
काठमाडौं – आगामी भदौ २६ गतेलाई प्रदर्शन मिति तय गरेको नयाँ नेपाली चलचित्र ‘अक्षरा’ को विशेष तीज गीतको छायांकन सम्पन्न भएको छ। लामो समय सहायक निर्देशकका रूपमा काम गरेका विनयराज पौडेलको डेब्यु निर्देशन रहेको यस चलचित्रमा समावेश ‘नाचौं न बरि लै’ बोलको गीत सोमबार काठमाडौंको गोकर्णस्थित ऐतिहासिक उत्तरबाहिनी मन्दिर परिसरमा खिचिएको हो। गीतको दृश्यलाई थप आकर्षक र पर्वमय बनाउन मन्दिर परिसरलाई विशेष रूपमा सजाइएको निर्माण पक्षले जनाएको छ।
नजिकिँदै गरेको नेपाली नारीहरूको महान् चाड हरितालिका तीजलाई लक्षित गरी तयार पारिएको यस गीतमा लोकप्रिय गायिका समीक्षा अधिकारीको सुमधुर स्वर रहेको छ। गीतका शब्दहरू सुरेन्द्र राणाले कोरेका हुन् भने सङ्गीत कर्णराज गिरीले भरेका छन्। स्टुडियो तासमा रेकर्ड गरिएको यस सांगीतिक कोसेलीको एरेन्ज, मिक्सिङ र मास्टरिङको सम्पूर्ण प्राविधिक काम विजेश्वर राज तण्डुकारले सम्हालेका छन्। भिडियोमा चलचित्रका मुख्य कलाकारहरू रिस्ता बस्नेत, न्यान्सी खड्का र सुशील सिटौलाको नृत्य देख्न पाइनेछ।
यस चलचित्रमा सुशील सिटौला र न्यान्सी खड्काका साथै सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह र सृजना अधिकारीलगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको पटकथा तथा संवाद लेखन अभिमन्यु निरवीले गरेका हुन्।




