
काठमाडौं – फरक-फरक कथावस्तु, परिवेश र प्रस्तुति बोकेका तीन नयाँ चलचित्र ‘रोल नं १’, ‘सेप अफ मोमो’ (छोरा जस्तै) र ‘कुम्भ’ एकसाथ सिनेमाघरमा भित्रिएका छन्। गत साता रिलिज भएका ‘काजी’ र ‘मितज्यू’ हलमा रहिरहँदा चौथो हप्तामा ‘लालीबजार’ले आफ्नो रफ्तार कायमै राखेको छ।
चलचित्र ‘रोल नं १’ बाल मनोविज्ञानको गम्भीर र यथार्थपरक विषयमा केन्द्रित छ। समाजमा आफ्नो नक्कली इज्जत र प्रतिष्ठा बढाउने होडमा अभिभावकले सन्तानमाथि थोपर्ने पढाइको अनावश्यक दबाब र त्यसले बालबालिकाको मस्तिष्कमा पार्ने नकारात्मक प्रभावलाई चलचित्रले मूल कथा बनाएको छ। ऐतिहासिक व्यापार गर्न सफल सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेलले निर्माण गरेका कारण पनि यस चलचित्रप्रति दर्शकको निकै ठूलो अपेक्षा रहेको छ। जौन योञ्जनको निर्देशन तथा महेश दवाडीको लेखन रहेको यस सिनेमामा मुकुन भुसाल, रेणु योगी, सुशांक मैनाली, सिर्जना अधिकारीका साथै बालकलाकारहरू निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठको सशक्त अभिनय रहेको छ। प्राविधिक पक्षतर्फ शिवराम श्रेष्ठको छायाङ्कन, मदन घिमिरेको सम्पादन, रोहित शाक्यको पार्श्व सङ्गीत र उत्तम प्रधानको साउन्ड डिजाइन रहेको छ।
त्यसै गरी, आजैबाट नेपाल र भारतमा एकैसाथ प्रदर्शनमा आएको अर्को प्रतीक्षित चलचित्र ‘सेप अफ मोमो’ (छोरा जस्तै) ले पनि विशेष चर्चा बटुलेको छ। विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागिता जनाउँदै अवार्डसमेत जित्न सफल यस चलचित्रलाई भारतमा दक्षिण भारतीय अभिनेता राणा दग्गुबतीको ‘स्प्रिट मिडिया’ ले रिलिज गर्न सघाएको छ। यसमा जोया अख्तर र पायल कपाडिया जस्ता चर्चित भारतीय सिनेकर्मीहरू कार्यकारी निर्माताका रूपमा जोडिएका छन्। सिक्किमेली निर्देशक त्रिवेणी राईद्वारा निर्देशित यस चलचित्रले सिक्किमको हिमाली गाउँको पृष्ठभूमिमा एउटै परिवारका तीन पुस्ताका महिलाहरूको जीवन, सम्बन्ध, मौनता, भावनात्मक विरासत र पहिचानको मर्मस्पर्शी कथा पस्किएको छ। चलचित्रमा भानु माया राई, गौमाया गुरुङ, पशुपति राई, राहुल मुखिया र श्यामाश्री शेर्पाको मुख्य अभिनय रहेको छ।
यी दुई प्रतीक्षित चलचित्रसँगै प्रेम र बदलाको कथामा आधारित एक्सन चलचित्र ‘कुम्भ’ पनि आजैबाट दर्शकमाझ आएको छ। रन्धिर श्रेष्ठको निर्देशन रहेको यस चलचित्रमा अशोक आर्यन, सुनील थापा, सुशील पोखरेल, रोहित रुम्बा, सृष्टि खड्का र सुरेन्द्र ठाकुर लगायतका कलाकारहरूले अभिनय गरेका छन्। यद्यपि, प्रदर्शनको सुरुवात नै यस चलचित्रका लागि निकै निराशाजनक देखिएको छ। हल सञ्चालकहरूबाट देशभर जम्मा १३ वटा मात्रै शो पाएको ‘कुम्भ’ नेपाली चलचित्रको इतिहासमै रिलिजको दिन सबैभन्दा कम शो पाउने सिनेमा बनेको छ।






