नारायण गोपाल बिनाको गीत



bijay-ratna-tuladhar1
लेखकः विजयरत्न

विजयरत्न तुलाधर। नारायण गोपाल संगीतका अजर अमर साधक हुन् । नेपालको संगीत क्षेत्रलाई सयौंको संख्यामा संगीत माधुर्यको भण्डार सुम्पेर गएका नारायण गोपालको जन्म १९९६ असोज १८ गते भएको थियो । बुबा आशागोपाल गुरुवाचार्य र आमा राममाया गुरुवाचार्यका नौ सन्तान मध्येका माहिलो सन्तान हुन्, नारायण गोपाल । आफ्नो परिवारमा माहिलो भएर जन्मिए पनि उनी सङ्गीत क्षेत्रमा संधैं अब्बल स्थानमा रहे । अर्थात् पहिलो स्थानमा रही रहे । सङ्गीत क्षेत्रमा उनले अर्पण गरेको कालखण्डलाई नियाल्ने हो भने उनको जन्म संङ्गीत मै रम्नकालागि भएको हो जस्तो देखिन्छ ।

उनी जे गर्न जन्मिए, त्यही गरेर मृत्यु अंगाले । तर मृत्यु पश्चात पनि उनी आˆना असंख्य प्रशंसकहरु अनि सङ्गीत साधकहरुमाझ आˆना अजर गीतहरुको मार्फत बाँचीरहनु भएको छ । अर्थात जीवित हुनुहुन्छ । उनका धेरैजसो गीतहरु सुमधुर छन् । लोकप्रिय छन् । विशेषगरी चलचित्रतिर उनले गाएका गीतहरुको चर्चा गर्दा “चिनो” चलचित्रका लागि गाएको “मोहनी लाग्ला है” को अपार लोकप्रियता र “दक्षिणा” को लागि गाएको “यो देहलाई कसरी सम्झाइ बुझाउँ”को संवेदनशीलता अतुलनीय छ । अवर्णनीय छ ।

अमर सङ्गति साधकका रुपमा सांगितिक आकाशमा सदा चम्किरहने नारायण गोपालले बाह्र वटा चलचित्रकालागि बाइस वटा गीत गाएका छन् । चलचित्र तर्फ उनको यात्राको आरम्भ “परिवर्तन”बाट भएको थियो । यो चलचित्रकोलागि उनले गाएको पहिलो गीत “बुझ्नै सकेनौ तिमिले” बोलको गीत थियो । उनले यहि चलचित्रकालागि दुई वटा अरु गीतहरु पनि गीत गाएका थिए । जसमध्ये “बैनीको दया छ” बोलको एउटा लोकभाकाको गीत पनि पर्दछ । नारायण गोपालले आफ्नो सांगितिक जीवनमा थोरैमात्र लोकभाकाका गीत गाएका थिए । जसमध्ये यो एउटा पनि पर्दछ ।

नारायण गोपालले सितिमिति कसैको गीत गाउँदैन थिए भन्ने कुरा थाहा नहुने कोहि पनि छैन होला । चलचित्रमा पनि धेरैले उनलाई गीत गाउन दिन चाहेका थिए । तर धेरै सकेनन् । र ती सबको पछाडि विविध कारणहरु छन् । “माइतिघर”चलचित्रकालागि पनि संगीतकार जयदेवले पनि नारायण गोपालको स्वरमा एउटा गीत रेकर्ड गराउन चाहेका थिए । विशेषगरी “जिन्दगीलाई जीत हैन हारले स्वागत” बोलको गीत उनकै लागि छुट्याइएको थियो । नारायण गोपाल त्यत्तिबेला भारतको बडौदामा शास्त्रीय सङ्गीत अध्ययन गर्दै थिए । र उनलाई बडौदाबाट बम्बई बोलाईएको थियो । गीतको लागि रिहर्सल पनि शुरु भयो । सङ्गीतकार जयदेव नारायण गोपालबाट ज्यादै नै प्रभावित भएका थिए । रिहर्सल हुँदैगर्दा नै गीत रेकर्डिङ्गका लागि स्टूडियो पनि बुक गरियो । तर अचानक नारायण गोपाललाई रुघाखोकीले नराम्ररी च्यापे पछि उनले त्यो गीत गाउन सकेनन् । र बाध्य भएर भारतीय गायक मन्नाडेको स्वरमा त्यो गीत रेकर्ड गराइयो ।
narayan-gopal
नारायण गोपालले चलचित्रका लागि गाएका गीतहरु बारे यदाकदा चर्चा भईरहने गर्दछ तर गाउने भनेर निधो भईसकेपछि पनि गाउन नसकेका गीतमा “माइतीघर” को “जिन्दगीलाई हारले हैन” गीत परे जस्तै निर्देशक यादव खरेलका दुई चलचित्रहरु “चेलीबेटी” र “लोभीपापी” को सन्दर्भमा पनि त्यस्तै घटना घटेको थियो । “चेलीबेटी”को लागि “तिम्रो आँखाको सागरमा” र “लोभीपापी”को लागि “भन्दछन् माया र लडाईंमा” बोलका गीतहरु नारायण गोपालले गाउने तय भएको थियो । रिहर्सल पनि भएको थियो । संगीतकार शम्भुजित वासकोटा ती दुबै गीतका सम्भावित परिणामबाट असाध्यै खुशी थिए तर अचानक स्वास्थ्य स्थीति बिग्रेपछि उनी रेकर्डिंगको लागि बम्बई जान सकेनन् । बम्बई जान सकेको भए नारायण गोपालले त्यहाँ “लोभीपापी” कै दुईवटा अर्को गीत “चाँदीको भित्ता, सुनको छानो” र “न मेरो घरै छ, न जागिरको भरै छ” पनि गाउनेवाला थिए तर त्यस्तो हुन सकेन ।

नारायण गोपाललाई धेरैले दम्भी, हठी र अहङ्कारी स्वभावका भनेर भन्ने गर्थे तर चलचित्र निर्देशक लक्ष्मीनाथ शर्माको रायमा उनी त्यस्तो स्वभावका थिएनन् भन्ने देखिन्छ निर्देशक शर्माले बताए अनुसार “बदलिँदो आकाश” चलचित्रका लागि शिर्षक गीत गाईदिन अनुरोध गर्दा नारायण गोपालले पहिला चलचित्र कथाबारे जान्न खोजेको र अनि गीत कुन प्रसङ्गमा प्रयुक्त हुने भन्ने बारेमा जान्न खोजेको कुरा स्मरण गर्दै बताए कि, “मसित उहाँले कुनै बाङ्गो कुरा पनि गर्नु भएन । न त कुनै अभिमान नै देखाउनु भयो । बरु मैले गीत यहीं नेपालमा रेकर्ड गर्छु भनि भन्दा उहाँ औधी खुशी हुनुभयो ।”

नारायण गोपालको अन्तिम गीत कुन हो भन्ने बारेमा जहिले पनि चर्चा चलिराखेको हुन्छ । विवाद भईरहेको हुन्छ । संजोगवश कालजयी सङ्गीत साधक नारायण गोपालका अन्तिम गीतहरु चलचित्रका लागि नै रेकर्ड गरिएको थियो । र सबैभन्दा अन्तिम रेकर्डिङ्ग “चोट” का लागि “विरही माया अधुरै रहृयो” बोलको गीत थियो तर प्रकाशमा आएको अन्तिम गीत भनेको “दक्षिणा” मा प्रयोग गरिएको “यो देहलाई कसरी” बोलको गीत थियो । तर यो गीत भने “चोट” को गीत भन्दा धेरै पहिला नै रेकर्ड भईसकेको थियो । र त्यो गीत निर्देशक तुलसि घिमिरेले रनजीत गजमेरको संगीतमा “कोसेली” का लागि रेकर्ड गराएका थिए । तर कुनै कारणवश त्यो गीत “कोसेली”मा प्रयोग हुन सकेन र पछि “दक्षिणा”मा प्रयोग गरियो । “चोट” का संगीतरकार भुपेन्द्र रायमाझी हुन् । संगीतकार रायमाझीले बताए अनुसार नारायण गोपालले “चोट” कै लागि “किन तिमी आज यस्तो” बोलको गीत पनि गाउने निधो भएको थियो । रिहर्सल पनि भएको थियो । तर पछि स्वर सम्राट नारायण गोपालको अस्वस्थताले गर्दा रेकर्ड हुन नसकेको कुरा संगीतकार रायमाझी बताउँछन् ।
[email protected]

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu