अभिनेत्री द्वय ऋचा शर्मा र सुरक्षा पन्त पुस्तकका निकै पारखी हुन् । तर, पारखी भए पनि उनीहरु सीमित संख्यामा पुस्तक पढ्छन् । चलचित्रझैं पुस्तक छनोटमा पनि उनीहरु चुजी छन् । स्वदेशी तथा विदेशी साहित्य दुबै अध्ययन गर्न रुचाउने ऋचा र सुरक्षाले बजारमा आएका सबै पुस्तक पढिनहाल्ने बताउँछन् ।
मंगलबार राजधानीमा आयोजित निश्चल मल्लको ‘फर्गो’ पुस्तक विमोचन समारोहमा अतिथीको रुपमा उपस्थित भएका उनीहरु पुस्तकमा शब्द चयन महत्वपूर्ण हुने भनाई राख्छन् । ऋचा भन्छिन्, ‘म पुस्तकसँग बढी नै समय विताउने गर्छु । स्वदेशी र विदेशी साहित्य प्रायः छुटाउँदिनँ । तर, कति पुस्तक एक पाना पढेपछि दिक्क लाग्छ । कति भने जति पढे पनि अघाइन्न ।’

उनी अगाडि थप्छिन्, ‘लेखकको शब्द चयनले नै पुस्तक सशक्त हुने हो । मलाई भने पुस्तक पढ्न र भन्न मात्र आउँछ । लेख्न आउँदैन ।’ उनी आफूलाई धेरैले पुस्तक लेख्न सुझाएको पनि बताउँछिन् । तर, उनलाई शब्द चयन कठिन काम लाग्छ । भविष्यमा पुस्तक लेख्न कसैबाट प्रोत्साहन मिले प्रयास गर्ने उनको भनाइ छ । उनले आफूलाई निश्चलको ‘फर्गो’ पुस्तक अत्याधिक मन परेको र युवापुस्ताले छुटाउन नहुने बताइन् ।
सुरक्षा भने पुस्तक छनोटमा आफू चुजी रहेको बताउँछिन् । ‘फर्गो’ पुस्तक विमोचन कार्यक्रममा आफ्नो विचार राख्दै उनले भनिन्, ‘म पुस्तक पढिहाल्ने मान्छे त होइन तर प्रायः फुर्सदको समयमा पढ्ने गरेको छु । अरुले दुनियाँलाई कसरी हेर्दा र सोच्दा रहेछन् भनेर पनि पुस्तक पढ्ने गर्छु ।’
पुस्तक लेख्ने युवासँग आफू चाँडै आकर्षित हुने गरेको पनि उनले बताइन् । उनी तत्काल आफूले पुस्तक लेख्ने बारेमा भने नसोचेको बताउँछिन् । ‘फर्गो’ पुस्तक विमोेचनमा चर्चित युवा लेखक सुविन भट्टराई पनि उपस्थित थिए । उक्त पुस्तक लेखक मल्लले २ वर्षको अथक मेहनतपछि प्रकाशन गरेका हुन् ।




