यही साउन २० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘म’को प्रचारलाई प्रभावकारी बनाउन विभिन्न शैली अपनाइएको छ । केही दिनअघि काठमाडौंको सडकमा हिँड्ने आम-मानिसलाई चलचित्रको बारेमा जानकारी गराइएको थियो । प्रदर्शन मिति नजिकिँदै गर्दा दर्शकहरुलाई चलचित्रको बारेमा जानकारी दिन काठमाडौंको चोक-चोकमा राखिएको डिजिटल स्क्रिनहरुमा ट्रेलर देखाउन सुरु गरिएको छ ।

काठमाडौंको चोकमा जाममा परेका आम-मानिसहरुलाई लक्षित गरेर डिजिटल स्क्रिनमार्फत् चलचित्रको ट्रेलर देखाउन थालिएको निर्माता प्रकाश पुरीले जानकारी दिए । एकचोटी धेरै दर्शकसम्म पुग्नका लागि यो प्रचार शैली प्रभावकारी हुने उनको विश्वास छ । अहिले कलंकी, माईतीघर, कमलादी, दरबारमार्ग, चाबहिल, कोटेश्वर, जडीबुटी, सुर्यविनायक, बुढानिलकण्ठ, त्रिपुरेश्वर, सुन्धारालगायतका चोकहरुमा रहेका स्क्रिनमा चलचित्रको ट्रेलर बजिरहेको छ ।

निर्माता पुरीले भने- ‘काठमाडौंको मुख्य चोकहरुमा अहिले पनि दैनिक हजारौं यात्रुहरु जाममा पर्नुपर्ने बाध्यता कायमै छ । चलचित्र हेर्न हलसम्म नजाने र युट्युबमा ट्रेलर नहेरेका सर्वसाधारणले पनि चलचित्रको बारेमा थाहा पाउने यो शैली प्रभावकारी हुन्छ भन्ने लागेको छ । यदी यसले चलचित्रको व्यापारमा फाइदा पुग्यो भने आगामी दिनमा अधिकांश नेपाली चलचित्रले यो ट्रेन्ड पछ्याउनेछ ।’

चलचित्रमा सरोज खनाल, निशा अधिकारी, रुविना थापा, निराजन प्रधान, सविन श्रेष्ठ, नरेन खड्का, सरिता लामिछाने, पुनम श्रेष्ठ, संजोग रसाइली लगायतको अभिनय छ । सुवर्ण थापा निर्देशित चलचित्रमा तेन्जिङ्ग पाल्देनको छायांकन र बनिश शाहको सम्पादन छ भने निर्मातामा बिमला हुमागाईं र पदम पुरी छन् । चलचित्र सम्बन्धि अध्ययन गराउने कान्तिपुर फिल्म एकेडेमीले चलचित्रको निर्माण गरेको हो ।