
हेटौडा।
अभिनेत्री स्वस्तिमा खड्काले आफू निर्माताका रूपमा आउँदा बजारको विषयलाई नजिकबाट बुझेको बताएकी छन् । चलचित्र पत्रकार सङ्घ नेपालले मकवानपुरको हेटौडामा आयोजना गरेको राष्ट्रिय भेलामा आयोजित ‘सिनेमा बजार’ विषयमा अन्तरसवांद गर्दै उनले चलचित्र ‘दिमाग खराब’को प्रदर्शनको समयमा निर्माताको दुःख थाहा पाएको बताइन् ।
‘पहिला अभिनेत्रीकै रूपमा काम गर्दा म मेरो पारिश्रमिक लिएर त्यही अनुसार अभिनय गर्थेँ । अब निर्माताका रूपमा आउँदै छु । चलचित्र निर्माणका विषयमा मेरो एक जना साथीसँग आर्थिक पाटोको कुरा गर्दा निर्मातालाई पैसा उठाउन गाह्रो हुने गरेको थाहा पाएँ’, स्वस्तिमाले भनिन्, ‘चलचित्र ‘दिमाग खराब’को प्रदर्शनकै समयमा निर्माताको दुःख थाहा पाएँ । चलचित्रको बजारको कुरा गर्ने हो भने मैले पनि पारिश्रमिक लिँदा गर्व गर्ने अवस्था छैन ।’
पत्रकार सुब्रतराज आचार्यले सहजीकरण गरेको अन्तरसंवादमा स्वस्तिमासँगै नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जन, चलचित्र विकास बोर्डका सदस्य राजु केसी र हाइलाइट्स नेपालका प्रबन्ध निर्देशक जनक तामाङ वक्ता थिए ।
चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले आफूहरू पनि नेपाली चलचित्रको बजारको खोजीमा रहेको बताए । उनले चलचित्र भवनको सङ्ख्या घटेसँगै त्यसको चलचित्रको बजार र व्यापार पनि घट्दै गएको दाबी गरे । ‘४ सय ५० बाट हलको सङ्ख्या १ सय ५० मा झरिसकेको छ । जबकि अहिले चलचित्र निर्माणको सङ्ख्या १ सयको हाराहारीमा छ । तराईमा हल छ, तर बजार शून्य छ । यो अवस्था कसरी आयो हामीले समीक्षा गर्नुपर्ने बेला भइसकेको छ’, उनले भने, ‘हामी अहिले निराश छौँ । सिङ्गल थिएटर हराउने अवस्था आइसकेको छ । दर्शकहरू राम्रो हिन्दी र नेपाली चलचित्र आउँछन् कि भनेर कुरेर बसिरहेका छन् ।’ महर्जनले आफूहरू सरकारलाई ‘कर’ तिर्न सधैँ तयार रहे पनि सरकारबाट त्यसको सट्टा के पाउन सकिन्छ ? भनेर प्रश्न गरे ।
चलचित्र विकास बोर्डका सदस्य राजु केसीले नेपाली चलचित्रले पाँच दशकको यात्रा गरिरहँदा बजार कति खोज्न सकियो ? भन्दै प्रश्न गरे । ‘धेरै टाढा नजाऊँ, नजिकै विश्वकै दोस्रो ठुलो चलचित्र बजार बलिउड छ । तर पनि त्यहाँ हामीले बजार खोज्ने प्रयास गरेका छैनौँ’, उनले भने, ‘अर्को कुरा हामीले चलचित्र संस्कारको विकास गर्न सकेनौँ । यसतर्फ राज्यको ध्यान जान जरुरी छ ।’
हाइलाइट्स नेपालका प्रबन्ध निर्देशक जनक तामाङले नेपाली बजारमा ओटिटी प्लेटफर्मको माहौल नभएको जिकिरे गरे । उनले नेट्फ्क्लिसले भर्खरै मात्र नेपाली बजारमा आफूलाई भित्र्याएको उल्लेख गर्दै त्यसको प्रयोगका विषयमा अधिकांश जानकार नरहेको दाबी गरे ।