‘क्लासिक’ हेर्ने दर्शक निराश बन्नुहुन्न: सुवास गिरी



subas-giri
माघ २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र “क्लासिक” दर्शकहरुका लागि प्रतिक्षित चलचित्र बनेको छ । “नोभेम्बर रेन”को सफलता पछि सुवास इन्टरटेन्मेन्टले बनाएको चलचित्र क्लासिकमा आर्यन र नम्रताको जोडीका कारणले गर्दापनि यो चलचित्र हेर्न दर्शकहरु लालाहित भएका छन् । यति बेला चलचित्रको सिंगो यूनिट नै प्रचार प्रसारमा व्यस्त देखिन्छ । सोहि क्रममा चलचित्रका निर्माता सुवास गिरीले पनि चलचित्र क्लासिक राम्रो बनेको बताएका छन् । आर्यन र नम्रताको जोडीले फेरी दर्शकहरुमा जादु छर्ने प्रयासमा रहेका निर्माता सुवास गिरीसँग ठुलोपर्दा डटकमले गरेको संक्षिप्त कुराकानीको संपादित अंश:

१. अहिले चलचित्र क्लासिकको चर्चा परिचर्चा कस्तो सुनिएको छ ?
राम्रो छ । दर्शकहरुले चलचित्र क्लासिक कस्तो बन्यो होला भन्ने एउटा उत्साहमा हुनुहुन्छ भने हामीले चलचित्रको सार्वजनिक गरेका ट्रेलर र गीतका कारण पनि दर्शकहरु क्लासिक हेर्न उत्साहित भएको पाएका छौं ।

२. माघ २९ गते तपाईको चलचित्र क्लासिकसहित तीन चलचित्र एकसाथ प्रदर्शनमा आउँदैछन, डगमगाउानु भएको त छैन नी ?
कुन चलचित्र कती गते र कति वटा प्रदर्शनमा आउँदैछन् भन्दा पनि म मेरो चलचित्र कुन मितिमा आउँदै छ भन्नेमा चासो राख्छु । यो मिति हामीले सबैभन्दा अगाडी नै सार्वजनिक गरेको मिति हो त्यसैले अरु चलचित्रहरु कति गते आउँछन् र आउँदैछन् भन्नेमा हामीलाई कुनै चासो पनि छैन र हामी डगमगाएका पनि छैनौं ।

३. चलचित्र क्लासिक नोभेम्बर रेनको नशाबाट बाहिर आएको छ कि त्यहि नशामै अल्झिएको छ ?
नोभेम्बर रेनको नशाबाट चलचित्र क्लासिक छुट्नै सक्दैन । जसरी नोभेम्बर रेनपछि चलचित्रको खिचाइ यस्तो हुनुपर्छ भन्ने दर्शकहरुले महशुस गर्नुभयो त्यहि अनुसार नै हामीले क्लासिकलाई उच्चस्तरीय बनाउने प्रयास गरेका छौं र सफल पनि भएका छौं । नोभेम्बर रेन पनि प्रेम कथामा आधारित थियो भने क्लासिक पनि प्रेम कथामा आधारित छ । तर हामीले नोभेम्बर रेन भन्दा क्लासिकलाई केहि फरक बनाएका छौं । नोभेम्बर रेन भन्दा चलचित्र क्लासिक उत्कृष्ट बनेकोमा चाहिँ हामी ढुक्क छौं ।

४. प्रदर्शन मिति नजिकिँदैं छ, यो दाबी गर्न सक्नुहुन्छ हामी यो प्रदर्शन मितिबाट तल माथी सर्दैनौं भन्नेमा ?
सुवास इन्टरटेन्मेन्ट यो कुरामा सधै दर्शकहरुलाई के भन्न चाहन्छ भने हामी जे सक्छौं त्यहि मात्र बोल्छौं र बोलेका कुरा पुरा गरेर पनि छोड्छौं । त्यसैले यो मितिबाट हामी पर सर्ने त कुरै छैन ।

subas-giri-aaryan-dinesh

५. दर्शकले चलचित्र हेरेपछि पाउने चाहिँ के छ ?
मेरो बुझाईमा चलचित्रले दर्शकहरुलाई मनोरञ्जन दिनुपर्छ जस्तो मलाई लाग्छ । चलचित्र क्लासिक २ घण्टा ५ मिनेटको रहेको छ र चलचित्र हेरुन्जेल दर्शकहरुले भरपुर मनोरञ्जन लिनुहुनेछ ।

६. सुवास इन्टेरटेन्मेटबाट बनेका सफल चलचित्रमा आर्यन सिग्देल र नम्रता श्रेष्ठ देखिएका छन् । अब सुवास इन्टेरटेन्मेन्टको ब्यानरबाट बन्ने चलचित्रमा आर्यन र नम्रता भन्दा अरु कलाकार देख्न पाइदैन हो ?
आर्यन र नम्रता चलचित्रको कथाले मागेको पात्र हो त्यसैले उहाँहरु अहिलेसम्मका तीन चलचित्रमा एकसाथ देखिनु भएको छ । आर्यन र नम्रता भन्दा बाहेक मैले बनाउने अन्य चलचित्रमा नयाा अनुहार पनि हुनेछन् । मेरो विचारमा प्रेम कथामा बन्ने चलचित्रमा आर्यन र नम्रतालाई भन्दा बाहेक अरुलाई सुहाउँदैन जस्तो लाग्छ । मैले बनाउने चलचित्र अर्थात प्रेम कथाभन्दा बाहिरको रह्यो भने अरु कलाकारहरु पनि हुन सक्छन् ।

७. चलचित्रमा आर्यन र नम्रता दृष्टिविहिनको रुपमा देखिएका छन्, चलचित्रले दृष्टिविहिनलाई नराम्रो असर त गर्दैन नी ?
हाम्रो चलचित्रको सबैभन्दा राम्रो पक्ष के हो भन्दा दृष्टिविहिनहरुले पनि यस्तो काम गर्न सक्छन् है भन्ने देखाउन खोजेका छौं । हामीले दृष्टिविहिनहरुको पनि रहर हुन्छ, उनीहरु पनि सम्पन्न जिन्दगी विताइरहेका हुन्छन्, दृष्टिविहिन भएपनि उनीहरु कति खुसी हुन्छन् भन्ने लगायतका पक्षहरुलाई चलचित्रले मार्मिक र मनछुने तरिकाले प्रस्तुत गरेको छ । मलाई लाग्दैन चलचित्र क्लासिकले दृष्टिविहिनलाई नकारात्मक असर गर्छ ।

८. अन्त्यमा: चलचित्र हेर्न आउनु होला भनेर दर्शकहरुलाई केहि भन्न चाहनुहुन्छ ?
म दर्शकहरुलाई चलचित्र हेर्न आउनुहोस् भनेर भन्न चाहन्न किनकी एक निर्माताले चलचित्र राम्रो बनाउने हो त्यो मेरो तर्फबाट भएको छ अब दर्शकहरुको काम हो चलचित्र हेरिदिने । म यो भन्न सक्छौं चलचित्र क्लासिक राम्रो बनेको छ, हेर्ने दर्शकहरु चलचित्रबाट खुसी बन्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu