चलचित्र विकास बोर्डलाई स्वायत्तताको खाँचो छः राज कटुवाल, बोर्ड सदस्य



काठमाडौँ।
नेपाली फिल्म र फिल्म क्षेत्रका समस्या गहिराइमा बुझेका कलाकार हुन्, राज कटुवाल । अभिनयमा राम्रो सम्भावना बोकेका उनी यतिबेला नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको सदस्य छन् । फिल्म क्षेत्रका समस्या समाधान गर्ने संकल्प बोकेर बोर्ड छिरेका उनी बक्सअफिस कार्यान्वयन समितिका संयोजक पनि हुन् । उनै, कटुवालसँग ठुलोपर्दा डटकमले बोर्डका आगामी योजना र बक्सअफिस कार्यान्वयनका विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

१. चलचित्र विकास बोर्डले अबको तयारी के गरिरहेको छ ?
बोर्डमा नयाँ अध्यक्ष आउनुभएको छ, अब केही एजेन्डाहरु आउँछन् होला । उहाँले के-कस्ता एजेन्डाहरु ल्याउनुहुन्छ त्यसैको पखाईमा छौं । मेरोतर्फबाट भने केही एजेन्डाहरु प्रस्तुत गरेको छु । नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा कसरी स्थापित गर्न सकिन्छ, कसरी प्रभाव बढाउन सकिन्छ त्यसमा लगानी गरौं भनेर प्रस्ताव राखेको छु । साथै, डिजिटल प्लेटफर्मको पनि तयारी गरौं भनेर बोर्ड अध्यक्षसमक्ष भनेको छु । यो कुरामा बोर्डसँगै तालुकवाला निकाय सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय पनि सकारात्मक छ ।

२. भन्नुको मतलब बोर्डले नै ओटीटी प्लेटफर्म बनाउने हो ?
नेपाली चलचित्र अब हलमा मात्र निर्भर भएर हुँदैन, यूट्युब जस्तो निशुल्क हेर्न पाईने प्लाटफर्मले त झन् चलचित्रको व्यावसायिकतामा दिर्घकािलन असर छोड्छ । अब हामीले ओटीटीबाट फिल्म देखाउने बानी पनि बसाल्नु पर्छ । बोर्डले ओटीटी प्लेटफर्म निर्माणका लागि केही प्रतिशत रकम छुट्याएको पनि छ । अनि, मैले अर्को प्रस्ताव के राखेको छु भने विदेशमा जहाँ नेपालीहरुको ठूलो बसोबास छ त्यहाँ नेपाली फिल्मको ‘क्याम्पेनिङ’ गर्ने । त्यसमा लगानी गरौं भनेर प्रस्ताव राखेको छु । लगानी नै नगरेसम्म त प्रतिफल कसरी आउँछ ? अहिले फिल्म बोक्यो गयो अनि दुई-चार जना मान्छे बोकेर फिल्म देखाउने काम भइरहेको छ । यसलाई व्यवस्थित गर्नका लागि राज्य नै अग्रसर हुनुपर्छ । नत्र भने बोर्डमा तालाचाबी लगाएर मन्त्रालयमै शाखा राखे हुन्छ । कि त काम गर्न दिनु पर्‍यो कि त बोर्ड नै बन्द गर्नु पर्‍यो भन्ने मेरो एक सुत्रिय माग पनि हो ।

३. बोर्डले आफूले चाहेको जसरी काम गर्नका लागि स्वयत्त नभएसम्म सम्भव छ ?
छैन, तर स्वायत्त हुन पनि दिँदैनन् । अनि गर्ने के ? बोर्ड त मन्त्रालयले ठेक्का लगाएको संस्था जस्तो भएको छ । हात खुट्टा बाँधेर त काम गर्न सकिन्न नि ! हामीलाई खुल्ला छाडिदिनु पर्‍यो । बोर्डले पारित गरेका लगेका ‘प्रपोजल’हरु सरासर पास हुनुपर्‍यो । बोर्डले निर्णय गरेपछि मन्त्रालयले अध्ययन गरोस् तर पास त हुनुपर्‍यो नि । बोर्डको बैठकमा मन्त्रालयका विशिष्ट व्यक्तिहरुको पनि उपस्थिति हुन्छन् । त्यस्ता व्यक्तिहरुले गरेको निर्णय नराम्रो त हुँदैन नि । त्यो पास हुनुपर्‍यो । पास नै हुँदैन, बोर्ड स्वायत्त नै हुन दिइन्न भने सम्पूर्ण चलचित्रकर्मीहरुले मन्त्रीज्यूलाई सोध्नु पर्‍यो ।

४. ‘प्रेमगीत ३’को हिन्दी डबको विवादले ठूलै रुप लिएको थियो । खास कुरा के थियो ?
यो विषयमा विवाद गर्नुपर्ने कारण नै थिएन । बोर्ड भनेको सरकारी निकाय हो र त्यहाँ नियमअनुसार नै काम हुन्छ । ‘डकुमेन्ट’हरु क्लियर थिएन त्यसैले बोर्डले सेन्सर सिफारिस दिन सकेन । त्यो कुराहरुलाई उहाँहरुले ‘इस्यू’ बनाउनुभयो अरु केही होइन । उहाँहरुले ‘प्रेमगीत ३’ नेपाली फिल्म हो भनेर सेन्सर सिफारिस माग्न आउनुभयो, बोर्डले दियो । फिल्मको टिमलाई बोर्डले सम्मान पनि गरेकै हो । जे भए पनि हाम्रो देशको सुन्दरतालाई प्रस्तुत गरेर संसारलाई देखायो, त्यो खुसीको कुरा हो । नेपाली फिल्मका लागि ‘प्रेमगीत ३’ले अन्तर्राष्ट्रिय बजारमा ढोका खोलेकोमा सम्मान गरेका थियौं । केहीले त्यो सम्मानलाई पनि गलत रुपमा ब्याख्या गरे ।

५. बोर्डको निर्णयलाई मन्त्रालयले झापड हान्यो नि ?
त्यसलाई झापड हानेको भन्न मिल्दैन । बुझ्नु पर्ने कुरा के हो भने ‘प्रेमगीत ३’ नेपाली फिल्म हो भनेर सेन्सर सिफारिस मागियो । बोर्डले कागजात हेरेपछि सेन्सर सिफारिस दियो । कुरा रह्यो हिन्दी डबको । ‘प्रेमगीत ३’को हिन्दी डब हिन्दी फिल्म हो भनेर सेन्सर सिफारिस मागिएको थियो । बोर्डले पनि हिन्दी फिल्म नै भनेर सेन्सर सिफारिस गर्‍यो । अनि बोर्डको गल्ती कहाँ छ ? यसको जवाफ त मन्त्रालयले दिनुपर्छ । मन्त्रालयले हिन्दी डबलाई नेपाली सेवा सुविधाअनुसार कसरी र किन अनुमति दियो, त्यसको जवाफ मन्त्रालयसँग नै होला ।

६. तपाईं बोर्ड मातहतको बक्सअफिस कार्यान्वयन समितिको संयोजक पनि हुनुहुन्छ । तर, बक्सअफिस नाम मात्रको भयो भन्ने आरोप छ नि ?
त्यस्तो हुदै होइन । हाल बक्सअफिसले कति प्रभाव पारेको छ भन्ने कुरा निर्मातालाई जानकारी छ । बक्सअफिस लागु हुनु नै सर्वप्रथम हाम्रो सफलता मान्नुपर्छ । तपाईंलाई थाहै छ, पहिला चुरोटको खोलमा निर्माताले आफ्नो फिल्मको हिसाब पाउँथे । आजको मितिमा निर्माताहरु यो कुराबाट मुक्त भए । अब हामीले रियल टाईम बक्स अफिसको तयारीमा छौँ । हाल केहि ढिला रिपोर्ट आउने गरेको छ । अब नयाँ प्रविधि जडान गरी त्यसलाई फत्ते गर्नुपर्छ ।

७. वितरकले निर्मातालाई दिने रिपोर्ट र बक्सअफिस कार्यालयले उपलब्ध गराउने रिपोर्टमा आकाश-जमिनको फरक भयो भन्छन् नि ?
तपाईंले भनेको जस्तो फरक हुँदैन । २५ देखि ५० लाखसम्मको फरक हुन सक्छ । मलाई कति मिडियाकर्मीले फिल्मको कलेक्सन रिपोर्ट माग्नु हुन्छ, म भन्दिन्छु । किनकि, हरेक नागरिकलाई सूचनाको हक हुन्छ । लुकाउनका लागि बनाएको भए बक्सअफिसको के काम ? सबैले थाहा पाउनुपर्छ । यदि कलेक्सन रिपोर्टमा फरक आउँछ भने जिम्मेवार व्यक्तिले प्रश्न गर्नुपर्‍यो । फरक आएको छ भने हल व्यवसायी, बोर्ड अध्यक्ष, वितरक, निर्माता सबैसँग बसेर सल्टाउनु पर्छ ।

८. बक्सअफिस कार्यान्वयन सिंगल थिएटरमा चाहिँ चुनौती बनेको हो ?
चुनौती नै चाहिँ होइन । प्राविधिक कुराहरुले गर्दा पनि होला । त्यसका लागि बोर्डले पनि उच्च स्तरीय प्राविधिक टोली निकाल्न सक्नुपर्छ । बक्सअफिसको ‘सफ्वयेर’ उच्च स्तरीय बनाउँदै लैजानु पर्छ । बक्सअफिस जोडेनन् भने सिडिओ कार्यालयमार्फत् हल बन्द गर्ने अधिकार बोर्डसँग छ ।

९. निर्माता र वितरकले मिडियालाई उपलब्ध गराउने फिल्मको कलेक्सन रिपोर्ट हेर्दा वा सुन्दा हाँसो उठ्छ होला है ?
साँचिक्कै हाँसो नै उठ्छ । बक्सअफिसमा एउटा रिपोर्ट हुन्छ अनि मिडियामा अर्को रिपोर्ट आएको हुन्छ । २ करोड कमायो भने ५ करोड भन्दिन्छन् । त्यो भनेर फिल्म चल्ने पनि होइन । गलत डाटा दिनु हुँदैन । म निर्माताहरुलाई के आग्रह गर्छु भने वितरकले दिने रिपोर्टसँग बक्सअफिस कार्यालयको रिपोर्ट मिलेन भने प्रश्न गर्न जानुहोला । त्यो भयो भने राज्य पनि तातिएला । सबै तै चुप मै चुप हुने हो भने समस्या नै बुझ्न सकिन्न ।

राज कटुवाल

चलचित्र विकास बोर्डलाई स्वायत्तताको खाँचो छ । केही गर्नै पाइन्न भने गएर मात्र के गर्नु ? आफ्नै घरपरिवारसँग झगडा गरेर बस्नुभन्दा बोर्डमै नगएको ठिक । केही अधिकारसहितको काम गर्न पाए पो मज्जा आउँछ । बोर्ड स्वायत्त भएछ भने चाहिँ विचार गरौंला ।

– राज कटुवाल

१०. अब तपाईंको फिल्म करिअरतिर फर्कौं । लकडाउनको समयमा तपाईंको मुख्य भूमिका रहने गरी फिल्म ‘राजा’ घोषणा भएको थियो । त्यो अहिले कहाँ पुग्यो ?
लकडाउनको समयमा स्क्रिप्ट लेखियो । एक चरण स्क्रिप्ट लेखियो तर निर्देशक सुदर्शन थापा र मलाई मन परेन । त्यसपछि दोस्रो चरण स्क्रिप्ट लेखियो त्यो पनि मन परेन । अहिले तेस्रो चरणमा दीवाकर भट्टराईले स्क्रिप्ट लेखिरहनुभएको छ । तेस्रो चरणको स्क्रिप्ट कस्तो हुन्छ थाहा छैन । यद्यपि, आशावादी छौं । सबै कुरा मिल्दै गएको खण्डमा फागुनबाट छायांकनमा जान सक्छौं ।

११. ‘राजा’बाट तपाईंको फिल्ममा नयाँ जन्म हुन्छ ?
हुनुपर्ने हो । चाहना पनि त्यही हो । र, यसका लागि मेहेनत पनि गर्छु ।

१२. राज कटुवाललाई एउटा जबर्जस्त फिल्मको आवश्कयता छ भन्छन् नि ?
त्यो त सत्य हो । मैले पनि त्यस्तै फिल्म गर्न खोजेको हो । सायद अहिले त्यो समय आएको हो कि । मेरो इच्छा पनि राम्रो गर्ने नै हो । अभिनयसँगै मलाई फिल्म निर्माण गर्ने पनि इच्छा हो । त्यसैले ‘राजा’ मेरै होम प्रोडक्सनबाट बन्छ । लगानीमा पशुराम बस्नेत, दीपेन्द्र अग्रवाल, नरेन्द्र महर्जनले साथ दिनुभएको छ । निर्मातामा अरु पनि जोडिनु हुन्छ । म राम्रो टिम जुटाएर राम्रो फिल्म बनाउन चाहन्छु ।

निर्देशक सुदर्शन थापा र राज कटुवाल

१३. तपाईं आफ्नो करिअरलाई फर्केर हेर्दा कसरी लिनुहुन्छ ?
मैले फिल्ममै आउनका लागि अन्य कुरामा बढी समय खर्चेर कि जस्तो लाग्छ । जुन कुरा मलाई धेरै मन पर्थ्यो त्यसमा चाहिँ मैले धेरै समय दिइनँ कि भन्ने लाग्छ । यही कुरा महसुस भएकै कारण अब फिल्ममै केन्द्रित हुन्छ भन्ने निर्णयमा पुगेको छु ।

१४. तपाईंलाई एमालेको ट्याग लागेको छ । एमाले सरकारमा फर्कियो भने बोर्ड अध्यक्षमा फड्को मार्ने कुनै योजना छ ?
ट्याग भन्दा पनि म कलाकार हुँ । तर, धर्म छाड्नु हुँदैन कि मलाई बोर्ड सदस्यमा एमाले सरकार रहँदा नियुक्त गरेको हो । अहिले चाहिँ म फिल्म बनाउने र अभिनय गर्नमै केन्द्रित हुनेछ । चलचित्र विकास बोर्डलाई स्वायत्तताको खाँचो छ । केही गर्नै पाइन्न भने गएर मात्र के गर्नु ? आफ्नै घरपरिवारसँग झगडा गरेर बस्नुभन्दा बोर्डमै नगएको ठिक । केही अधिकारसहितको काम गर्न पाए पो मज्जा आउँछ । बोर्ड स्वायत्त भएछ भने चाहिँ विचार गरौंला ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu