चुनावी दौडमा चलचित्रकर्मिहरु



bijay-ratna-tuladhar1
लेखक विजयरत्न तुलाधर

विजयरत्न तुलाधर। हलिउड र वलिउडतिर हेर्ने हो भने अभिनयमा लागेका अभिनेताहरु पछि गएर राष्ट्रिय राजनीतिमा लागेर नेता बनेका उदाहरणहरु धेरै नै छन् । अमेरिकी राष्ट्रपति समेत बनेका रोनाल्ड रेगन र क्यालिफोर्नियाका गभर्नर बनेका अर्नोल्ड स्क्वार्जनेगर पनि अभिनेताबाट नेता बनेकाहरु हुन् । भारतमा यस्ता उदाहरणहरु थुप्रै भेटिन्छन् । स्व.सुनील दत्त, विनोद खन्ना, शत्रुघ्न सिन्हा, जया प्रदा, जया भादुरी, हेमा मालिनी त्यस्ता नामहरु मध्ये केही नामहरु हुन्, जसले राष्ट्रिय राजनीतिमा सफलता हासिल गर्न सफल भए । तर अभिताभ बच्चन, गोविन्दा र स्व.राजेश खन्नाको नेता बन्ने प्रयास भने सफल हुन सकेन ।

नेपालको सन्दर्भमा चर्चा गर्ने हो भने ०६२/०६३ को लोकतान्त्रिक आन्दोलनको संगसंगै कलाकर्मीहरुको चासो राष्ट्रिय राजनीतितिर पनि बढ्दै गइरहेको देखिन्छ । त्यसभन्दा अघिको अवस्था हेर्ने हो भने त्यत्तिबेला नेपालका चलचित्रकर्मीहरु प्रष्ट रुपमा कुनै पनि राजनीतिसाग सम्बद्ध रहेको नदेखिने अवस्था थियो । आफु कुनै राजनैतिक सिद्धान्तप्रति आस्थावान भए पनि त्यसलाई प्रकट नगर्ने अवस्था थियो । विशेषगरी कलाकार भनेको राष्ट्रको गहना हो भनि भन्न रुचाउने कलाकर्मिहरु कुनै पनि दल विशेषको झण्डामुनि रहनु हुँदैन भन्ने मान्यताले त्यतिबेला जरो गाडेको थियो । यस्तो विचार पोख्ने कलाकर्मीहरु भित्रभित्रै राजतन्त्रप्रति विशेष झुकाव राख्ने गर्दथे । बसुन्धरा भुसाल, कृष्ण मल्ल, मोहन निरौला, शिव श्रेष्ठ लगायतका कलाकारहरु त्यही तब्कामा पर्ने कलाकर्मिहरु हुन् र अहिलेसम्म ती कलाकारहरु आफ्नो भावना प्रति प्रतिबद्ध नै देखिन्छ ।

नेपालका चलचित्रकर्मीहरुको राजनीतिक झुकाव यसरी विकास भएको पाइन्छ भने अहिले देशको बदलिएको राजनैतिक परिवेश लोकतन्त्रको स्थापना पछि भने कलाकर्मिहरु खुलेरै राजनीतिमा लाग्ने सम्भावनाको विकास हुँदै आएको छ । हुनत पञ्चायती शासनकालमा अभिनेता रविन्द्र खड्काले पनि राजनीतितिर लाग्ने प्रयास गरेका थिए । उनी आफ्नो थलो काभ्रेबाट चुनाव पनि लडे । तर चुनावमा नराम्ररी पराजित भएपछि उनले पछि राजनीतितिर फर्केरै हेरेनन् । तर अहिले कलाकर्मिहरुको चासो बढ्दै गइरहेको छ । तीन वर्ष जति अगाडि कलाकर्मिको एक डफ्फा नै तत्कालिन नेकपा-माओवादीमा प्रवेश गरेको कुरा यहाँ उल्लेखनीय हुन आउँछ । ती मध्ये कतिपय कलाकारहरु अहिले राजनीतिमा सकृय छन् भने कतिपय निष्क्रिय । कतिपयले केही सरकारी नियुक्तिहरु खान पाए भने कतिपयले केही पनि पाएनन् । नियुक्ति भएकाहरु पनि खासै ठूलो पदमा नियुक्त भएनन् । चलचित्र क्षेत्रको सर्वोच्च संस्था भनेको चलचित्र विकास बोर्ड हो । र अहिलेसम्म बोर्डमा नेकमा माओवादीले तीन कार्यकाल अध्यक्षता ग्रहण गर्ने अवसर हासिल गरीसकेको छ । तीनमध्ये दुई कार्यकाल गणेश भण्डारी र एक कार्यकाल ईश्वरचन्द्र ज्ञवाली अध्यक्ष भए । तर के.पी. पाठक, युवराज लामा, मौसमी मल्ल, विमल पौडेल, विजय बस्नेत जस्ता चलचित्रकर्मीहरुले सदस्य पदभन्दा माथिको पद हासिल गर्न सकेनन् ।

यसरी उल्लेखनीय पदमा चलचित्रक्षेत्रसँग गोरु बेचेको साइनासम्म पनि नभएकाहरुलाई अध्यक्ष बनाएर आफुहरुलाई सदस्य पदमै राखेकोमा कसैकसैले चित्त पनि दुखाए । अभिनेत्री रेखा थापा पनि विकास बोर्डको अध्यक्ष बन्नकालागि लबिंग गर्दै हिंडेको कुरा अहिले पुरानो भईसकेको छ । त्यतिबेला अभिनेत्री थापालाई माओवादी समर्थकका रुपमा चिनिने गर्थिन्, तर अहिले उनी बकायदा पार्टी प्रवेश गरीसकेकी अभिनेत्री हुन् । औपचारीक रुपमा पार्टी प्रवेश गर्नु अगाडि नै पार्टीको शिफारीसमा चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने प्रयास गरेकी रेखा थापाको लक्ष्य अब राष्ट्रिय राजनीति रहेको देखिन्छ ।

अहिले उनी पार्टीले आफुलाई योग्य सम्झेर चुनावमा उठाए देश सेवा गर्न तयार छु भन्ने गर्छिन् । अब उनले चुनावमा टिकट पाउला वा नपाउला अनि पाइन् भने चुनावमा जित्ला वा नजित्ला भनि अहिल्यै भन्न सकिंदैन तर रेखाको यो उद्घोषको साथसाथै चलचित्र क्षेत्रमा प्रत्यक्ष रुपमा राजनीतिमा लाग्न चाहनेहरुको संख्या दिनदिनै बढ्न थालेको छ । यसैबीच एनेकपा माओवादीको भातृ संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गतको राज्य कमिटीले संविधानसभाको सिक्वेलकोलागि चलचित्र र संगीत नाट्य समूहबाट १४ कलाकर्मिहरुको नाम शिफारिस गरेको कुरा प्रकाशमा आएको छ । यसरी शिफारिशमा परेकाहरुमा राजेन्द्र खडगी, मौसमी मल्ल, गणेश भण्डारी, केपी पाठक, शिवजी लामिछाने, उदय सुब्बा, निर्देशक दीपक श्रेष्ठ, विजय बस्नेत, राजु केसी, चेतन सापकोटा, लक्ष्मण शेष, धीरेन्द्र प्रेमर्षि, रमेशरञ्जन झा लगायतका नामहरु पर्छन् ।

निर्देशक तथा अभिनेता तीर्थ थापा र नरेश पौड्याल अनि प्राविधिक मनोज के.सी. लगायतका चलचित्रकर्मीहरु नेपाली कांग्रेसप्रति सद्भाव भएका चलचित्रकर्मीहरु हुन् भने देशभक्त खनाल, दिनेश डि.सी.हरु भने एमालेका समर्थकहरु हुन् । अहिले चलचित्र निर्देशक समाजको अध्यक्ष रहेका दिनेश डि.सी. अहिले हुने दोस्रो संविधान सभाको चुनावमा भन्दा पनि देशमा गणतान्त्रिक संविधान लागु भईसकेपछिको संसदीय चुनावमा उठ्नकालागि आफुलाई तयार पार्ने सोच बनाइसकेका छन् । उनी विद्यार्थी जीवन मै राजनीतितिर मोडि सकेका व्यक्ति हुन् भने अहिले विभिन्न संघ संस्थाहरुको जिम्मेवारीपूर्ण पदमा रहेर नेतृत्व विकासमा लागिरहेका छन् ।

दिनेश डि.सी. जस्तै अभिनेता भुवन के.सी. पनि एमाले प्रति झुकाव भएका चलचित्रकर्मी हुन् । “म तिमी बिना मरिहाल्छु” को सफलताको अवसरमा आयोजित कार्यक्रम एमालेका वरिष्ठ नेता वामदेव गौतमको उपस्थिीति पछि उनको एमालेसित आबद्धता चर्चामा आएको थियो भने पछि उनी विधिवत रुपमै एमाले प्रवेश गरेका चलचित्रकर्मी हुन् । तर हालै भुवन केसी राप्रपा नेपाल प्रवेशको चर्चाले चलचित्र बजार तातेको छ । एमालेको अविशवासमा परेका भनिएका उनि त्यहि झोँकमा राप्रपा नेपालतिर हानिएको हुनसक्छ ।

नेपाली चलचित्र जगतका नाम चलेका व्यक्तित्वहरुमा नीर शाह, उद्धव पौडेलहरु पनि राजनीतिसँग आबद्ध नामहरु हुन् । तत्कालीन राजपरिवारसित पारिवारीक साइनो भएका नीर शाह अहिले एनेकपा माओवादीप्रति झुकाव राख्दै आएका व्यक्तित्व हुन् भने पञ्चायत कालमा विराटनगरको प्रधानपञ्च समेत भईसकेका उद्धव पौड्याल अहिले आफ्नो सक्रिय चलचित्र जीवनबाट सन्यास लिएर प्रजातन्त्र पार्टीमा प्रवेश गरी सकेका छन् ।

यसरी प्रष्ट रुपमा कुनै पनि राजनैतिक दलसित झुकाव नराखेपनि नायक राजेश हमाल पनि कालान्तरमा राजनीतिमा लाग्नसक्ने सम्भावना प्रवल बन्दै गइरहेको छ । राजनीति प्रतिको उनको झुकावलाई आˆनो दलको समर्थनमा ल्याउन केहीले प्रयास पनि थालिसकेको छ । यो दौडमा नेपाली कांग्रेस अरुभन्दा अगाडि पर्नसक्ने सम्भावना देख्नेहरु धेरै छन् । चलचित्र विकास बोर्डमा अध्यक्ष रिक्त रहेको बेला आफु अध्यक्ष बन्न तयार रहेको अभिव्यक्ति दिएका राजेश हमालले देशमा प्रधान मन्त्री बन्ने भन्ने कुराको अन्यौलता रहादा जिम्मेवार निकायले जिम्मा दियो भने आफु देशको प्रधानमन्त्री हुन तयार रहेको अभिव्यक्ति दिएर आफ्नो राजनीति प्रतिको रुची प्रकट गरेका यसरी अहिले चलचित्रकर्मीहरुमा राजनीति प्रतिको चासो बढ्दै गइरहेको छ भने अबको चुनावमा को कसरी अगाडि आउाछ भन्ने कुरा हेर्न बाँकी नै छ ।
[email protected]

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu