नेपाली चलचित्रका नायक नरेन खड्काले डेब्यू गरेको भोजपुरी चलचित्र ‘रण’को ट्रेलर सार्वजनिक भएको छ । ‘एक्सन प्याक्ड’ ट्रेलरमा नरेनले ‘पर्याप्त स्क्रिन’ स्पेश पाएका छन् । भिलेनको भूमिकामा प्रस्तुत भएका उनी भिन्न गेटअप र लुक्समा देखिएका छन् । ट्रेलरमा उनको अभिनय पनि दमदार देखिन्छ । उनले आफ्नो करिअरमा पहिलो पटक भिलेनको भूमिकामा अभिनय गरेका हुन् ।

चलचित्रमा निर्वाहा गरेको भूमिकाबारे नरेन भन्छन्, ‘नकारात्मक भूमिकामा अभिनय गरेको यो मेरो पहिलो अनुभव हो । भूमिका दमदार लागेपछि काम गर्न राजी भएको थिएँ । कलाकार भएपछि हरेक खालको भूमिकामा आफूलाई प्रस्तुत गर्नुपर्छ भन्ने लागेर यसपटक भिलेनको भूमिकामा अभिनय गर्ने चुनौती मोलेको हुँ ।’ उनी ‘रण’ले आफूलाई भोजपुरीमा स्थापित गर्नेमा विश्वस्त छन् ।
यो चलचित्रलाई नेपालका द्वन्द्व निर्देशक चन्द्र पन्तले निर्देशन गरेका हुन् । चलचित्रमा उनकै कथा र द्वन्द्व निर्देशन रहेको छ । चलचित्रको ट्रेलर हेर्दा उनले भोजपुरीलाई एक्सनमा नयाँ स्वाद पस्किने छनक देखाएका छन् । उनले ‘निरहुआ चलल लण्डन’ नामक भोजपुरी चलचित्रबाट निर्देशनमा डेब्यू गरेका थिए । अब चन्द्र ‘ह्रस्व दीर्घ’बाट नेपाली चलचित्र निर्देशनमा डेब्यू गर्ने तयारीमा छन् ।
‘रण’मा नरेनका अलावा आनन्द ओझा, काजल रागवानी, सिपी भट्ट, मनोज टाइगर,, देव सिंह, अरुण कुमार मिश्र लगायतको अभिनय छ । चलचित्रलाई नेपालका अर्जुन जिसीले सम्पादन गरेका हुन् भने साहिल खानले ट्रेलर काटेका हुन् । अरुण कुमार मिश्रले निर्माण गरेकोचलचित्रको गीतमा भोजपुरीबाट कानु मुखर्जी र नेपालबाट गम्भीर विष्ट र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।