‘बाः एक योद्धा’मा सिंगो सिनेमा बोक्ने ‘बा’ को हुन् ? मुख्य पात्रलाई रहस्यमै राख्दै निर्माण पक्ष



काठमाडौं – नेपाली समाजमा सन्तानको उज्ज्वल भविष्यका खातिर एउटा बाबुले गर्ने त्याग, अनवरत सङ्घर्ष र जीवनभर झेल्नुपर्ने अनेकौँ चुनौतीहरूको मर्मस्पर्शी कथा बोकेको चलचित्र ‘बाः एक योद्धा’ आगामी भदौ १९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ। कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पावन अवसर पारेर रिलिज हुन लागेको यस चलचित्रको सम्पूर्ण कथावस्तु ‘बा’ कै वरिपरि घुम्छ। तर, सिंगो सिनेमालाई आफ्नो काँधमा बोकेर हिँड्ने ती मुख्य पात्र अर्थात् ‘बा’ को भूमिकामा कुन अभिनेता छन् भन्ने विषयलाई निर्माण पक्षले अझैसम्म रहस्यको गर्भमै राखेको छ।

चलचित्रको छायांकन पूर्ण रूपमा सम्पन्न भई हाल पोस्ट-प्रोडक्सनको काम तीव्र गतिमा भइरहेको छ। निर्माण टोलीले चलचित्रका अन्य कलाकारहरूको नाम भने क्रमिक रूपमा सार्वजनिक गर्दै आएको छ। केही दिनअघि मात्रै सागर खनाल, शिशिर सिवाकोटी, सुप्रिया शर्मा र शवि थापाको अभिनय रहने जानकारी गराइएको थियो भने त्यसअघि नै अभिनेत्रीद्वय झरना थापा र सुहाना थापाका साथै अभिनेता दिव्यदेव पन्त यस प्रोजेक्टमा अनुबन्धित भइसकेको तथ्य बाहिर ल्याइएको थियो। चलचित्रका निर्देशक हरि लम्सालका अनुसार, सिनेमाका अन्य महत्त्वपूर्ण जानकारी र प्रतीक्षित मुख्य पात्र ‘बा’ को आवरणलाई पनि अबको केही समयमै औपचारिक रूपमा सार्वजनिक गरिनेछ।

नेपाली सांगीतिक क्षेत्रमा दर्जनौँ कालजयी सिर्जना दिइसकेका चर्चित सङ्गीतकार, रचनाकार तथा गायक हरि लम्सालले यसै चलचित्रमार्फत फिचर फिल्म निर्देशनमा आफ्नो डेब्यु गर्दैछन्। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रको कथा र पटकथा लम्साल स्वयंले तयार पारेका हुन्। चलचित्रका निर्माता वसन्त लम्साल हुन्, जो आफैँमा एक गायक तथा सर्जक हुन्। उनले यसअघि अभिनेता विपिन कार्कीलाई लिएर ‘कर्मा’ नामक चलचित्र निर्माण गरिसकेका छन्। प्राविधिक पक्षतर्फ शिवराम श्रेष्ठको उत्कृष्ट छायांकन रहेको यस सिनेमामा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्। सम्पूर्ण कार्य सम्पन्न भएपश्चात् यस चलचित्रलाई कुवेर सिने डिस्ट्रिब्युसनले देशभरका हलहरूमा वितरण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu