ ।’ चलचित्र परदेशीमा प्रशान्त तामाङ, नरेन खड्का, रजनी केसी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।