काठमाडौं। हामीले जुन क्षेत्रमा करियर बनाइरहेका छौ, कहीँ न कहीँ बाल्यकालमा त्यो क्षेत्रले झकझकाएको हुनसक्छ। बालापनका सबै कुरा याद नरहने भएता पनि हामीले देखेका, भोगेका या भित्री स्मृतिमा सङ्ग्रहीत घटनाक्रमले हामीलाई पछिसम्मै डोहोऱ्याईरहेको हुन्छ।
नेपाली चलचित्रका संरक्षक एवम् डिजिटाइजेशन विज्ञ चिरन्जिबी गुरागाईँको पनि यस्तै कथा छ। जीवनमा पहिलो पटक बुबा आमासँग बाल्यकालमा हेरेका हिन्दी चलचित्रले उनको बाटो चलचित्रतर्फ मोडियो। उनले श्याम श्वेत पर्दामा हेरेका धुमिल चित्रहरूबाट रङ्गिन सपनाहरू बुने। उनी भारत र नेपालको सिमानामा पर्ने विराटनगर नजिकको गाउँ सिजुवामा बाल्यकाल बिताए। विराटनगरमा त्यस समयमा नेपाली चलचित्र खासै प्रदर्शन नहुने र हिन्दी चलचित्र धेरै प्रदर्शन हुने गरेका थिए। सोही समय उनी केही हिन्दी चलचित्र हेरे। प्रविधिको विकाससँगै चलचित्रले रूप फेरे। श्यामश्वेत चित्रहरू रङ्गिन हुन थाले। चिरन्जिबी पनि आफ्ना रङ्गिन सपना बोकेर काठमाडौं आए।
काठमाडौं आएसँगै क्याम्पस पढ्न थाले। साथमा उनले जागिरको खोजी गरे। जागिरको क्रममा उनी चलचित्र क्षेत्रमा जोडिए। उनले केही समय चलचित्रको प्राविधिक पाटोमा काम गर्न थाले। समय क्रममा उनले विभिन्न अध्ययन, अनुसन्धान र खोज गरे। उनले बाल्यकालमा देखेका श्याम श्वेत चलचित्र पछिल्लो प्रविधिका जस्तै रङ्गिन र आधुनिक कसरी बनाउन सकिन्छ भन्ने खोजमा लागे। उनले देश विदेशमा विभिन्न तालिमहरू गरे।
उनलाई नेपाल सरकारको नेपाली चलचित्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डले त्यही काम दियो जुन काम उनी गर्न चाहन्थे। उनले नेपालका दश वटा पुराना चलचित्रहरू तथा सय बढी वृत्तचित्र डिजिटाईजेसन गर्ने र संरक्षण गर्ने जिम्मेवारी पाए। उनले केही वर्षयता ती सबै जिम्मेवारी सम्पन्न गरी थप चलचित्रहरूको संरक्षणमा जुटिरहेका छन्। साथै, उनलाई बोर्डले अन्य केही पुस्तकहरू लेखनको जिम्मेवारी पनि दियो।
उनले चलचित्रहरू आमा (२०२२ असोज १५), हिजो आज भोलि (२०२४ फागुन २०), परिवर्तन (२०२७ जेठ २९), मनको बाँध (२०३० फागुन ८), कुमारी– नेपालको पहिलो रंगीन चलचित्र (२०३४ असोज ९), सिन्दुर (२०३६ मंसीर १०), जीवनरेखा (२०३९ मंसीर २), बदिलिँदो आकाश (२०४० कार्तिक २२), के घर के डेरा (२०४१ फागुन १), शान्तिदीप (२०४६ षुष १६) तथा विभिन्न देशका राष्ट्रप्रमुखहरूको भ्रमण, साँस्कृतिक कार्यक्रम, विकास परियोजना, सडक निर्माण, राजपरिवारको विविध गतिविधि तथा स्वदेश र राजकीय भ्रमण, कलकारखाना स्थापना लगायतका वृत्तचित्रहरू डिजिटाईजेसन गरेका छन्।
उनले यी सबै चलचित्र र वृत्तचित्रलाई नेपालको अमूल्य निधि मान्दछन्। “मैले सुरुमा आफ्नो इच्छा अनुसारको काम मात्र गरेको थिएँ, तर यो त केवल काम मात्र रहेनछ। डिजिटाइजेशनको दौरान यी सबै चलचित्रहरू र वृत्तचित्रहरू फ्रेम बाई फ्रेम हेरेपछि यी त हाम्रो देशका अमूल्य निधि रहेछन्, मैले त यसलाई बचाएको पो रहेछु भन्ने महसुस भयो। त्यसपछि त झन् काम गर्ने जोस जागेर आयो,” चिरन्जिबीले बताए।