उद्योग मन्त्रालयले ल्यायो ‘उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि २०८३’



काठमाडौं । उत्पादन तथा उत्पादकत्व बढाउने, रोजगारी सिर्जना गर्ने, निर्यात प्रवर्द्धन गर्ने र आयात व्यवस्थापन गर्ने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि २०८३’ जारी गरी लागू गरेको छ।

नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको भवन
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

कार्यविधिअनुसार तोकिएका २२ प्रकारका वस्तु उत्पादन गरी तेस्रो मुलुकमा निर्यात गर्ने उद्योग वा निर्यातकर्ताले अधिकतम १० प्रतिशत वा ८० लाख रुपैयाँसम्म प्रोत्साहन पाउनेछन्। स्वदेशी वा आयातित कच्चापदार्थबाट कृषिजन्य, वनजन्य, औद्योगिक वा घरेलु तथा हस्तकलाका वस्तु बनाउने दर्तावाल उद्योग, एक्जिम कोड लिई निर्यात गर्ने उद्योग, र उत्पादकसँग वस्तु किनेर निर्यात गर्ने निर्यात प्रवर्द्धन गृह यसमा समेटिएका छन्। तर भारत बाहेकका तेस्रो मुलुकमा नेपाल राष्ट्र बैंकले तोकेको परिवर्त्य विदेशी मुद्रामा हुने निर्यातलाई मात्र मान्यता दिइएको छ।

औद्योगिक व्यवसाय ऐन २०७६ को दफा १७ (१) को खण्ड (ग), (घ) र (ङ) बमोजिमको उद्योग वर्गीकरणका आधारमा कुल बजेटको क्रमशः ३०, ३५ र ३५ प्रतिशत रकम बाँडफाँट गरिनेछ। यी वर्गले बढीमा क्रमशः ३० लाख, ५० लाख र ८० लाख रुपैयाँसम्म प्रोत्साहन पाउनेछन्। एक आर्थिक वर्षमा एकभन्दा बढी वस्तुमा प्रोत्साहन पाइँदैन र मूल्यांकनमा कम्तीमा ५० प्रतिशत अंक ल्याउनु अनिवार्य छ।

अनुसूची–१ मा प्रशोधित चिया, कफी, अलैँची, अदुवा (सुठो, स्लाइडिङ, तेल र पाउडरसहित), बेसार र मसला, प्रशोधित मह, दूध तथा दुग्धजन्य पदार्थ, तरकारी, फलफूल, च्याउ र तिनका प्रशोधित सामग्री तथा टिस्युकल्चर प्रविधिबाट बिरुवा उत्पादन गर्ने एग्रो फरेस्ट उद्योग छन्। चाउचाउ, बिस्कुट, पास्ता र चिजबल जस्ता खाद्य प्रशोधनजन्य उत्पादन, स्प्रिङ वाटर, वाइन साइडर, पुष्प र तिनका प्रशोधित सामग्री, कपास खेती तथा बिउ उत्पादन र प्रशोधन, प्राङ्गारिक मल, बेत, बाँस तथा अल्लोलगायत प्राकृतिक रेशाजन्य उत्पादन र गैरकाष्ठजन्य वन पैदावारमा आधारित उत्पादन पनि सूचीमा छन्।

यसैगरी फर्निचर, पार्केटिङ, सिजनिङ, प्लाइउड र कम्पोजिट बोर्डलगायत काठका सामग्री, प्रशोधित जडीबुटी तथा सारयुक्त तेल, कागज, लोक्ताको हाते कागज र त्यसबाट बनेका सामान, हस्तकला र काष्ठकला, ऊनी गलैँचा, पश्मिना, यार्न, टेक्सटायल तथा फेल्टसहित ऊनीका सामान, प्रशोधित छाला (क्रस्ट) र छालाजन्य उत्पादन, जुत्ताचप्पल, तयारी पोसाक, प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना र आयुर्वेदिक औषधिले पनि प्रोत्साहन पाउनेछन्।

प्रोत्साहन पाउन कानुनबमोजिम दर्ता र नवीकरण, प्यान वा भ्याट दर्ता, आधार र पछिल्लो वर्षको लेखा परीक्षण, कर चुक्ता प्रमाणपत्र तथा आधार वर्षको तुलनामा कम्तीमा १० प्रतिशत उत्पादन वृद्धि अनिवार्य छ। उद्योग विभागले कम्तीमा २१ दिनको म्याद दिई सूचना निकालेपछि योग्य आवेदकले अनुसूची–२ को ढाँचामा भौतिक वा विद्युतीय माध्यमबाट आवेदन दिनुपर्नेछ।

आवेदनसँग दर्ता, प्यान/भ्याट, लेखा परीक्षण, कर चुक्ता, उत्पादन वृद्धि पुष्टि हुने बिलबिजक र प्रज्ञापनपत्र, बैंकिङ प्रमाण संलग्न गर्नुपर्छ। साथै सरकारी बक्यौता नरहेको र कालोसूचीमा नपरेको (अनुसूची–३) तथा दोहोरो प्रोत्साहन नलिएको (अनुसूची–४) स्वघोषणा पनि चाहिन्छ।

उत्पादन वृद्धि गणना गर्दा आधार र पछिल्लो वर्षको अन्तर निकालिनेछ, जसमा परिमाणलाई ४० र बिक्री मूल्यलाई ६० प्रतिशत भार दिइनेछ। एक्स–फ्याक्ट्री मूल्यबाट विदेशी मूलका सामग्रीको मूल्य घटाएर त्यसलाई एक्स–फ्याक्ट्री मूल्यले भाग गरी निकालिने मूल्य अभिवृद्धि लेखा परीक्षकबाट प्रमाणित हुनुपर्नेछ।

अनुसूची–५ अनुसार १०० पूर्णाङ्कको मूल्यांकनमा उत्पादन वृद्धिलाई ५० अंक (बिक्री मूल्य ३० र परिमाण २०), निर्यातमा योगदानलाई २०, मूल्य अभिवृद्धिलाई १० र आयकर योगदानलाई १० अंक दिइएको छ। सामाजिक सुरक्षा कोषमा श्रमिक आबद्धता (रोजगारी) र उद्योगको भौगोलिक अवस्थितिलाई ५/५ अंकभार तोकिएको छ।

उद्योग विभागको साना तथा मझौला उद्योग प्रवर्द्धन शाखा निर्देशकको संयोजकत्वमा गठित पाँच सदस्यीय मूल्यांकन समितिले ५० प्रतिशत वा बढी अंक ल्याउनेमध्येबाट योग्यताक्रम सिफारिस गर्नेछ। मूल्यांकनमा ९१–१०० अंक ल्याउनेले १०, ८१–९० ले ८, ७१–८० ले ६, ६१–७० ले ४ र ५०–६० अंक ल्याउनेले २ प्रतिशत प्रोत्साहन दर पाउनेछन्।

स्वीकृत रकम ईएफटी प्रणालीमार्फत बैंक खातामा जम्मा गरिनेछ। पछिल्लो र आधार वर्षको बिक्री मूल्यको अन्तरलाई प्रोत्साहन दरले गुणा गर्दा आउने रकम वा वर्गीकरण सीमामध्ये कम रकम भुक्तानी हुनेछ।

अनुगमन तथा सहजीकरणका लागि महानिर्देशकको संयोजकत्वमा सात सदस्यीय समन्वय समिति रहनेछ। बजेटको बढीमा ३ प्रतिशतसम्म व्यवस्थापन खर्च गर्न सकिने कार्यविधिमा उल्लेख छ। झुटा विवरण पेस गरी रकम लिएको पाइए प्रचलित कानुनबमोजिम असुलउपर गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu