चलचित्रको लाइभ डाटा हेर्न अझै २ महिना लाग्छ : मनिष पण्डित



चलचित्र निर्माता तथा वितरकहरुको सधैं एउटै गुनासो रहने गरेको थियो, ‘बक्स अफिस प्रणाली लागु नहुँदा हामी मर्कामा पर्‍यौं ।’ हल सञ्चालकहरुले शोसमेत गायब गर्ने गरेको उनीहरुको दाबी थियो ।

अब यो गुनासोको अन्त्य लगभग भएको छ । राजधानीका २० हलमा गएको साउन १ गतेबाट बक्सअफिस लागू भइसकेको छ भने उपत्यका बाहिर यो वर्षको आर्थिक मसान्त ०७५/७६ भित्र लागू गर्ने तयारीमा सरकार जुटेको छ ।

बक्स अफिस प्रणाली लागू भएपनि निर्माताहरुले आफ्नो चलचित्रको लाइभ डाटा हेर्न नपाएको गुनासो छ । आखिर के जटिलता हो ? यस विषयमा बक्सअफिसका कन्सल्टेन्ट मनिष पण्डितसँग हामीले विशेष कुराकानी गरेका छौ ।

१. बक्सअफिसको विज्ञको रुपमा तपाईले काम गरिरहँदा यसका अप्ठ्याराहरु के रहेछन् ?

अप्ठ्याराभन्दा पनि चुनौतीहरु बढी छन् । पहिलो पटक ‘इम्प्लिमेन्ट’ हुन लागेका कारण थिएटरको पाटोमा ‘स्किल ह्यूमन रिसोर्सेज’ लाई ट्रेन्ड गर्न केहि गाह्रो भएको थियो । नयाँ भएका कारण सिस्टममा वर्कआउट गर्न र धेरै थिएटरलाई एउटै सर्भरमा जोड्नु पर्ने भएका कारण केहि कठिन भएको थियो ।

२. फिल्मको रिपोर्टलाई लिएर निर्माताहरुले कति अप्ठ्यारो पारेका छन् ?

म जबदेखि टिममा आए तबदेखि निर्माता/हलवालाहरुबाट अप्ठ्यारो नभएर सहयोग पाइरहेको छु । यो कुरालाई सफल बनाउनका लागि सबै लाग्नु भएको छ । टाइम-टाइममा हलवालाहरुलाई बोलाएर छलफल गरिरहेका छौं ।

थिएटरमा सिस्टर राखिसकेपछि कार्यन्वयनमा के कस्ता समस्याहरु आइरहेका छन् भन्ने विषयमा हामीले हरेक दिन नै ‘एड्रेस’ गर्दै लगिरहेका छौं ।

३. केहि निर्माताहरु सामाजिक सञ्जालहरुमा रोइलो गरिरहेका छन् । चलचित्रको रिपोर्ट सही आउँदैन, ढिला आउँछ, लाइभ आउँदैन, हामीले जे सोचेका छौं त्यो हुँदै होइन बक्सअफिस भन्दै रोइकराई गरिरहेका छन् । के साच्चै यस्तै हो ?

एउटा ‘स्कोट वर्कआउट’ गरेका छौं हामीले । त्यो वर्कआउट चाहिं हामीले कहिलेसम्म ‘इम्प्लिमेन्ट’ गरिसक्छौं भन्ने कुरा हो । साउन १ गते हामीले लाइभ गर्‍यौं । हामीले सबै थिएटरबाट डाटा पाउन थाल्यौं । अहिले हामी डाटा टेस्टिङ प्रक्रियामा छौं ।

डाटा टेस्टिङ प्रक्रिया अझै केही हप्ता गर्छौँ । विभिन्न फेजबाट हामीले डाटा टेस्ट गरिरहेका छौं । सबैभन्दा ठूलो कुरा भनेको बक्सअफिस लगाइसकेपछि डाटा नै सबैभन्दा ठूलो कुरा हो । हामी अहिले डाटा सही हो वा होइन भन्ने परिक्षण गरिरहेका छौं ।

अहिले निर्माताहरुले शो सकिएपछि राजधानीका २० थिएटरको कलेक्सन रिपोर्ट थाहा पाउन सक्छन् । अब विस्तारै हामी त्यसलाई रियल टाइममा कसरी लैजान सक्छौं भन्ने वर्कआउट गरिरहेका छौं ।

हाम्रो इन्फास्ट्रकचर पनि राम्रो हुनु पर्छ, विजुलीकोको ब्याकअप, थिएटरमा इन्टरनेटको सुविधा पनि अत्यन्त आवश्यक पर्दछ । यी सबै भए र हाम्रो तयारी अनुसार अगाडि बढे केहि महिनाभित्रै हामीले रियल टाइम डाटा निर्माताहरुलाई देखाउन सक्छौं ।

चलचित्रको टिकट कति विक्रि भयो भनेर लाइभ हेर्न चाहिं अहिले मिल्दैन । अहिले हामी टेस्टमै छौं । अबको २ महिनामा यो पनि सम्भव हुन्छ ।


४. तपाईले बक्सअफिसको विज्ञको रुपमा ड्यासबोर्ड चलाइरहँदा नेपाली होस् वा अन्य भाषाका चलचित्रको व्यापार हेरेर सन्तुष्ट हुनुहुन्छ ?

म पनि एक फिल्ममेकर्स भएका कारण त्यति सन्तुष्ट चाहिं छैन । चलचित्रहरुले अझै राम्रो गर्नुपर्छ । थिएटर, निर्माता र सिंगो चलचित्र क्षेत्र नै बलियो हुनका लागि अझ राम्रो हुन आवश्यक छ । तर, साउन १ गतेबाट नेपाली चलचित्रको व्यापार हेर्दा सन्तुष्ट नभएपनि आश गर्ने ठाउँ भने छ ।

५. तपाई बक्सअफिसको ‘वान म्यान आर्मी’ को रुपमा खटिरहनु भएको छ । चलचित्र विकास बोर्डले यसमा ध्यान नदिएको हो ? राज्यले वेवास्था गरेको हो वा तपाई आफैंलाई म एक्लैले चलाउन सक्छु भन्ने लागेर हो ?

त्यस्तो होइन । यो टिमवर्क हो । धेरै अगाडिदेखि बक्सअफिस लागू गर्ने भनेर कति व्यक्तिहरु लागीपर्नु भएको थियो । बक्सअफिस लागू भएको दिन पनि चलचित्र विकास बोर्डका सदस्यहरुले मलाई सहयोग गर्नुभएको थियो ।

सबैबाट सहयोग त छ तर सरकारी काममा प्रोसेस अगाडि बढ्नका लागि विभिन्न स्टेपहरु हुँदो रहेछ । यत्रो सिस्टम ‘इम्प्लिमेन्ट’ गर्नका लागि हामीलाई जनशक्ति अझै चाहिन्छ । ‘इनहाउस’ पनि हामीलाई प्राविधिकहरु चाहिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu