प्रशान्त भन्छन्, ‘चलचित्र क्षेत्रलाई निकास दिन सरकारले विशेष योजना ल्याउनु पर्छ’



विगत पाँच महिनायता चलचित्र क्षेत्र पूर्ण रुपमा ठप्प छ । भयावह रुपमा फैलिएको कोरोना भाइरसका कारण चलचित्र निर्माण र प्रदर्शन भएका छैनन् । सम्भवतः यति लामो समय यसअघि चलचित्र क्षेत्रले कहिल्यै विश्राम लिएको थिएन । चलचित्र सम्बन्धि सबै काम रोकिँदा यस क्षेत्रमा आश्रित हजारौं बेरोजगार भएका छन् । कलाकारहरुलाई पनि विस्तारै आर्थिक संकट उत्पन्न हुन थालेको छ ।

पाँच महिनादेखि चलचित्र निर्माण नहुँदा सबैभन्दा समस्या प्राविधिकहरुलाई भएको छ । दैनिक चलचित्रमा काम गरेर परिवारको गुजरा चलाउँदै आएका उनीहरुलाई अहिले विहान बेलुकाको छाक टार्न समेत धौ-धौ भइरहेको छ । लकडाउन भएको सुरुवाती दिनमा केही चलचित्रकर्मीहरुले आर्थिक तथा खाद्यन्न सहयोग गरे पनि अहिले कोही सहयोगका लागि अगाडि आउन सकेका छैनन् ।

चलचित्र क्षेत्र कहिल्यै पुरानो अवस्थामा फर्किने हो ? सबै चिन्तित छन् । चर्चित अभिनेता प्रशान्त ताम्राकार फिल्म क्षेत्र पुरानो अवस्थामा कहिले फर्किन्छ भन्न अहिले नै गाह्रो हुने बताउँछन् । यो अवस्थामा कलाकारहरुले जसोतसो सर्भाइभ गरे पनि प्राविधिकहरुलाई समस्या रहेको उनको भनाई छ । यसका लागि फिल्म सम्बद्ध संघ संस्थासँग सहकार्य गरेर सरकारले सहयोग गर्नुपर्ने उनको सुझाव छ ।

उनी भन्छन्, ‘प्राविधिकहरु ६ महिनायता कामविहीन छन् । अझै एक वर्ष चलचित्र निर्माण नभए उनीहरुले आफूलाई कसरी सर्भाइभ गर्छन् भन्ने अहिलेको जटिल प्रश्न हो । कति प्राविधिकले २०औं वर्षदेखि यही क्षेत्रमा रहेर काम गरेका छन् । उहाँहरु यो क्षेत्रभन्दा बाहिर बसेर काम पनि गर्न सक्नुहुन्न । उहाँहरुलाई कसरी यही क्षेत्रलाई जोगाइराख्ने भन्ने अहिलेको सबैभन्दा ठूलो चुनौती छ ।’

चलचित्र क्षेत्र सञ्चालनमा आएपछि निर्माताको लगानी सुरक्षित हुने वातावरण सिर्जना गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । निर्माता बाँचे कलाकार तथा प्राविधिकको घरमा चुलो बल्ने उनी बताउँछन् । उनले चलचित्र क्षेत्रलाई निकास दिन सरकारले विशेष योजना ल्याउनु पर्ने पनि बताएका छन् । यो कठिन परिस्थितिमा चलचित्र क्षेत्रलाई राज्यको सहयोगको खाँचो रहेको उनको भनाई छ ।

‘डान्सिङ विथ द स्टार्स’ मा सहभागिता जनाउनका लागि रिहर्सनमा व्यस्त रहेका प्रशान्त कोरोनाका कारण आफूले अब के काम गर्ने भनेर सोच्न पनि नसकेको बताउँछन् । उनी भन्छन्, ‘दिमागमा केही सोच नै आएको छैन । म योभन्दा अगाडि २ वर्षका लागि व्यस्त थिएँ । त्यतिबेला अरु सोच्ने समय नै मिलेन । अहिले सबै ठप्प हुँदा एकदमै अन्योल छ । केही सुरु गर्न पनि माहोल छैन ।’

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu