सङ्गीतकार सुरेश अधिकारीका गीत रेडियोमा प्रतिबन्ध, कारण के हो ?



काठमाडौँ।
नेपालमा सञ्चालित निजी तथा सामुदायिक एफ.एम. रेडियो सञ्चालकहरूका तीनवटा संस्थाले सङ्गीतकार सुरेश अधिकारीका गीतहरूलाई प्रतिबन्ध लगाएका छन् । नेपालका स्वतन्त्र रेडियो सम्वद्ध छाता सङ्गगठनहरू रेडियो ब्रोडकाष्टर्स फोरम (आरबिएफ), ब्रोडकाष्टिङ्ग एसोशियशन अफ नेपाल (बान)र सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोर्‍याब)ले बिहिवार संयुक्त विज्ञप्ती जारी गर्दै अधिकारीका सम्पूर्ण सांगीतिक कृतिहरू रेडियोबाट प्रसारण गर्न नसकिने जनाईएको छ ।

आरबिएफका अध्यक्ष आर.के. श्रेष्ठ, बानका अध्यक्ष कुमार भट्टराई र अकोर्‍याबका अध्यक्ष अर्जुन गिरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, “नेपालका स्वतन्त्र रेडियोका सञ्चालक तथा सम्वद्ध सङ्घ संस्थालाई लक्षित गरी सुरेश अधिकारीको नामबाट सञ्चालित फेसबुक एकाउन्ट मार्फत आएको अत्यन्त अमर्यादित गाली गलौच, मानमर्दन र भ्रम श्रृजना गर्ने आशयसहितको अभिव्यक्तिप्रति हाम्रो गम्भिर ध्याकार्षण भएको छ । नेपाली सङ्गीत क्षेत्रका एकजना सर्जकका रूपमा सामाजिक पहिचान बनाएका व्यक्तिबाटै यसप्रकारको तुच्छ र अमर्यादित अभिव्यक्ति सार्वजनिक हुनु कुनै अर्थमा पनि सभ्य समाजमा सुहाउँदो कुरा हुनै सक्दैन । यस्तो अभिव्यक्तिले समग्र नेपाली सङ्गीत क्षेत्रकै गरिमा घटाउने मात्रै होइन सञ्चार माध्यमसितको सम्बन्धमा समेत दुरी बढाउने कार्य गरेको छ ।” विज्ञप्तीमा नेपाल सरकारसँग रेडियोका सामानमसेत उठाउने धम्की आएको भन्दै आम सञ्चारगृहको सुरक्षाको माग समेत गरिएको छ ।

हेर्नुहोस् पुरा विज्ञप्तीः

भएको के हो ?
चार दिन अगाडी सङ्गीत रोयल्टी संकलन समाजमा अध्यक्ष सुरेश अधिकारीले रोयल्टी नतिर्ने निकायविरुद्ध कानुनी उपचार खोज्ने आशयको फेसबुक स्टाटस पोस्ट गरेका थिए ।

उनले लेखेका थिए, “रेडियोका सङ्घ संस्थाका टाउके भनाउदा केहि लाउकेहरु रोयल्टीलाई अपारदर्शी भयो भन्दैछन् । म भन्दैछु,आजसम्म बिना रोयल्टी श्रष्टाहरुको सम्पत्तीमा तिमिहरुले मच्चाएको लुटमार कायमै राख्न तिमीहरुले गरेका प्रपञ्चका खिच्चा राजनितिलाई हामी चुनौती दिन चाहान्छौँ । खिच्चा आरोपको राजनितिमा नरमाउ, यथार्थको धरातलमा टेक्ने हिम्मत गर ! कोहि एकजना स्रष्टा ल्याउ जो यो भन्न सकोस कि मैले आफ्ना सिर्जनाको सार्वजनिक प्रयोग भए बापत रोयल्टी पाउन सदस्यता लिएको छु, तर रोयल्टी आएको ठाउँबाट मैले रोयल्टी पाएको छैन । तोरीहरु तिमीहरु जस्तो फुलको माला लगाएर मञ्चमा आसन ग्रहण गर्न मात्रै हामी यो कठिन अभियानमा आएका हैनौँ । हामीले तिमीहरु जस्ता हजारौँ खाले लुटेरा लाउकेहरुसँग लडेर रोयल्टी ल्याएका छौँ र त्यसलाई वास्तविक हकदार स्रष्टा सम्म पुर्‍याएका छौँ र मात्र यो रोयल्टी अभियानलाई यहाँसम्म ल्याइपुर्‍याका छौँ । श्रष्टाको बौध्दिक सम्पत्ती बिनारोयल्टी आफ्नो रेडियोमा बजाएर स्रष्टा मार्ने तिमिहरु हौ लाउके हो । सङ्गीत रोयल्टी संकलन समाज स्रष्टाको हितको लागि खुलेको हो, स्रष्टा मार्न हैन । अब तिमीहरुसङ्गको लडाई नयाँ बाटोमा जान्छ । नसोच कोही छैन स्रष्टाको लागि लड्ने भनेर ।”

पोस्ट हेर्नुहोस्ः

अधिकारीको यो अभिव्यक्तिप्रति आपत्ती जनाउँदै रेडियोहरूले उनका कृतिहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् । यो निर्णयसँगै अन्य सङ्गीतकर्मीहरू रेडियोहरूको विरुद्ध जाने सङ्केत देखिएको छ । सङ्गीतकार तथा गीतकार दीपक शर्माले आफुले गीत बजाउन अनुरोध गर्न जाँदा धेरै रेडियोहरूले ‘यो गीत बजेबापत कुनै रोयल्टी दाबी गर्नेछैन’ भनेर सम्झौता गराउने गरेको जनाउँदै अब ति सम्झौताहरू रद्द हुनुपर्ने बताएका छन् ।

गीतकार बिपिन किरणले अब श्रष्टाहरू चुप लागेर नबस्ने बताउँदै अन्तिम लडाईंको तयारी गर्ने बताएका छन् । गीतकार तथा पत्रकार दयाराम पाण्डेले मिडिया हाउसहरू रोयल्टीको दायरामा नआउन्जेल सम्पूर्ण स्रष्टाहरुका गीत/सङ्गीत प्रसारणमा रोक लगाउने निर्णय गर्न नेपाल सङ्गीतकार सङ्घका अध्यक्ष चेतन सापकोटालाई अनुरोध गरेका छन् । अध्यक्ष सापकोटाले रेडियो सञ्चालकहरू मिटर ब्याजी भागेझै भाग्न बाध्य हुने जनाउँदै सर्जकहरुलाई बर्षौं देखी शोषण गरेको ब्याजसहित तिर्नुपर्ने नभए कारबाही हुने बताएका छन् ।

विज्ञप्तीपछि अधिकारीको ‘रियाक्शन’: ‘सिपाही सहिद हुन्छ, मैदान छोड्दैन’
रेडियो सञ्चालकहरूको विज्ञप्ती पश्चात सङ्गीतकार अधिकारीले आफुसँग जोडिएका गीत सङ्गीतलाई निषेध गरिनु काइते आशयको लज्जास्पद, जङ्गली भनेका छन् । फेसबुकमा पोस्ट लेख्दै उनले प्रतिलिपी अधिकार ऐन २०५९ को दफा ११ बमोजिम उत्पादकहरुको लगानीको मनासिव भुक्तानी गरेर लिनुपर्ने अन्यथा सोही ऐनको दफा ३९ ले व्यवस्था गरेको निकायमा गएर सोही ऐनको नियमावली २०६१ को नियम १० ले दिएको अधिकार प्रयोग गरी सो निकायले तोके बमोजिमको मापदण्ड अनुरुप रोयल्टी तिर्नुपर्ने बताएका छन् । उनले सर्जकको सम्पत्ति कुनै धम्की, दादागिरी वा शक्तिको आडमा लुट्न नदिने बताउँदै उनले लेखेका छन्, “सिपाही सहिद हुन्छ, मैदान छोड्दैन ।”

पोस्ट हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu