फुटबलको कथा चलचित्रमा



Writer: Bijay Ratna
Writer: Bijay Ratna

विजयरत्न तुलाधर । सन् १९९४ को कुरा हो , त्यत्तिबेला कोलम्बियालाई विश्वकप जित्न सक्ने टिमको रुपमा लिईएको थियो । तर त्यस्तो हुन सकेन र त्यसको कारण थियो आन्द्रेइ स्कोबार नाम गरेका एक खेलाडिले आत्मघाति गोल । उनको त्यो आत्मघाति गोल कै कारण कोलम्बिया पहिलो चरणबाटै बाहिरिनु परेको थियो । र पराजय व्यहोरेर फर्के लगत्तै स्कोबार मारिए । कोलम्बियामा फुटबल खेलाडि स्कोबारमात्र नभई अर्का एक स्कोबार पनि थिए । उनी ड्रग डिलर थिए । उनको नाम पाब्लो स्कोबार थियो । यी दुबै स्कोबारहरुलाई एउटै कथामा पिरोलेर एउटा फिल्म बनेको थियो र त्यो फिल्मको नाम “द टु स्कोबार्स” हो । यसै सन्दर्भमा एउटा नेपाली चलचित्र “वर्ल्ड कप ईन नेपाल” शिर्षकको चलचित्रबारे चर्चा गर्नु सान्दर्भिक हुन्छ ।

गोरखा जिल्लाको बारपाकका उत्साही युवाहरुको फुटबल प्रतिको रुचीलाई पर्दामा प्रस्तुत गरिएको यो चलचित्रमा नेपालमा अण्डर १९ मा खेल्ने फुटबल खेलाडीहरु सुजन तामाङ्ग, सागर लामा, उमेश थापा, एलिन न्यौपाने, ऋषि थापा मगर, आदित्य चौधरी लगायतले पनि अभिनय गरेका छन् । नेपालको फुटबल सपनालाई सार्थक बनाउने प्रयास गरिएको यो चलचित्र आफ्नो फुटबल विषयको कारण धेरैले रुचाएका थिए भने यस चलचित्रले नेपालका युवा खेलाडिहरुलाई राम्ररी प्रोत्साहित गर्न सकियो भने नेपाल पनि फुटबलको वल्र्डकपमा पुग्न सक्छ भनि देखाउन खोजिएको छ । फुटबल खेलमा आधारित यो पहिलो नेपाली चलचित्र हो तर विदेशमा यस्तो चलचित्रहरु धेरै बन्ने गरेका छन् । विश्व विख्यात फुटबल खेलाडीहरु मध्ये कतिपय खेलाडीहरु कहिले काँही चलचित्रको रङ्गीन पर्दामा पनि देखिने गरेका छन् । माराडोना, जिनादेन जिदाने र डेभिड बेकहृयाम जस्ता खेलाडीहरुको नाममा त चलचित्र समेत बनेको कुरा धेरैलाई विदितै होला ।

सर्वियालि फिल्ममेकर इमिर कुस्टुरिकाले अर्जेन्टिनाका विश्वविख्यात फुटबल खेलाडि माराडोनाको फुटबल जीवन र उनको नीजि जीवनका घटनाहरुलाई संगालेर सन् २००८ मा “माराडोना” शिर्षकमै एउटा फिल्म बनाएका थिए । माराडोनाका राम्रा नराम्रा दुबै पक्षलाई समेटेर बनाईएको यो फिल्मलाई उनको जीवनीको छाँयाचित्र भन्दा पनि केहि फरक पर्ने छैन । बेलायतका विख्यात खेलाडी डेभिड बेकहृयामको नाममा “बेण्ड इट लाइक बेकहृयाम” र फ्रान्सका जिदानेको नाममा “जिदाने – अ ट्वेण्टिफस्र्ट सेन्चुरी पोटे्रट” यसका उदाहरणहरु हुन् । यी दुबै चलचित्रलाई फुटबल विषयमा बनेका उत्कृष्ट चलचित्रका मध्येका मानिन्छन् । जिदानेको चलचित्रमा उनले खेलेको एक प्रतिस्पर्धात्मक फुटबल खेलको आधारमा कथानक बुनिएको छ । फ्रेन्च र स्पेनिश भाषामा बनेको यस चलचित्रको निर्देशन डगलस गोर्डन र फिलिपी पोर्टेनोले गरेका हुन् । जिदानेको सम्पूर्ण खेल शिल्प र कौशलता उजागर गर्न सफल यो चलचित्र खिंच्नका लागि खेल मैदानमा एकसाथ १७ वटा क्यामेरा सञ्चालन गरिएको थियो । अर्को चलचित्र “बेण्ड इट लाइट बेकहृयाम” बेलायतमा बस्दै आएका भारतीय आप्रवासी परिवारकी एउटी युवतीले डेभिड बेकहृयाम जस्तै विख्यात फुटबल खेलाडी बन्ने सपना पुरा गर्ने उद्देश्यले अगाडि बढाएको आफ्नो फुटबलको यात्रा र उनको संघर्षलाई चित्रण गरिएको छ । यस चलचित्रका निर्देशक पनि आप्रवासी भारतीय गुरिण्डर चड्डा हुन् ।
football

फुटबल खेलमामात्रै आफ्नो कौशलता देखाउँदै आएका जिदाने र बेकहृयामले सन् २००५ मा बनेको एउटा चलचित्र “गोल ! द ड्रिम बिगिन्स” मा आफ्नो अभिनय शिल्प पनि देखाएका छन् । एकजना मेक्सिकन युवकको फुटबल खेलाडी बन्ने सपनामा आधारित यस चलचित्रमा जिदाने र बेकहृयाम लगायत रोनाल्डिनो पनि फुटबल खेलाडीकै रुपमा प्रस्तुत भएका छन् ।

संसारका धेरै राष्ट्रहरुमा फुटबललाई विषय बनाएर चलचित्र बन्ने गरेका छन् । फुटबल खेलाडी बन्नकालागि गर्नुपर्ने संघर्षका यात्राहरु नै त्यस्ता चलचित्रहरुको मूल विषय हुने गर्छन् । “द यर माइ प्यारेन्ट्स वेन्ट टु भ्याकेशन” पनि एउटा यस्तो चलचित्र हो, जसमा आˆनो आमाबुबा सामु आˆनो खेल शिल्प देखाउन आतुरिएका माउरो नाम गरेका फुटबल खेलाडीको संघर्षको कथा समेटिएको छ । १९७० को विश्वकप नजिकिंदै गरेको पृष्ठभुमिका तयार पारिएको यस चलचित्रमा ब्राजिलको तत्कालिन राजनैतिक जटिलता चित्रण गरिएको छ । आफ्ना अभिभावकहरु राजनैतिक परिस्थिति कै कारण विदेशिनु परेको कुराबाट अनभिज्ञ माउरो उनीहरु विदा मनाएर छिट्टै फर्कियोस् र आफ्नो खेल कुशलता हेरी देओस् भन्ने पर्खाइमा हुन्छन् । अत्यन्त भावुक परिवेश बोकेको यो एउटा उल्लेखनीय चलचित्र हो । अहिले संसारको नक्साबाट युगोस्लाभिया भन्ने देश रहेन तर कुनै बेला यो देश फुटबलकोलागि ख्याति कमाएको देश थियो । युगोस्लाभियाको फुटबल प्रेमलाई उजागर गर्नकालागि निर्देशक भुक जानिचले सन् १९८७मा एउटा फिल्म बनाएका थिए । त्यो फिल्मको शिर्षक “द युगोस्लाभियन फुटबल टिम” हो । यस्तै गरी दक्षिण अफ्रिका रंगभेदि सरकार विरुद्ध आन्दोलन चलिरहंदा रुबेन आयरल्याण्डको एक जेलमा कैदि जीवन बिताईरहेका बन्दिहरुको दिनचर्याको एक मुख्य अंश भनेको फुटबल खेल्नु पनि हो । र उनीहरुको फुटबल प्रेमबारे बनेको फिल्मको नाम “मोर ड्यान जस्ट अ गेम” हो । त्यहि जेलमा नेल्सन मण्डेला पनि कैदि जीवन बिताइरहेका थिए ।
football1

भुटानमा धेरै कममात्र चलचित्र बन्ने गरेका छन् । ती थोरै चलचित्रहरु मध्ये पनि “द कप” एउटा महत्वपूर्ण चलचित्रको रुपमा अगाडि आएको छ । यस चलचित्रको निर्देशक बौद्ध लामा गुरु खेन्छे नोर्बु हुन् । निर्देशक नोर्बुले “द कप” मा विश्व कप १९९८ को प्रत्यक्ष प्रसारण हेर्न बौद्ध गुम्बामा टेलिभिजन भित्रयाउन एउटा बालक लामाले गरेको संघर्षको कथा दर्शाइएको छ ।

यसरी विभिन्न देशका चलचित्रहरुमा फुटबललाई रङ्गीन पर्दामा उतारिएका उदाहरणहरु प्रशस्तै भेटिन्छन् । त्यस्तै एउटा चलचित्र “शाओलिन सकर” पनि हो । हङ्गकङ्गको यस चलचित्रका निर्देशक स्टिफन चाओ हुन् । यस चलचित्रमा शाओलिन मन्दिर भित्र प्रचलित रहेको मार्शल आर्टस अन्तर्गतको एउटा खेल कुंग्फुलाई पुनः विश्व सामु पुर्‍याउन फुटबल खेलसँग फ्युजन गरी नयाँ खालको मार्शल आर्ट प्रादुर्भाव गरेको देखाइएको छ । हलिउड र बलिउडमा पनि फुटबल विषयक केही उल्लेखनीय चलचित्रहरु बनेका छन् । ती मध्ये सबैभन्दा पहिलो “द आर्सनल स्टेडियम मिस्त्री” हो । यो १९३९ मा बनेको चलचित्र हो । थोरोल्ड डिकिन्सनले निर्देशन गरेको यस चलचित्रमा एकजना खेलाडीलाई खेलकै दौरान हत्या प्रयास हुने देखाइएको छ । आण्डे्रस वुडले निर्देशन गरेको “फुटबल स्टोरीज” पनि एउटा उल्लेखनीय चलचित्र हो । यस्तै गरी सन् २००८ मा बनेको स्पेनिश चलचित्र “रुडो वाइ कर्सी” पनि फुटबल खेल मै आधारित दर्शनीय चलचित्र हो । यसमा गायक बन्न चाहने एकजना फुटबल खेलाडीको मर्मस्पर्शी कथा प्रस्तुत गरिएको छ । यस चलचित्रका निर्देशक कार्लोस कौरान हुन् ।

football2

हलिउडका विश्व विख्यात अभिनेताहरु सिल्भिस्टर स्ट्यालोन र माइकल केनको प्रमुख भुमिका रहेको “ईस्क्याप टु भिक्ट्री”लाई फुटबलको कथामा बनेको सबैभन्दा उल्लेखनीय चलचित्रको रुपमा लिइन्छ । युद्धबन्दीहरुको व्यथा दर्शाइएको यस चलचित्रमा बन्दीहरुको टोलीले जर्मनीका राष्ट्रिय फुटबल टोलीमा सम्मिलित भई फुटबल खेल्ने देखाइएको छ । यस चलचित्रमा विश्व विख्यात फुटबल खेलाडी पेले पनि आफ्नै रुपमा फुटबलको मैदानमा फुटबल खेलेका दृश्यहरु पनि समेटिएको छ । कालो मोतिका रुपमा चिनिने फुटबलका जादुगर पेलेले “द यर माइ प्यारेन्ट्स वेन्ट टु भ्याकेशन” मा पनि आफ्नो झलक देखाएका छन् ।

निर्देशक डेभिड सेर्रानोको स्पेनी चलचित्र “डियास डे फुटबल” मा आफ्नो एक साथीको आत्म विश्वासलाई फर्काउनका लागि फुटबल टिम खडा गर्ने कथा समेटिएको छ । स्कट्ल्याण्डमा निर्माण गरिएको “ग्रेगरीज गर्ल” शिर्षकको चलचित्रमा ग्रेगरी नाम गरेका एक युवकले आफ्नी प्रेमिका फुटबल खेलाडी भएको कारणले गर्दा आफु पनि फुटबलको अध्ययनमा लाग्नु परेको रोचक प्रसङ्गहरुको साथ हास्यात्मक स्थीति प्रस्तुत गरिएको छ । वाल्ट डिजीको प्रस्तुति “गोल” शिर्षकको चलचित्र युरोपको सुपर लिग खेल्ने एक खेलाडीको सपनामा आधारित चलचित्र हो ।

बलिउड अर्थात हिन्दी चलचित्रको कुरा गर्दा फुटबलमा आधारित केही महत्वपूर्ण चलचित्रहरु मध्ये निर्देशक प्रकाश झाको चलचित्र “हिप हिप हुर्रे” अनिल गांगुलिको “साहेब” करण जोहरको “कभी अलबिदा ना कहना” यश चोपडाको “मशाल” विवेक अग्निहोत्रीको “दे दनादन गोल” प्रमुख रुपमा अगाडि आउने नामहरु हुन् । “हिप हिप हुर्रे” मा विद्यार्थीलाई फुटबल प्रशिक्षण दिन नियुक्त भएका नयाँ प्रशिक्षक र विद्यार्थीहरु बीचको तनावलाई चित्रण गरिएको छ भने “साहेब” मा एकजना मध्यम वर्गीय युवाको फुटबल खेलाडी बन्ने सपना र आर्थिक अभावको कारण आफ्नो मिर्गौला बेच्नु पर्दा खेल जीवनमा आइपर्ने समस्यालाई चित्रण गरिएको छ ।

football3

“कभी अलबिदा ना कहना” मा फुटबल खेलको दौरान दुर्घटनामा परी आफ्नो खुट्टामा उभिन नसक्ने नायकले जीवनमा भोग्नु परेको कठीनाईलाई समेटिएको छ । फुटबलको खेलमा मध्यान्तर सम्म मैदानको एउटा भागमा खेल्ने टोली मध्यान्तरपछाडि अर्कै भागबाट खेल्नुपर्ने नियमलाई प्रतिकात्मक रुपमा प्रयोग गरी “मशाल” मा मध्यान्तर अघि सम्म सकारात्मक चरित्रको रुपमा रहेको पात्र पछि नकारात्मक बन्ने र पहिला नकारात्मक देखिएको पात्र मध्यान्तरपछी सकारात्मक बनेको देखाइएको छ । नेपाली चलचित्र “जीवन रेखा” मा नायक शिव श्रेष्ठ र खलनायक गौतम रत्न तुलाधर बीच दशरथ रङ्गशालामा फुटबल खेलेको एक दृश्य राखिएको छ ।

फुटबलको विषयमा बनेका अरु भारतीय चलचित्रहरु मध्ये बंलाली भाषामा बनेको “मोहन बागानेर मेये” र “धान्नी मेये” पनि चर्चित चलचित्रहरु हुन् । “धान्नी मेये” मा गाउामा फुटबलको कारण सिर्जिएको समस्या र त्यसको निराकरणलाई चित्रण गरिएको छ भने हास्य प्रधान चलचित्र “मोहन बागानेर मेये”मा तत्कालिन कलकत्ताको सुप्रसिद्ध फुटबल टीम मोहन बागानका प्रशंसक एकजना अभिभावकले आफ्नो छोरोको विवाह गर्ने युवती पनि मोहन बागानको प्रशंसक नै शर्त राखे पछी सिर्जना हुने कठीन परिस्थीतिलाई हास्यात्मक रुपमा प्रस्तुत गरिएको छ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu