के छन् ‘बक्सअफिस’ कार्यान्वयनका कठिनाई ?



लामो विवाद र छलफलपश्चात् नेपालमा बक्सअफिस प्रणाली लागू भएको छ । नयाँ आर्थिक वर्ष २०७५/७६ देखि काठमाडौं भित्रका २० हलहरुमा बक्स अफिस सिस्टम राखिएको हो।

नेपाल सरकार, सुचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको चलचित्र विकास बोर्ड यो वर्षको आर्थिक मसान्त ०७५/०७६ भित्र उपत्यका बाहिर पनि बक्सअफिस लागू गर्ने तयारीमा जुटेको छ ।

बक्सअफिस लागू भएपछिका समस्या के-के छन् ? बक्सअफिस लागू गर्न आफ्नो भूमिका महत्वपूर्ण रहेको भन्दै रोइकराई किन भइरहेको छ ? निर्माताले अझै पनि किन आफ्नो फिल्मको रियल टाइम कलेक्सन रिपोर्ट किन हेर्न सकिरहेका छैनन् ? यस विषयमा चलचित्र पत्रकार संघ, नेपालले बिहीवार बहस कार्यक्रम राखेको छ ।

नेपाल चलचित्र संघको सभा हलमा आयोजना भएको ‘बक्सअफिस कार्यान्वयनका चुनौती’ कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेल, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, बक्स अफिस प्रणाली कार्यान्वयनका लागि चलचित्र विकास बोर्डले कन्सल्टयान्टका रूपमा भर्ती गरिएका मनीष पण्डित उपस्थित थिए ।

बोर्ड अध्यक्ष निकितले बक्सअफिस आफ्नो कारणले लागू भएको भन्दै रोइलो गर्नुको औचित्य नभएको बताइन् । उनले भनिन्, ‘बक्सअफिसको जस लिनेभन्दा पनि यो हामी सबैले मिलेर गरेका हौं । हामी सबै जनाको टिमवर्क हो यो ।’

                                                       (आकाश अधिकारी – चलचित्र निर्माता संघ, अध्यक्ष)

निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बक्सअफिस लगाउने नेपाल कान्छो फिल्म इन्डष्ट्री रहेको बताए । उनले भने, ‘फिल्म इन्डष्ट्रीको इतिहास हेर्ने हो भने ५२ वर्षमा नेपाली फिल्म इन्डष्ट्री प्रवेश गरिरहेको छ भने ८ वर्ष बलिउडको भन्दा पछाडि छौं । र, ५६ वर्ष हलिउडभन्दा पछाडि छौं । इन्टरनेटको माध्यमबाट ग्लोवल एक भइसकेको अवस्थामा हामी अब पछाडि छौं भनेर उम्कन मिल्दैन ।’

उनले नेपालमा लागू भएको बक्सअफिस प्रभावकारी रहेको बताए । अध्यक्ष अधिकारी बक्सअफिस आफूले लागू गरेको भन्दै बहस गर्नु सही नभएको तर्क राख्छन् । उनी भन्छन्, ‘मलाई पनि केही कमेन्ट आएको थियो तपाईले बक्सअफिस लगाउनु भएको हो भनेर ? हामी सबैको प्रयासमा यो लागू भएको हो । यसको जस सबैलाई जान्छ ।’

चलचित्र संघका अध्यक्ष प्रदीप उदयले बक्सअफिस अब बहसको विषय नभएको बताए । ‘अब बक्सअफिस कार्यान्वयन चाहिँ बहसको विषय हो । जुन किसिमको बक्सअफिस नेपालमा लागू भएको छ त्यो संसारकै पहिलो हो । सरकारी तवरबाट यसरी बक्सअफिस लागू हुनु विश्वमै पहिलो हो’, उनले भने । उनले बक्सअफिस कार्यान्वयनमा अब सबै जुट्नु पर्ने बताए ।

सबै चलचित्रकर्मीको चाहनाको विषय भएका कारण बक्सअफिस कसको पालामा लागू भयो भनेर बहस गर्नुको कुनै आवश्यकता नभएको उनको भनाई छ । उनले बक्सअफिस लागू गर्ने विषयमा चलचित्र संघले कहिल्यै विरोध नगरेको पनि स्पष्ट पारे ।

                                                        (प्रदीप कुमार उदय – नेपाल चलचित्र संघ, अध्यक्ष)

अध्यक्ष उदय भन्छन्, ‘हाम्रो व्यापारमा नियन्त्रण गर्न पाइँदैन अरु पारदर्शीको कुरामा हल सञ्चालकको कुनै आपत्ति छैन । हामीले कहिले पनि बक्सअफिसको विरोध गरेनौं । ‘हलवालाले चोर्छ त्यसैले बक्सअफिस लागू गर्नु पर्छ’ भन्ने धारणा केही चलचित्रकर्मीहरुले बेला-बेलामा प्रकट गर्नु हुन्थ्यो त्यसप्रति मात्र हाम्रो आपत्ति हो ।’

निर्माताले आफ्नो चलचित्रको व्यापार लाइभ हेर्न नपाएको गुनासोको बक्स अफिस प्रणाली कार्यान्वयनका कन्सल्टयान्ट मनीष पण्डितले चिरफार गर्ने प्रयास गरे । उनले भने, ‘हाम्रो सिस्टम ‘अप टु डेट’ छ । त्यसमा कुनै समस्या छैन । हरेक दिन नै हामीले हलमा अनुगमन गरिरहेका छौं । पहिलो हप्तामा चाहिँ अलि समस्या थियो । अहिले सिस्टममा समस्या छैन ।’

‘अहिले हामी डाटा टेस्टिङ प्रक्रियामा छौं । डाटा टेस्टिङ प्रक्रिया अझै केही हप्ता गर्छौँ । विभिन्न फेजबाट हामीले डाटा टेस्ट गरिरहेका छौं । बक्सअफिस लगाइसकेपछि डाटा नै सबैभन्दा ठूलो कुरा हो । हामी अहिले डाटा सही हो वा होइन भन्ने परिक्षण गरिरहेका छौं’, उनले थपे ।

पण्डितले निर्माताहरुले शो सकिएको १ घण्टामा नै थिएटरको कलेक्सन रिपोर्ट थाहा पाउन सक्ने बताए । ‘अब विस्तारै हामी त्यसलाई रियल टाइममा कसरी लैजान सक्छौं भन्ने वर्कआउट गरिरहेका छौं’ उनले भने, ‘अबको तीन महिना भित्रमा निर्माताले आफ्नो चलचित्रको लाइभ डाटा हेर्न सक्नेछन् ।’

उक्त कार्यक्रममा बक्सअफिस लागू भएपछि प्रदर्शनमा आएका केही चलचित्रका निर्माताहरुको पनि उपस्थिति थियो । चलचित्र ‘भैरे’ का निर्माता तथा निर्देशक एभरेष्ट सूर्य बोहरा, ‘रोमियो एण्ड मुना’ का निर्माता प्रशन्न गोपाली र ‘चक्कर’ का निर्माता रविन आचार्यले बक्सअफिसको सुरुवाती कमी कमजोरी प्रसस्तै रहेको बताए ।

विकास बोर्ड अध्यक्ष पौडेलले बक्सअफिस लागू भएपछि पनि केही सिंगल थिएटरहरुले च्यातेर टिकट विक्रि गर्ने गरेको गुनासोको हल गर्ने प्रयास गरिन् । उनले विकास बोर्डले चाहेर मात्र ई–टिकेटिङबाट तत्काल टिकट विक्रि गर्र्न हल सञ्चालकलाई निर्देशन दिन नसक्ने बताइन् ।

                                                        (निकिता पौडेल – चलचित्र विकास बोर्ड, अध्यक्ष)

उनी भन्छिन्, ‘सरकारी तवरबाट जुन प्रोसेस हुन्छ त्यसमा पनि हामीलाई समय लागिरहेको छ । सिस्टम त पहिला नै तयार थियो । हामीले सिस्टमहरु विस्तारै मिलाउँदै जाने भनेर बक्सअफिस लागू गरेका हौं । यो समस्या चाँडै समाधान गर्ने हाम्रो प्रयास छ ।’

चलचित्र संघका अध्यक्ष उदय बक्सअफिस लागू हुने वितिक्कै नजिता खोजिहाल्ने ठिक नभएको बताउँछन् । ‘हामी कहाँ सिमित सुविधाका लागि बनेका सिनेमा घरहरु धेरै छन् । त्यहाँ नयाँ किसिमको प्रविधि लगाउँदा ढिलाई अवश्य हुन्छ । धेरै सिंगल थिएटरहरु सुविधायुक्त भइसकेका छैनन् । अहिलेको बक्सअफिसलाई अपग्रेड गर्दै सरकारको नीति र बक्सअफिसको प्रविधिलाई फ्रेन्ड्ली बनाएर छिटो भन्दा छिटो सबै निर्माताले विश्वस्त हुने खालको वातावरण बनाउने हाम्रो प्रयास छ’, उनले भने ।

निर्माता संघका अध्यक्ष अधिकारीले बक्सअफिसलाई कार्यान्वयन गरेर निर्मातालाई आफ्नो चलचित्रको वास्तविक कलेक्सन रिपोर्ट सहज रुपमा हेर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिए । बोर्ड अध्यक्ष निकिताले आउँदो माघ १ गतेबाट उपत्यकामा पनि बक्सअफिस लागू गर्ने प्रतिवद्धता व्यक्ति गरिन् ।

चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दिप सापकोटाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन महासचिव अनिल यादवले गरेका थिए । अध्यक्ष सापकोटाले ‘बक्सअफिस कार्यान्वयनका चुनौती’ विषयमा आयोजना भएको बहसले चलचित्रकर्मीसँगै पत्रकारलाई ठूलो सहयोग मिल्नेमा विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu