राजनीतिक पूर्वाग्रहसहित ‘प्रकाश’ बनेको छ : मन्त्री देवेन्द्र पौडेल



माओवादी केन्द्रका नेता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले चलचित्र ‘प्रकाश’ राजनीतिक पूर्वाग्रहसहित निर्माण भएको बताएका छन् । शनिवार राजधानीको बिश्वज्योति हलमा चलचित्र हेरेपछि सञ्चारकर्मीहरुसँग सक्षिप्त कुराकानी गर्दै उनले चलचित्रमा राखिएका कतिपय दृष्य र बिम्बहरु राजनीतिक पूर्वाग्रहसहित प्रयोग गरिएको बताए ।

जनयुद्ध लडेर आएको माओवादी पार्टीप्रति लक्षित गरेर चलचित्र बनेको भन्दै उनले आपत्ति जनाए । चलचित्रमा कम्युनिष्ट पार्टीको झण्डाको प्रयोग गरिएको छ भने माओबादी जनयुद्धको पृष्ठभूमि र वेपत्ता परिवारको प्रसंग पनि जोडिएको छ । यस्ता बिम्बहरु राजनीतिक आस्थासँग जोडिएर प्रस्तुत भएको उनको भनाई छ ।

मन्त्री पौडेलले भने– ‘मैले चलचित्र हेर्दा शिक्षकसँग सम्बन्धित भन्दा पनि एउटा आस्था र राजनीतिसँग सम्बन्धित देखेँ । त्यहाँ प्रस्तुत गरेको झण्डा, त्यहाँ प्रस्तुत गरेको बिम्ब, विकृति गर्नेलाई निर्वाचन जिताएको देखाइएको छ । यसको सन्देश शिक्षासँग भन्दा पनि राजनीतिसँग सम्बन्धित भएर चलचित्र प्रकट भएको मलाई महसुस हुन्छ ।’

उनले चलचित्र एउटा आन्दोलनसँग जोडिएको भन्दै जुन स्थानको कथा देखाइएको त्यहीका जनताले यो कति यथार्थ हो भनेर फैसला गर्ने जनाए । ‘चलचित्रको अन्त्यमा जे देखाइयो त्यो हो वा होइन भन्ने कुरा जुम्लाका जनताले फैसला गर्ने कुरा हो । तर, आज पनि त्यहाँका जनताको विश्वास त्यही जनयुद्ध लडेको पार्टीप्रति नै छ ।’

नेपालमा शिक्षाको स्तर चलचित्रमा प्रस्तुत भएको भन्दा धेरै अघि बढेको भन्दै उनले सामुदायिक बिद्यालयको अवस्था पनि सुधारिएको जनाए । अहिले शिक्षामा धेरै सुधार भइसकेको भन्दै उनले ४० वर्ष पहिलेको जस्तो गरि देखाउन नहुने जनाएका छन् । समग्रमा चलचित्र राम्रो बनेको र एउटा सन्देश दिन खोजेको बताए ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रलाई विकास सुबेदीले लेखेका हुन् । महेन्द्र अधिकारीको निर्माण रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, राजन खतिवडा, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रले दोस्रो सातामा पनि राम्रो ब्यापार गरिरहेको निर्माण टिमले जनाएको छ । जनयुद्धपछि व्यवस्था फेरिए पनि जनताको अवस्था नफेरिएको भन्ने मुद्धालाई चलचित्रले उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu