
काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’ का निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टोलीले बिहीबार राजधानीको बिग मुभिजमा कार्यक्रम आयोजना गरी चार मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो ।
ट्रेलरमा कौडाका कारण प्रेमीजोडीको जीवनमा आउने मोड र उनीहरूको प्रेमले भोग्ने नियतिको कथा देखाइएको छ । पिरियड ड्रामा विधाको यो चलचित्रले तत्कालीन नेपाली समाजमा पुरुषको अहंकार र पितृसत्ताको नियमका कारण महिलाले भोग्नुपरेको पीडा देखाउने संकेत ट्रेलरले दिएको छ ।
चलचित्रमा विजय बरालले ‘बाबुराम’ र अञ्जना बराइलीले ‘लक्ष्मी’को भूमिका निर्वाह गरेका छन् । अभिनेता विनोद न्यौपानेको पात्र ‘डिल्लीराम’ दुईको प्रेमकथामा मुख्य बाधक बनेर आउँछ । डिल्लीरामले खडा गर्ने अवरोधले कथालाई कुन मोडमा पुर्याउँछ भन्ने कौतूहल ट्रेलरले जगाएको छ ।
‘पूर्णबहादुरको सारंगी’बाट चर्चामा आएका अभिनेता विजय बराल र निर्देशक पौडेलको यो दोस्रो सहकार्य हो । यसपटक उनीहरू फरक समय र परिवेशको कथा लिएर आएका हुन् ।
चलचित्रको कथा निर्देशक पौडेल आफैंले लेखेका हुन् भने लेखन सबिन अधिकारी र वसन्त न्यौपानेको हो । विजय, अञ्जना र विनोदबाहेक उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राज कटुवाल, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायतको अभिनय छ ।
सारंगी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रका निर्माता नेम महर्जन हुन् । राकेश खड्का र श्याम मगर सहनिर्माता, सुमन रञ्जित एसोसिएट निर्माता, अनिश अधिकारी लाइन निर्माता तथा दिनेश खड्का कार्यकारी निर्माता छन् । छायांकन पदमबहादुर श्रेष्ठ (बाबु), सम्पादन सुरेन्द्र पौडेल, क्रिएटिभ निर्देशन विशाल घिमिरे र संगीत प्रशान्त शिवाकोटीको हो ।
यसअघि टिजर र गीतबाट चर्चा बटुलेको ‘सिन्दुरे जात्रा’ मंसिर १८ गतेदेखि देशभर प्रदर्शन हुनेछ । नेसनल सिने ग्रुप नेपालले वितरण गर्ने चलचित्रमा बिग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनर छन् ।


