काठमाडौँ।
केहि महिना अघि बलिउडका बादशाह अभिनेताहरुले अभिनय रहेको चलचित्र ‘उचाई’को जम्बो टीम छायांकनको लागि नेपाल आएको थियो । विश्वको सर्वोच्च शिखर सगरमाथा र नेपालको मनाङ्ग लगाएतका हिमाली क्षेत्रमा छायांकनको दौरान अभिनेताद्वय अनुपम खेर र बोमन इरानी र अभिनेत्री परिणिती चोपडा झण्डै एक महिना नेपालमा रहेका थिए । चलचित्रका मुख्यपात्र अभिनेता अमिताभ बच्चन स्वास्थ्यको प्रतिकुलताको कारण नेपाल आएनन् । उनका ‘बडि डबल’ नेपाल आए, बच्चनले भने मुम्बईको सेटमा नै नेपाल महशुस गरे ।
‘उचाई’को छायांकनको समयमा नै अन्तराष्ट्रिय स्तरमा नेपालको चर्चा सुरु भएको थियो भने हालै सार्वजनिक ट्रेलरमा नेपालका दृश्यहरुले व्यापकता पाएका छन् ।
ट्रेलरमा टीप्पणी गर्दै चर्चित नेपाली गायिका आस्था राउत लेख्छिन्, ‘यो ट्रेलरले मेरा आँखा रसाए । हाम्रो नेपाललाई बलिउडका ‘लिजेन्डहरु’ले खोजिरहेका छन् । म यो चलचित्र हेर्न आतुर छु ।’
युट्युब प्रयोगकर्ता सुनिल लिम्बुले ट्रेलरमा टीप्पणी गरेका छन्, ‘यो चलचित्रले संसारभरका व्यक्तिहरुमाझ अवश्य पनि नेपाल र सगरमाथाको प्रचारमा सहयोग गर्नेछ । यो चलचित्र बनाएको धन्यवाद ।’
नाम नखुलेका एक प्रयोगकर्ताले नेपालका दृश्यहरुका कारण यो चलचित्र हेर्न लायक रहेको टीप्पणी गरेका छन् । उनले अगाडी लेखेका छन्, ‘सुन्दर हिमाल र उपत्यकाहरू हामी ठूलो पर्दामा हेर्न चाहन्छौं ।’

०००
सन् २०१५ मा अभिनेता अनमोल केसीको चलचित्र ‘ड्रिम्स’को दुई गीत मुस्ताङ्गमा छायांकन भयो । ति गीतहरु रिलिजपछि एक प्रकारको तरङ्ग उत्पन्न भयो । त्यसपछि अभिनेता रमेश उप्रेतीको चलचित्र ‘ऐश्वर्या’को एउटा गीत पनि मुस्ताङ्गमा नै छायांकन भयो । त्यसपछि झनै लहर उठ्यो । त्यो समयमा आन्तरिक पर्यटकहरु मुस्ताङ्ग जाने क्रममा केहि किलोमिटर लामो ट्राफिक जाम नै भएको थियो । पछिल्लो समयमा नेपालका ‘भर्जिन लोकेशन’को खोजी गर्दै विभिन्न स्वदेशी तथा विदेशी चलचित्रहरु एवं म्युजिक भिडियोहरुको छायांकन हुने क्रम बढेको छ ।
केहि बर्ष पहिलेसम्म नेपालमा आन्तरिक पर्यटकहरुको आकर्षण देखिदैन थियो । पछिल्ला केहि बर्षहरुमा आन्तरिक पर्यटनको प्रवर्द्धनमा माथी उल्लेख गरिए जसरी चलचित्रहरुले निकै महत्वपूर्ण योगदान दिएका छन् । पछिल्ला केहि बर्षहरु, बिशेष गरी कोभिड-१९ को महामारी पश्चात नेपालको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकले नै धानेका थिए । महामारीको असर घट्दै जाँदा बाह्य पर्यटकहरुको आगमनको चाप बढ्न थालेको छ । आन्तरिक पर्यटकको चाप पनि बढ्दो क्रममा नै छ ।

०००
नेपाल यस्तो ठाउँ हो जहाँ चलचित्रका निर्देशकहरू, सिनेमाटोग्राफरहरू, लेखकहरू, कलाकारहरू तथा कविहरू एवं सपना देख्नेहरुले आफ्नो कला र रचनात्मकताको लागि सर्वोत्कृष्ट प्रेरणा प्राप्त गर्दछन् । मनोरम सौन्दर्य र शान्तता, विश्वका दस अग्ला हिमालहरू मध्ये आठ शक्तिशाली हिमालय श्रृंखलाहरु, आतिथ्यशील पुस्तैनी संस्कृति, भौगोलिक विविधता, सुन्दर प्रकृति, विभिन्न शक्तिपिठहरु र प्रचुर वन्यजन्तुहरू नेपालका सम्पत्ती हुन् ।
चलचित्र छायांकनको लागि नेपालको सबैभन्दा सुन्दर र उपयुक्त मध्येका पाँच स्थानहरूबारे चिनारी दिने यो लेख विशेष गरी विदेशी तथा स्वदेशी चलचित्रहरुको ‘फिल्मिङ एक्सपेरियन्स’को लागि सहज बनाउन तयार गरेको हुँ ।
०००
घलेगाउँ
हिमाली दृश्य र गुरुङ्ग संस्कृतिको लागि प्रख्यात घलेगाउँ नमुना गाउँको रुपमा परिचित छ । यो लमजुङ्ग जिल्लामा पर्छ । सुन्दर शैलीमा मिलेको यो गाउँका घरहरु ढुंगा, माटो र काठबाट बनेका छन् । यहाँका मानिसहरुले ग्रामीण जीवनशैली अपनाएका छन् । यहाँको प्रमुख बिशेषता होमस्टे हो । यहाँका करिब चालिस घरमा होमस्टे सन्चालन गरिएको छ । घलेगाउँमा पर्यटकको चाहना अनुसार ‘बाह्र बर्षे घाटु नाच’ सहितका अन्य गुरुङ्गनाचहरु नाचिने गरिन्छ ।
यहाँ प्रार्थना गर्दा मनको इच्छा पुरा हुने विश्वास राखिने उत्तरकन्या मन्दिर, चिया बगान, गुरुङ्ग संग्राहलय, भ्यु टावर लगायतका घुम्न लायक स्थानहरु रहेका छन् । यहाँबाट सुर्योदय र सुर्यास्तको मनलाई मुग्ध पार्ने दृश्यका साथै विशाल रुपमा उभिएका हिमालहरु शिर छुनै लागेजस्ता देखिन्छन् । यहाँबाट जंगली मौरीले प्रख्यात भुजुङ्ग गाउँ पनि नजिकै पर्छ । यस ठाउँमा पुस-माघ महिनामा हिउँ पर्छ ।
ग्रामीण जीवन, एकिकृत गाउँ, अग्ला हिमाल, ठुला चौरहरु, हाईकिङ्ग, भीरमौरीको मह काढेको, आदि दृश्यहरू छायांकनको लागि यो क्षेत्र उपयुक्त छ ।

मर्दि बेस क्याम्प
सन् १९५६ मा स्वीस नागरिक बेसेलले कास्की जिल्लामा पर्ने मर्दि क्षेत्रको फोटो खिचेर सार्वजनिक गरेपछि यस क्षेत्रको व्यापक खोजी भएको थियो । ५,५८७ मिटर उचाई रहेको मर्दि हिमाल माछापुच्छ्रे हिमालसँगै जोडिएको छ । काठमाडौँबाट २४४ कि.मि. लामो सडकयात्रा रहेको कास्कीको घलेल गाउँबाट पैदल रुपमा यसको बेस क्याम्पसम्म पुग्न तीन दिन लाग्छ । ४,२५० मिटर उचाईमा रहेको बेस क्याम्प सम्म पुग्दा पदमार्गबाट मर्दि हिमालसँगै माछापुच्छ्रे, अन्नपूर्ण साउथ, टेन्ट पिक, सिंगचुली, गंगापूर्ण, गन्धर्व चुली लगाएतका हिमालहरु प्रष्ट देखिन्छन् । पदमार्गमा नै घलेल गाउँको कुदी खोलाको ४५ मिटर लामो झरनामा क्यानोनिङ्गको समेत अनुभव लिन सकिन्छ ।
हिमाली दृश्य, हिमाल आरोहण, क्यानोनिङ्ग, आदि दृश्यहरुको लागि यो स्थान उपयुक्त हुन्छ ।

कुश्मा, पर्वत
कुश्मा बजार पछिल्लो समय सर्वाधिक आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेको गन्तव्य हो । यहाँका लामा लामा झोलुङ्गे पुलहरु, यान्त्रिक पुल तथा विश्वकै दोश्रो अग्लो बन्जी जम्प यहाँका पछिल्ला प्रमुख आकर्षण बनेका छन् । यो बजार पर्वत जिल्लाको सदरमुकाम हो । गण्डकी प्रदेशमा रहेको पर्वत जिल्लालाई गण्डकीकै कास्की, बाग्लुङ्ग र स्याङ्ग्जा जिल्लाले घेरेका छन् भने लुम्बिनी प्रदेशको गुल्मी जिल्ला दक्षिण पश्चिममा पर्छ । काठमाडौँबाट २६० कि.मि. दुरीको सडकयात्राबाट कुश्मा बजार पुग्न सकिन्छ । कुश्मा बजारको पश्चिममा कालिगण्डकी र पूर्वमा मोदी नदी रहेका छन् । बजारबाट धौलागिरि, माछापुच्छ्रे र नीलगिरि हिमाल देखिन्छ ।
यस क्षेत्रका दुई अनौठा गुफाहरु गुप्तेश्वर र अलपश्वेर पनि बहुचर्चित छन् । कुश्मा नजिकैको सहस्रधारा पनि अनुपम छ । कुश्मादेखि स्याङ्ग्जाको मिर्मीसम्म कालिगण्डकी नदीमा र्याफ्टिङ्गको अनुभव पनि लिन सकिन्छ ।
बन्जी जम्पिङ्ग सहितका साहसिक खेलहरु, गुफा, अग्ला पुल, नदी, र्याफ्टिङ्ग, हाईकिङ्ग, यान्त्रिक पुल, सानो शहर, झरना, आदि दृश्यहरुको लागि यो क्षेत्र उपयुक्त छ ।

बर्दिया राष्ट्रिय निकुन्ज
बर्दिया जिल्लाका कर्णाली र बबई नदीका केही भाग समेत रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तराईका राष्ट्रिय निकुञ्जहरूमध्ये सबैभन्दा ठूलो हो । यसको क्षेत्रफल ९६८ वर्ग कि.मि. रहेको छ । जंगलको बीच बीचमा घाँसे मैदान रहेका छन् । यस क्षेत्रमा पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्ती लगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु, घडियाल गोही, मगर गोही, सोंस, विभिन्न किसिमका माछा सहितका जलचरहरू तथा ५२७ प्रजातिका रैथाने र बसाई सरी आउने चराहरू रहेका छन् ।
यहाँ हात्ती सफारी, जीप सफारी र जंगल वाल्कमार्फत पाटे बाघ सहितका जनावरहरु अवलोकन गर्न पाईन्छ । यहाँ गोही प्रजनन् केन्द्र र थारु संग्राहलय रहेका छन् । यहाँ कर्णाली र गेरुवा नदीमा र्याफ्टिङ्गको सुविधा रहेको छ भने निकुञ्जको मुख्यालय ठाकुरद्वारामा ठाकुरबाबा मन्दिर रहेको छ । यहाँका बबई र कर्णाली नदीमा फिसिङ्ग गर्न मिल्ने सुविधा पनि रहेको छ ।
बासस्थानको लागि यस क्षेत्रमा विभिन्न होमस्टेहरु रहेका छन् भने २६ वटा होटलहरु रहेका छन् । यहाँ पाहुनाहरुलाई झुमरा, लठ्ठी, मजिरा र छोकरा नाच देखाउने व्यवस्था रहेको छ । काठमाडौँदेखी ठाकुरद्वारा सडकयात्रामा ५९० कि.मि. दुरी रहेको छ ।
जंगलभित्रका दृश्य, र्याफ्टिङ्ग, जंगली जनावरहरु, फिसिङ्ग, साँस्कृतिक दृश्य, आदिको छायांकनमा यस क्षेत्र उपयुक्त हुन्छ ।

पाथिभरा मन्दिर
नेपालकै पहिलो घामको झुल्को पर्ने जिल्लाको रुपमा परिचित सुदूर पूर्वी पहाडी जिल्ला ताप्लेजुङ ३, ७९४ मिटर उचाईमा प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर रहेको छ । धार्मिक आस्था तथा पदयात्रा र प्राकृतिक सौन्दर्यमा रमाउनेहरुका लागि पाथीभरासम्मको पदयात्रामा प्राकृतिक सौन्दर्यता, दुर्लभ जीवजन्तु तथा वनस्पतीहरुले अनुपम छ । यहाँबाट विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा हिमश्रृङ्खला, कुम्भकर्ण, मकालु, काङ्वाचेन, लोत्से हिमालको दृश्यावलोकन सजिलै गर्न सकिन्छ ।
दुई सयभन्दा बढी प्रजातिका चरा, १ सय ५२ प्रजातिका फूल, २८ प्रजातिका लालीगुराँस, दुर्लभ रेडपाण्डा, चितुवा, हिमाली कालो भालुलगायत तीन दर्जनभन्दा बढी जङ्गली जनावरहरु तथा पाँचऔंले, कुड्की, जटामसी, चिराइतो जस्ता ५० भन्दा बढी प्रजातिका बहुमुल्य जडिबुटीहरु यस क्षेत्रमा पाइन्छन् ।
काठमाडौँबाट सडकमार्गको ७४३ कि.मि. यात्रा पार गरी ताप्लेजुङ्ग जिल्लाको सदरमुकाम फुङ्गलिङ पुगिन्छ । फुङ्लिङ पुगेर करिब डेढ घण्टाको पैदल यात्रापछि बास बस्ने स्थान पाथीभराको तल्लो फेदी पुगिन्छ । अर्को दिन बिहानै उठेर झण्डै चार घण्टाको पैदल यात्रा गरिसकेपछि पाथीभरा मन्दिर पुगिन्छ । हवाई मार्ग प्रयोग गर्ने हो भने बिराटनगर देखी ताप्लेजुङ्गको सुकेटार हप्ताको एक दिन उडान हुन्छ । सुकेटार देखी तल्लो फेदी, उपल्लो फेदी हुँदै पाथीभरा जान सकिन्छ भने पैदल यात्रा गर्न रुचाउनेहरुको लागि सुनसरीको धरान बाट धनकुटा-हिले हुँदै कोशी लोकमार्गमा एक सय किलोमिटर यात्रा गरी बसन्तपुर गुफापोखरी हुँदै दुई दिनको पैदल यात्रामा फुङ्गलिङ पुगिने रुट पनि रहेको छ । साथै यहाँ हेलिकप्टरबाट पनि यात्रा गर्न सकिन्छ ।
पहाडको विमानस्थल, हिउँभरिएको डाँडा, प्याराग्लाईडिङ्ग, मन्दिरको दृश्य, अग्ला डाँडाका तालहरु, हाईकिङ्गका दृश्य, आदि यस क्षेत्रमा छायांकनको लागि उपयुक्त छन् ।
