टिप्पणी: सिंहदरबारले हेर्नुपर्छ नाटक ‘रिफन्ड’



काठमाडौं। गत शनिवारदेखि काठमाडौंको सुकेधारास्थित अस्कर इन्टरनेशनल कलेजको थिएटरमा एक हप्ताको लागि हरेक दिन साँझ ५ बजे नाटक ‘रिफन्ड’ मञ्चन भइरहेको छ । जीवन बस्नेतले निर्देशन गरेको ‘रिफन्ड’मा अस्कर कलेजका १५औँ र १६औँ ब्याचका अभिनय विषय अध्ययनरत विद्यार्थीहरूको अभिनय रहेको छ ।

प्रसिद्ध हंगेरियन लेखक फ्रिट्ज करिन्थीले लेखेको यो नाटकलाई नेपालीमा रूपान्तरण गरी मञ्चन गरिएको हो । यसको नेपाली अनुवाद प्रजल दुलालले गरेका छन् ।यो नाटक कक्षा ११ को अनिवार्य अङ्ग्रेजी विषयको पुस्तकमा रहेको छ । यो नाटक डान्स फिवरले निर्माण र अस्कर इन्टरनेशनल कलेजले सह निर्माण गरी मञ्चन गरेको हो । राष्ट्रिय चलचित्र अवार्ड विजेता कलाकार निर्माता सङ्गम बिस्ट हुन् । यसमा झलनाथ खत्री, जीवन बस्नेत, विशाल रिजाल , ईशा सिजाली, योगेन्द्रराज राणा, निक्रित श्रेष्ठ, युदीप सिटौला र अमृत घिमिरेले अभिनय गरेका छन् ।

टिप्पणी:
‘रिफन्ड’ फ्रिट्ज करिन्थीको नाटक हो जसले आधुनिक शिक्षा प्रणालीलाई व्यङ्ग्य गर्दछ । नेपाली परिवेश अनुसार रूपान्तरितत यो नाटकले बाबुराम पात्रको कथालाई पछ्याउँछ । बाबुराम त्यो व्यक्ति हो जसले आफ्नो पुरानो विद्यालयबाट त्यहाँ दश वर्ष पढ्दा लागेको सम्पूर्ण शुल्कको ब्याजसहित फिर्ताको माग गर्दछ । उसले सो विद्यालयमा आफ्नो रुचि बेगरको शिक्षा जबरजस्ती लादेको कारण आफू विद्यालयको उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी भएता पनि बेरोजगार रहनु परेको भन्दै शुल्क फिर्ता माग्न विद्यालय पुग्छ ।

एक घण्टा लामो यो नाटक नेपालको परिवेश अनुकूल परिमार्जन गरिएको छ । यद्यपि यसको मूल मुद्दा भनेको शिक्षाको नाममा हुने व्यापार र विद्यार्थीको रुचि विपरीतको शिक्षा नै हो । यस नाटकमा रहेका कलाकारहरूले जीवन्त अभिनय गरेका छन् । बाबुराम पात्रमा अभिनय गर्ने कलाकार झलनाथ खत्रीले अभिनयको हद पार गरेका छन् । व्यङ्ग्यात्मक रूपमा अघि बढेको नाटकको अन्त्यमा खत्रीले दर्शकलाई भावुक बनाउँछन् । दर्शकलाई पटक पटक आफ्नै कथा व्यथा आफ्नो अगाडी आइरहेको महसुस हुन्छ ।

नाटक सकेर हलबाट बाहिरिने क्रममा देखिने दृश्यले त दर्शक थप भावुक बन्छन् । निस्कँदै गर्दा ढोकाको सामुन्ने आँखामा कालो पट्टी बाँधेर विद्यालय टपरको कार्ड भिरी पिँजडामा थुनिएको बाबुराम देख्दा दर्शकको भक्कानो फुट्छ ।

समग्रमा यो नाटकले हेर्दा आफ्नै कथा हेरेको महसुस हुन्छ । जुन यस नाटकको सबल पक्ष हो । एउटै कलाकारको भेस बदलेर आउँदा कलाकारको कमी महसुस हुन्छ । जुन अर्को चरणको मञ्चनमा सुधार गर्नु आवश्यक छ । यद्यपि विद्यार्थीहरूले पहिलो पटक मञ्चन गरेको यो नाटक उत्कृष्ट छ ।

तोते बोली नफुट्दै आफ्नै जति तौलको झोला बोकेर विद्यालय धाउनु पर्ने बाध्यताका साना साना बच्चाहरूको भविष्य शिक्षा सेवाको नाममा खोलिएका दुकानहरूले कता लगिरहेको छ ? के हामीले सैद्धान्तिक ज्ञान मात्र घोकाएर विद्यार्थीहरूलाई सफल र सक्षम बनाउन सकिन्छ ? के व्यवहारिक शिक्षाको मुद्दालाई प्राथमिकताका साथ हेरिनु पर्दैन ? यस्तै तमाम प्रश्नहरू यो नाटकले सोधेको छ । शिक्षा भनेको राज्यले प्रदान गर्ने आधारभूत कुरा हो तर हामीकहाँ कसरी यसको व्यापारीकरण भई सामान्य नागरिकले आफ्ना बालबच्चाको शिक्षाको लागि सर्वस्व गुमाइरहेका छन् भन्ने यथार्थ यसमा देखिन्छ । यो नाटक सर्वसाधारणले मात्र होइन, हरेक शिक्षाका पहरेदार, व्यवसायी, शिक्षक, अभियान्ता तथा सिंहदरबारले हेर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu