‘चपली हाईट २’ बाट डेब्यु गरेकी अभिनेत्री परमिता आरएल राणा यस वर्ष रिलिज भएको चलचित्र ‘रोज’ पछि पुनः पर्दामा फर्किँदैछिन् । उनी अभिनीत तेस्रो चलचित्र ‘चङ्गा चेट’ शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा प्रियंका कार्की र सुरक्षा पन्त पनि प्रमुख भूमिकामा छन् । तर, चर्चा परमिताकै बढी भइरहेको छ ।

‘गोजीमा दाम छैन’ र ‘ढल्की ढल्की नाचन’ बोलको गीतमा अन्य कलाकारभन्दा उनकै वाहवाही भएको थियो । अब चलचित्रबाट कस्तो तारिफ बटुल्छिन् ? हेर्न बाँकी छ । उनी आफ्नो करिअरको सबैभन्दा आशातित चलचित्रको रुपमा ‘चङ्गा चेट’ लिन्छिन् । हुन पनि, उनका अघिल्ला दुई चलचित्र जो चलेनन् ।

आयुष्मानसँग ब्रेकअप भएपछि हाल हिसी लोसाङ्गसँग प्रेममा छिन् उनी । हालै आफ्नो जन्मदिन मनाएकी उनको अहिले रंगरुप नै बदलिएको छ । उनको हेयर स्टाइल परिवर्तित छ । जापानिज युवतीहरुले बढी अपनाउने स्टाइलमा आफ्नो कपाललाई नयाँ रुप दिएकी छन् । नयाँ गेटअपमा उनको सुन्दरता झनै खुलेको छ ।

प्रेममा रहेपनि बिहे भने तत्काल नगर्ने उनको सोच छ । ‘अहिले करिअरप्रति चिन्तित छु’ ठट्यौली शैलीमा उनी भन्छिन्, ‘अझै दश वर्ष बिहे गर्दिनँ ।’ रोचक कुरा के छ भने, उनले दोस्रो पटक आफ्नो पूर्वप्रेमी आयुष्मानसँग ‘चङ्गा चेट’ मा काम गरेकी छन् ।




