
काठमाडौं । करिब दुई दशकअघि लोकप्रिय रहेका कलाकार अभिनीत दुई चलचित्र यसै साता एकसाथ हलमा पुगेका छन्। मंसिर ११ गते शुक्रबारदेखि ‘सारथी’ र ‘ककाकिकी’ प्रदर्शनमा आएका हुन्। दुवैको विषयवस्तु फरक भए पनि दुवैमा पुरानो पुस्ताका कलाकारको बाहुल्य छ।
कुमार गजुरेल निर्देशित ‘सारथी’मा कालजयी चलचित्र ‘दर्पण छायाँ’का जोडी उत्तम प्रधान र निरुता सिंह छन्। २२ वर्षपछि एकसाथ पर्दामा फर्किएको यो जोडी चलचित्रमा श्रीमान–श्रीमतीको भूमिकामा छ। आमाको माया र सन्तानप्रतिको समर्पणमा आधारित यस चलचित्रमा प्रेमकथा पनि समेटिएको छ।
‘ककाकिकी’को निर्देशन बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले गरेका हुन्। यसमा तृप्ति नाडकर, गौरी मल्ल र रेखा थापा लगायतको अभिनय छ। गाउँमा अस्पताल बनाउन गाउँलेहरूले नै बैंक लुट्ने योजना बनाएको हास्य कथा यस चलचित्रमा छ।
तारा थापा ‘किम्भे’को प्रस्तुतिमा बनेको ‘सारथी’का निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन्। ‘ककाकिकी’को निर्माण श्रद्धा प्रसाईं र सुमित्रा थापाले गरेका हुन्।


