
काठमाडौं – विपिन कार्की र केकी अधिकारी स्टारर प्रदर्शनरत नेपाली चलचित्र ‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’ सार्वजनिक गरिएको छ । असारे भाकामा मौलिक नेपाली लोक शैलीमा आधारित यस गीतमा नेपाली संगीत क्षेत्रका चर्चित गायक प्रशान्त सिवाकोटी र चर्चित गायिका रचना रिमालको स्वर रहेको छ । गीतको शब्द रचना तथा संगीत निर्देशन स्वयं प्रशान्त सिवाकोटीले गरेका हुन् भने यसलाई बिषम आचार्यले एरेन्ज, मिक्सिङ र मास्टरिङ गरेका हुन् ।
गीतमा रैथाने नेपाली स्वाद दिन पञ्चेबाजामा समीर जैरु, मादलमा पोषण मगर, सारङ्गीमा मनिष गन्धर्व र बाँसुरीमा रत्न विकले साथ दिएका छन् । गीतको शब्द र अडियो संवादले नेपाली परम्परागत असारे रोपाईं, ग्रामीण जीवन र रोमान्टिक प्रेम भावलाई प्रस्तुत गर्छ। गीतमा “आलीमै देखे भरिलो ठेकी छेउ राख्न मन लाग्यो…” तथा “ज्यानको तिर्खालाई पानी भो, मनको तिर्खा क्यार्ने हो…” जस्ता सरल र मन छुने ठेट नेपाली शब्दहरूको प्रयोग गरिएको छ। यसले खेतबारीमा काम गर्दा बस्ने युवा-युवती बीचको निकटता र प्रेमको तिर्खालाई कलात्मक रूपमा व्यक्त गरेको छ।
यो चलचित्र यसै साता रिलिज भएको थियो। दर्शकबाट व्यापक तारिफ पाइरहेको समयमा यो गीत सार्वजनिक गरिएको हो। चलचित्र हेर्न बाँकी रहेका दर्शकका लागि यो गीतले फिल्मप्रतिको उत्सुकतालाई अझ बढाएको छ।
’रिजाल एन्ड रिजाल प्रोडक्सन’ को ब्यानरमा रामप्रसाद रिजालको प्रस्तुति रहेको यस चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन्। चलचित्रको मुख्य भूमिकामा सशक्त अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारी र प्रख्यात मोडल तथा अभिनेत्री गरिमा शर्मा रहेका छन् । उनीहरूका साथमा प्रकाश बाबु लोहनी, प्रकाश घिमिरे, हिउवाला गौतम, हेमन्त बुढाथोकी, विशाल पहाडी लगायतका अन्य कलाकारहरूको अभिनय देख्न पाइनेछ।
चलचित्रको लेखन प्रदीप भारद्वाजले गरेका हुन् भने छायाङ्कन चिन्तन राजभण्डारी र सम्पादन विपिन मल्लले गरेका छन् । गीतको कोरियोग्राफी लोकप्रिय कोरियोग्राफर कविराज गहतराजले गरेका हुन्।
गीत:






