काठमाडौं महानगर चलचित्रको सहर हुँदा सबै विधा समेट्छ: उपमेयर डङ्गोल



काठमाडौं। काठमाडौं महानगरपालिकाले युनेस्को रचनात्मक सहरमा ‘चलचित्र विधा’ को प्रमाण पत्र ग्रहण गरेको छ। आइतबार आयोजना गरिएको कार्यक्रममा युनेस्कोका नेपाल प्रतिनिधि प्रमुख माइकल क्राफ्टले महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोललाई प्रमाण पत्र हस्तान्तरण गरे। महानगरपालिकाले आयोजना गरेको ‘चलचित्र नीति संवाद’ कार्यक्रमको समापन अवसरमा प्रमाण पत्र हस्तान्तरणसँगै ‘महानगरपालिका चलचित्र सहरको प्रतीक चिन्ह (लोगो)’ सार्वजनिक गरिएको थियो।

त्यस अवसरमा बोल्दै उपप्रमुख डङ्गोलले रचनात्मक सहरका लागि भएका ७ वटा विधामध्ये चलचित्र विधाले अन्य सबै विधालाई समेट्न सक्ने भएकोले यही विधा छानिएको बताइन्। “काठमाडौं सङ्गीतको सहर पनि हो। लोककथाको सहर पनि हो। यस्तै डिजाइन, मिडिया, खानेकुरा सबै क्षेत्र काठमाडौँका लागि उपयुक्त थिए। यीमध्ये चलचित्रबाहेक अन्य विधामा काम गर्दा एउटै क्षेत्रमा मात्र सीमित हुन सकिन्थ्यो। चलचित्र विधाले रचनात्मक सहरका सबै क्षेत्रमा काम गर्न पाइन्छ। यस कारण चलचित्र नै हाम्रो रोजाइमा परेको हो।”

चलचित्र क्षेत्रको विकासका लागि चलचित्र क्षेत्रका विषय विज्ञ तथा प्रयोगकर्ताबाट आएका सुझावलाई आउँदो वर्षको आर्थिक ऐन, नीति तथा कार्यक्रममा समेट्ने प्रयास गर्ने उनले बताइन्। उनले समुदायको सहभागिता, शैक्षिक र प्राविधिक क्षमता विकास, राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्जाल निर्माणमा काम हुने जनाइन्।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार साहित्य र सिर्जनाका साधकको योगदानलाई उचित सम्मान हुने कामलाई महानगरपालिकाले नीति, योजना र कार्यक्रममा समावेश गर्ने बताए। युनेस्को प्रमुख क्रफ्टले सबैको ध्यान हाइड्रोपावर जस्ता क्षेत्रमा रहेको तर, चलचित्र जस्ता सिर्जनात्मक विधाहरू हरेक कोणबाट हाइड्रोपावरभन्दा महत्त्वपूर्ण रहेको जनाए। उनले भने, “यत्ति हो कि, यसलाई कसरी प्रवर्धन गर्ने भन्ने हो।”

कार्यक्रममा चलचित्र अभिनेता एवं निर्माता दीपकराज गिरीले ‘चलचित्रका उद्यमीले गरेका काम र सरकारसँगका अपेक्षा’, निर्देशक तथा लेखक मोहन राईले ‘अन्तर्राष्ट्रिय अभ्याससँगको दृष्टिबाट नेपालको चलचित्र उद्योग’, चलचित्र विकास बोर्डका सदस्य सचिव राजेशकुमार थापाले ‘सङ्घीय चलचित्र नीति र स्थानीय सरकारसँगको सम्बन्ध’ र नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले ‘स्थानीय सरकारले रचनात्मक उद्योगमा गरेको अभ्यास’ का विषयमा प्रस्तुतीकरण गरेका थिए।

काठमाडौँ महानगर विश्वका २६ वटा चलचित्र सहरमध्ये एउटामा छानिएको हो। काठमाडौँ महानगरपालिकाकी फोकल पर्सन श्रृजुमैया प्रधानका अनुसार विश्व सहर दिवस २०२३ का अवसरमा युनेस्कोले २०८० कार्तिक १४ गते काठमाडौँसहित विश्वका ५५ वटा नगरलाई विभिन्न विधाका रचनात्मक सहरका रूपमा नाम सार्वजनिक गरेको हो। सञ्जालमा १ सय भन्दा धेरै देशका ३५० वटा सहरहरू आबद्ध छन्। यस पटक ५५ वटा सहर थपिएका हुन्। जसमा चलचित्र विधामा ५ वटा थपिएका छन्। यससँगै चलचित्र सहरको सङ्ख्या २६ पुगेको छ।

महानगरपालिकाले चलचित्र क्षेत्रको विकास र विस्तार तथा यससँग सम्बन्धित उद्योगको सञ्चालन, संरक्षण र प्रवर्धनका लागि आवश्यक पर्ने नीति, अनुसन्धान र विकासका लागि काठमाडौँ क्रिएटिभ आर्ट्स काउन्सिल (केसीएसी, केएमसी) स्थापना गर्नेछ। यसले सांस्कृतिक र रचनात्मक कलाअन्तर्गतका सबै कार्यक्रमहरू र गतिविधिहरू कार्यान्वयन गर्नेछ। उद्योगमा आबद्ध क्षेत्रगत जनशक्तिको शैक्षिक क्षमता सुधार, प्रशिक्षण, चलचित्र विषय अध्ययन हुने विद्यालय तथा विश्वविद्यालयबिच समन्वय सहकार्य गरेर स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र निर्माण गर्न प्रतिभाहरूलाई प्रोत्साहन गर्नेछ। समुदाय, संस्कार, संस्कृति, परम्परा जस्ता मौलिकता प्रवर्धन तथा स्थानीय बासीको आय वृद्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने महानगरपालिकाको योजना छ।

चलचित्र उद्योगको विकासका लागि आवश्यक नीति तर्जुमा र वकालत गर्ने, सहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धानकर्ताहरूका लागि वार्षिक रूपमा अनुसन्धान फेलोसिप प्रदान गर्ने, महिला, सीमान्तकृत र कमजोर समुदायसहित लक्षित वर्गलाई यसमा सहभागी हुन छात्रवृत्ति प्रदान गरिनेछ। चलचित्र र अन्य रचनात्मक उद्योगहरूका लागि विद्यमान पूर्वाधारलाई सुधार र स्तरोन्नति गरिनेछ। पारम्परिक वास्तुकला झल्काउने, सुन्दरता अभिवृद्धि हुने संरचना निर्माण गरेर लागत प्रभावी चलचित्र निर्माणको वातावरण बनाइनेछ।

ल्यान्डस्केप डिजाइन, विश्व सम्पदा क्षेत्रहरूको सुधार, पूर्वाधार स्तर वृद्धि, वास्तुकला संवर्द्धनहरू, चलचित्र निर्माणको कथा कथन र सौन्दर्य शास्त्रमा योगदान पुर्‍याउने दृश्यात्मक मनमोहक स्थानहरू उपलब्ध गराइनेछ। चलचित्र स्टुडियो, पोस्ट उत्पादन सुविधाहरू, चलचित्र विद्यालयहरू, उद्योगका विधागत सिप र सिकाइहरूलाई सञ्जालमा आबद्ध गरेर प्रवर्धन गरिनेछ। अभिलेख, पुस्तकालय र सङ्ग्रहालयको विकास हुनेछ। स्थानीय सांस्कृतिक र रचनात्मक उद्यमीलाई र साना र मध्यम आकारका उद्यम सञ्चालन गर्न सहयोग गरिनेछ। तथ्य तथ्याङ्क निर्माण गरिनेछ। व्यञ्जन, कला र शिल्प, हस्तकला उद्योगको प्रवर्द्धन र मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न महोत्सव र प्रदर्शनीहरूको आयोजना गरिनेछ।

अन्तर्राष्ट्रिय स्तरका उद्यमीलाई सञ्जालमा जोड्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, फिल्म एक्स्पो, फिल्म समिट जस्ता ठुला कार्यक्रम सञ्चालन गरिनेछन्। यसले विश्वभरका चलचित्र निर्माता, लगानीकर्ता तथा वितरकलाई सञ्जालमा जोड्नेछ। यसबाट अन्तर्राष्ट्रिय साझेदारी र सहयोगका क्षेत्र विस्तार हुनेछन्। सदस्य अन्तर्राष्ट्रिय नगरहरूमा विद्यार्थी, कलाकार, अनुसन्धानकर्ता र साझेदार बिच ज्ञान, सिप र अनुभव आदान प्रदानको वातावरण प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu