युद्धको सिपाही जस्तै हो प्रोडक्सन डिजाइनर : शशांक गौतम



हामी सबैले सम्भवतः स्वदेशी होस् वा विदेशी चलचित्र हेरेका छौं । कोही चलचित्रको पारखी पनि छौं होला । चलचित्र हेर्दा हामी पर्दामा देखिने पात्रहरुको मात्र मिहिनेत देख्छौं । तर, नेपथ्य अर्थात् पर्दा पछाडि बसेर काम गर्नेहरुको मिहिनेत कलाकारहरुको भन्दा बढी हुन्छ । तर, उनीहरुको खासै चर्चा हुँदैन । नेपथ्यमा बसेर चलचित्रलाई अब्बल बनाउन मिहिनेत गर्ने हातहरुमध्ये प्रोडक्सन डिजाइनर पनि एक हो ।

सुटिङस्थलको व्यवस्था गर्ने, कलाकारहरूलाई स्पटसम्म ल्याउने, पुर्‍याउने, सुटिङ, गीत रेकर्ड, डबिङ गराउने, भान्छा र खानेकुराको व्यवस्था मिलाउने, सुटिङ सेड्युल मिलाउने, निर्मातादेखि निर्देशकसम्म वा सम्पूर्ण कलाकार र प्राविधिक जुटाई उनीहरूलाई सघाउनेदेखि व्यवस्थापन गर्नेसम्मको काम प्रोडक्सन डिजाइनरको जिम्मेवारी हुने गर्दछ ।

यही विधालाई कर्म बनाएका छन्, शशांक गौतमले । उनले धेरै नेपाली चलचित्रमा प्रोडक्सन डिजाइनरको रुपमा इमानदारीतापूर्वक काम गरेर मेकरहरुको विश्वास जितेका छन् । उनी प्रोडक्सन डिजाइनरलाई युद्धको सिपाहीको संज्ञा दिन्छन् । उनी भन्छन्, ‘युद्धमा गएको सिपाही हरेकखाले परिस्थितिका लागि तयार हुनुपर्छ । प्रोडक्सन डिजाइनरको पेशा पनि ठीक यही हो ।’ प्रोडक्सन डिजाइनर सचेत भएन भने निर्देशकले सोचेको जस्तो कुरा निस्कन नसक्ने उनको बुझाई छ । भनेजस्तो प्रस्तुति दर्शकमाझ आउन प्रोडक्सन डिजाइनरको ठूलो हात रहने उनी बताउँछन् ।

उनी भन्छन्, ‘चलचित्र निर्माणमा निर्माता, निर्देशक, छायांकार जतिक्कै महत्त्वपूर्ण काम प्रोडक्सन डिजाइनको हुन्छ । स्क्रिप्ट लेखनको बेलादेखि चलचित्र प्रदर्शन हुँदासम्म प्रोडक्सन डिजाइनरको भूमिका रहन्छ । हरेक क्षण चुनौतीसँग लड्नु पर्छ । त्यसमाथि नेपाली चलचित्र सानो बजेटमा बन्छन् । तर, बजारमा हरेक कुरा महंगा छन् । निर्माताले दिएको बजेटमा बसेर काम गर्नुपर्दा प्रोडक्सन डिजाइनरलाई ठूलै युद्ध लडेबराबर हुन्छ ।’

शशांकलाई कला र मनोरञ्जन क्षेत्रप्रतिको आकर्षण सानैदेखिको हो । उनी सम्झन्छन्, ‘बाल्यकालमा मेरो साथी भनेकै टेलिभिजन थियो । पढ्नेबाहेकको समयमा म टेलिभिजनमा आउने चलचित्रहरु हेर्थेँ । हलमा लाग्ने नयाँ चलचित्र हेर्नु मेरो नियमित काम झैं बनेको थियो । त्यसबेलादेखि नै मेरो मानसपटलमा चलचित्र कसरी र कहाँ खिचिन्छ अनि कसरी तयार हुन्छ भन्ने कौतुहलता जागेको थियो ।’

काठमाडौंको मिनभवन कमर्स क्याम्पसबाट विविएसको अध्ययन सकेका गौतमलाई कक्षा १२ को पढाईं सकिँनै लाग्दा प्रोडक्सन डिजाइनर बन्ने सौख बढेको थियो । करिब ८ वर्षअघिबाट व्यावसायिक रूपमा चलचित्रमा समर्पित भएका उनले ‘छल’, ‘माया बस्छ कि के हो ?’ र ‘थर्ड आई’ लगायतका छोटो चलचित्रहरुमा प्रोडक्सन डिजाइनरको रुपमा काम गरिसकेका छन् । यीमध्ये ‘थर्ड आई’ले विभिन्न राष्ट्रिय अवार्डहरु समेत जितिसकेको शशांक गौतम बताउछन् ।

सानैबाट हक्की स्वभाव र पृथक शैलीका शशांकको जन्म २०५२ भदौ ७ गते शिवप्रसाद गौतम र सुनिता गौतमका २ छोरामध्ये कान्छो सन्तानको रूपमा काठमाडौंको मीनभवनमा भएको हो ।
शशांकले नेपाली मात्र नभइ भोजपुरी चलचित्रहरु ‘प्रेमगीत २’, ‘जय शम्भु’, ‘वन म्यान आर्मी’मा पनि प्रोडक्सन डिजाइनरको रुपमा काम गरेका छन् । यतिबेला उनको पाइपलाइनमा भोजपुरी चलचित्र ‘सुधा लभ’ र ‘नमस्ते लन्डन’ छन् । उक्त भोजपुरी चलचित्र यूकेमा छायांकन हुने तयारीमा छ । ‘ब्ल्याक बक्स’ भन्ने नेपाली छोटो चलचित्रको लोकेशन हेर्न र ‘थर्ड आई’ चलचित्रको प्रदर्शनको सिलसिलामा फेब्रअरी २०२३ को पहिलो साता निर्देशक आशुतोष अधिकारी र शशांक गौतम बेल्जियम तथा युरोपका विभिन्न सहरहरुको भ्रमण गर्दैछन् ।

साथै, मुकुन्द भट्ट निर्देशित ‘एक्स ९’ नामक नेपाली चलचित्रमा पनि शशांक प्रोडक्सन डिजाइनरको रुपमा अनुबन्धित भइसकेका छन् भने उक्त चलचित २०२३ को अप्रिलबाट क्यानडाको विभिन्न सहरहरुमा छायांकन हुँदैछ । शशांक प्रोडक्सन डिजाइनरको रुपमा काम गर्दा आफूलाई सन्तुष्टि मिल्ने बताउँछन् । र, यही पेशामा आफ्नो जीवन समर्पित गर्ने उनको संकल्प छ । आगामी वर्ष अमेरिकाको न्युयोर्कमा रहेको न्युयोर्क फिल्म एकेडेमीबाट ‘ब्याचलर अफ फाइन आर्ट’ (विएफए) मा डिप्लोमा गर्ने सोचमा गौतम छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu