हेटौडामा चलचित्र पत्रकार संघको प्रथम राष्ट्रिय भेला



हेटौडा। चलचित्र पत्रकार संघ नेपालको केन्द्रीय कार्यसमितिको आयोजना तथा मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौंडामा
संघको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला भैरहेको छ ।

आइतबारबाट सुरु चार दिवसीय कार्यक्रमको शुभारम्भ गर्दै हेटौडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले नेपालमा व्यावसायिक रुपमा चलचित्र पत्रकारिता फस्टाइरहेको देख्दा खुशी लागेको बताइन् । उनले हेटौडालाई छनोट गरेर राष्ट्रिय भेला र चलचित्र पत्रकारिता कार्यशाला आयोजना गरेकोमा आभार व्यक्त गरिन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा चलचित्र र चलचित्र पत्रकारिताको सम्बन्ध अभिन्न रहेको भन्दै आगामी दिनमा यो सम्बन्धलाई अझ मजबुत बनाएर लैजानमा जोड दिए । चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीले देशभरका चलचित्र पत्रकारलाई चलचित्र र चलचित्र पत्रकारिताको वर्तमान अवस्थासँगै चलचित्र पर्यटन, विज्ञापन, बजारीकरणलगायतका विषयमा जानकारी दिन अन्तर्क्रिया तथा कार्यशाला गरिएको बताए ।

आइतवार चलचित्र पत्रकार संघ नेपालका पूर्व अध्यक्ष शान्तिप्रियले नेपालमा चलचित्र पत्रकारिताको विगत र वर्तमानको अवस्थालाई कार्यपत्रमा प्रस्तुत गरेका थिए । कार्यपत्रमा चलचित्र पत्रकारिताको पृष्ठभूमि, प्रारब्ध, रंग पत्रकारिताको वर्तमान अवस्था (पत्रपत्रिका, रेडियो/एफएम, टेलिभिजन, अनलाइन\डिजिटल युग), चलचित्र पत्रकारिताको उद्देश्य र प्रभाव (चलचित्र पत्रकारिता र व्यावसायिक सम्बन्ध) विषयलाई समेटिएको छ ।

त्यस्तै कार्यपत्रमा चलचित्र पत्रकारिताको विद्यमान अवस्था), चलचित्र पत्रकारिताका चुनौती, चलचित्र पत्रकारितामा आकर्षण कि विकर्षण ?, चलचित्र पत्रकार संघको इतिहास र वर्तमान अवस्था र कार्यदिशालाई पनि उल्लेख गरिएको छ ।

कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले मिडिया हाउसले बिट पत्रकारिताका रुपमा चलचित्र पत्रकारितालाई स्वीकार्नु स्वागत योग्य भएको बतँए । उनले शान्तिप्रियले कार्यपत्रमा उल्लेख गरे जस्तो प्रिन्ट पत्रकारिताको अवसान भएको कुरा गलत भएको भन्दै त्यसलाई ‘डिजिटल रुपान्तरण’का रुपमा राख्न सुझाव दिए । ‘हाम्रो मिडिया अहिले फेसबुक, युट्युब तथा डिजिटल प्लेटफर्ममा गइसकेका छन् । त्यसकारण अहिले नै प्रिन्ट पत्रकारिताको अवसान भन्नु अलिक हतारो भयो कि ?’ उनले भने ।

बलले चलचित्र पत्रकारितामा व्यावसायिकता भनेको क्षमता अभिवृद्धिका रुपमा आफूले बुझेको बताए । ‘उहाँले चलचित्र पत्रकारितामा व्यावसायिकताको सवालमा विशेषत फाइदा र आर्थिक कुरालाई जोड दिनुभएको छ । तर मेरो बुझाईमा व्यावसायिकता भनेको क्षमता अभिवृद्धि हो । उहाँले कार्यपत्रमा यो कुरालाई अझ प्रष्ट खुलाइदिनुभएको भए राम्रो हुन्थ्यो’, उनले भने ।

त्यस्तै बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले ‘चलचित्र ऐन’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्रमा छलफल गर्दै निर्माता तथा निर्देशक आकाश अधिकारीले कार्यपत्रमा प्रदेशको कथा विषयवस्तुलाई प्राथमिकता दिएजस्तै नेपालका कथालाई विषयवस्तुलाई पनि समेट्न सकेमा राम्रो हुने सुझाव दिए । उनले रोल्पा, डोल्पामा छायांकन हुने फिल्महरु बागमती प्रदेशमा सुटिङ गर्न आए भने पनि त्यसलाई सहुलियतको व्यवस्था हुनुपर्ने माग गरे ।

नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले बनिसकेका फिल्म प्रदर्शनलाई सापकोटाले आफ्नो कार्यपत्रमा प्रस्तुत नगरेकोमा गुनासो गरे । उनले फिल्मको बजारको कुरा छुटेको र फिल्म हल सञ्चालनको विषयमा स्थान नदिएको बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले प्रदेश र संघीय सरकारले बनाउने चलचित्र ऐन एकापसमा बाझ्ने किसिमको नहुनुपर्ने तर्क राखे । राष्ट्रिय भेलामा पत्रकार ध्रुव लम्सालले ‘नेपाली चलचित्र उद्योगको अवस्थाः हिजो आज र भोलि’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि टिप्पणी गर्दै पत्रकार विदुर गिरीले कार्यपत्र नभई टिपोट मात्र भएको बताए । उनले कार्यपत्रमा धेरै कुरा छुटेकाले कार्यपत्रमा मेहनत नदेखिएको उल्लेख गरे ।
प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले फिल्म पर्यटनका बारेमा धेरै कुराकानी भए पनि यो विषयमा गहन छलफल हुनुपर्ने बताए । उनले चलचित्र पत्रकारिता धेरै पढिने विधा भएकाले यसलाई ठट्टाको रुपमा नलिन आग्रह गरे । ‘अब कन्टेन्टको विषयमा ध्यान दिनुपर्छ । चलचित्र पत्रकारितामार्फत चलचित्रको आयाम फेर्ने समय आएको छ । त्यसकारण चलचित्रका कन्टेन्ट लेख्दा यसको प्याटर्न चेन्ज गरौं । मर्यादित, विश्वसनीय र स्तरीय कन्टेन्ट बनाउनतिर ध्यन दिऔं’, उनले भने ।

‘चलचित्र पत्रकारिता र आचारसंहिता’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै फूलमान बलले चलचित्र पत्रकारिता गर्नेलाई चलचित्रबारे ज्ञाने हुनुपर्ने सुझाव दिए । ‘अहिले रहरमा आउने, बुम, क्यामरा बोकेर पत्रकारिता गर्नेलाई आचारसंहिताको केही थाहा छैन । भ्यूज पत्रकारिता बढ्यो’, फूलमानले गुनासो गरे ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले ‘क्लिन फिड र अनलाइन बजार व्यवस्थापन’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

आइतवार नै चलचित्र पत्रकार संघ नेपालको विधान सभा समेत सम्पन्न भएको छ । सोमवार चलचित्र जाँच, सिनेमा पर्यटन तथा बजारीकरणका विषय सहित पत्रकारिता कार्यशाला लगायतका कार्यक्रम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu