ड्रिम्ससँग ५० वटा चलचित्र आएपनि डर छैन: भुवन केसी



bhuwan-kc-interview
नायक भुवन केसी, यो नाम बच्चा देखी वृद्धसम्मलाई थाहा छ । चलचित्र कुसुमे रुमालमा लभरव्वाई बनेर सबैको मन जितेपछि उनलाई दर्शकहरुले आफ्नै हिरो बनाए । संख्याको हिसाबमा सय भन्दा बढि चलचित्रमा अभिनय गरिसकेका भुवनका अधिकांश चलचित्रहरु सफल छन् । जिवन्त तरिकाले अभिनय गर्ने नायक भनेर भुवनलाई दर्शकहरुले चिन्ने गर्छन् । भुवन केसीलाई नायक मात्र नभनौं उनी निर्माता र निर्देशक समेत हुन् । उनले म तिमी बिना मरिहाल्छु, करोडपति, साथी म तिम्रो, नेपाली बाबु लगायतका चलचित्र निर्माण गरिसकेका छन् । अभिनयसागै चलचित्र निर्माणमा पनि सफल भुवन केसी पछिल्लो पटक निर्देशकको रुपमा दर्शकमाझ प्रस्तुत भएका छन् । यूवास्टार तथा आफ्नै छोरा अनमोल केसीलाई लिएर निर्माण गरेको चलचित्र ड्रिम्स भुवन केसीले नै निर्माण र निर्देशन गरेका हुन् । फागुन २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ड्रिम्सको विषयमा ठुलोपर्दा डटकमले भुवन केसीसँग गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश:

१. ड्रिम्स कस्तो चलचित्र हो ?
नेपाली समाजका यूवावर्ग देखी अन्य सबै वर्गका दर्शकहरुलाई मन पर्ने पारिवारिक चलचित्र र टेक्निकल्ली पनि उत्कृष्ट चलचित्र हो ड्रिम्स ।

२. तपाईले बारम्बार भन्ने गर्नु भएको छ, मैले चलचित्र ड्रिम्स हलीउड चलचित्र भन्दा कम बनाएको छैन भनेर । के चलचित्र ड्रिम्स अहिले नेपालमा निर्माण हुने चलचित्र भन्दा फरक शैलीले निर्माण भएको छ हो ?
अब हलीउडको कुरामा भन्ने हो भने उनीहरु सबै कुरामा सक्षम हुन्छन् । उनीहरुकोमा टेक्नोलोजी, पैसा निकै नै आकाश छुने खाल्को हुन्छ । तर पछिल्लो समय दर्शकहरुले नेपाली चलचित्र राम्रो भएन, हेर्न लायकका छैनन् भनेर जसरी गुनासो गरिरहेका छन् त्यसलाई चाहिा चलचित्र ड्रिम्सले चिर्छ भन्न खोजेको हुँ । चलचित्र ड्रिम्सले दर्शकहरुलाई “ए” क्लासका हलीउड र बलीउड चलचित्र हेरेको भन्दा बढि मज्जा दिने छ ।

३. नायक अनमोल केसीले यस भन्दा अगाडी गरेका दुई चलचित्र भन्दा दर्शकहरुले ड्रिम्सका फरक पाउँछन् ?
एकदमै । अनमोलले चलचित्र होस्टेल गर्दा १६ पुरा भएर १७ मा लागेको थियो भने जेरी गर्दा १८ बर्षको थियो । अहिले अनमोल १९ पुरा भएर २० बर्षमा लागेको छ । त्यति बेला अनमोलले गर्ने रोल भनेको टिनएजर्स रोल नै हो । उनलाई त्यति बेला आफ्नो उमेरलाई सुहाउने भुमिका नै सुहाउँथ्यो । त्यहि अनुसार अनमोलले होस्टेल र जेरीमा आफ्नो उमेर अनुसार चलचित्रमा अभिनय गररेको थियो । तर अहिले अनमोलले त्यो भन्दा अलि फरक तरिकाले अभिनय गरेको छ । उसले यो चलचित्रमा इमोश्नल सिनहरु, एक्शन दृश्य देखी रोमान्सका दृश्यहरु दिएको छ । चलचित्र ड्रिम्समा अनमोलले नयाँ चिजहरु गरेका कारण दर्शकहरुले पक्कै पनि फरक स्वाद पाउनेछन् ।

४. चलचित्र ड्रिम्स अनमोललाई हेर्न जाने होकी चलचित्रको कथा, प्रस्तुतीलाई ?
दुवै । चलचित्रमा कथा र कलाकार सधै उतिक्कै महत्वपुर्ण हुन्छ । जसरी अनमोललाई दुई चलचित्रमा अत्याधिक रुचाइयो त्यो भन्दा डि्रम्समा कस्तो छ अनमोलको भुमिका भनेर पनि दर्शकहरु हलसम्म जानेछन् र चलचित्रको कथा, मेकिङ्गबाट पनि दर्शकहरुले भरपुर मनोरञ्जन पाउने छन् । पहिलो कुरा के हो भन्दा राम्रो नेपाली चलचित्र हेर्छु भन्ने दर्शकहरुका लागि चलचित्र ड्रिम्स उत्कृष्ट बनेको छ त्यसैले पनि दर्शकहरु हलसम्म चलचित्र हेर्न जानुहुनेछ भन्नेमा पुर्ण विश्वस्त रहेका छौं भने मैले ३० बर्षे चलचित्र करियरमा पहिलो पटक निर्देशन गरेका कारण पनि दर्शकहरुले चलचित्र ड्रिम्स हेर्नु पर्नेछ । मैले कस्तो तरिकाले चलचित्र निर्देशन गरेको रहेछु भन्नेका लागि पनि ड्रिम्स दर्शकहरुका लागि प्रतिक्षित चलचित्र बनेको छ ।

nepali-movie-dreams-poster

५. चलचित्र निर्माण र अभिनय भन्दा निर्देशनमा के फरक छ ?
एकदमै फरक छ । सुरु सुरुमा म चलचित्रमा अभिनय मात्र गर्थे पछि मैले चलचित्र निर्माण गर्न लागे र अहिले निर्देशक बनेको छु । कलाकार हुँदा मैले मेरो अभिनयलाई कसरी राम्रो बनाउने, कसरी आफ्नो लुक्स उत्कृष्ट बनाउने भन्नेमा ध्यान जान्थ्यो भने त्यसपछि चलचित्र निर्माणमा हात हाल्दा चलचित्रलाई कसरी राम्रो बनाउने, दर्शकहरुलाई कस्तो चलचित्र मन पराउँछन् भन्नेमा विशेष ध्यान जान्थ्यो । अहिले निर्देशक बनेपछि सबै कुरामा ध्यान जान आवश्यक हुँदो रहेछ । चलचित्रका कलाकारहरुले कस्तो अभिनय गरिरहेका छन्, कस्तो अभिनय दर्शकहरुले रुचाउाछन्, अरु चलचित्र भन्दा फरक कसरी बनाउने जस्ता कुराहरु एउटा निर्देशकको काँधमा आएको हुन्छ त्यसैले निर्देशन र अभिनय विल्कुलै फरक पाटो हो । अझ चलचित्र ड्रिम्स म आफैंले निर्माण र निर्देशन गरेका कारणले गर्दा पनि धेरै कुरामा ध्यान दिन आवश्यक हुँदो रहेछ भन्ने कुराको महशुस भयो । त्यसैले यि सबै कुराहरुलाई मैले चलचित्रको कथा अनुसार ढाल्न सफल भएको छु र त्यहि अनुसार कलाकारहरुले पनि अभिनय गरेका छन् ।

६. बजारमा के हल्ला छ भने भुवन केसीले निर्माण र निर्देशन गरेको र अनमोल केसीले चलचित्रमा अभिनय गरेका कारण पनि चलचित्र हिट हुन्छ भन्ने सोचिरहेका छन्, यसलाई तपाई मान्नु हुन्छ ?
अहिले दर्शकहरु देखी नेपाली फिल्म उद्योगले नै यो चलचित्रलाई हेरिरहेको छ । भुवन केसीले ३० बर्षको चलचित्र करियरमा गरेको योगदान, यस भन्दा अगाडी राम्रा चलचित्र बनाउने, अभिनय गर्ने भएका कारण पनि दर्शकहरुले चलचित्र ड्रिम्स कस्तो बन्यो होला भन्ने सोचिरहेका छन् भने अनमोल केसी यस अघिका चलचित्र भन्दा कसरी फरक भुमिकामा देखिएको छ भन्ने हिसाबले पनि दर्शकहरुले चलचित्रलाई कुरिरहेका छन् । यि सबै कुराहरुलाई हेरेर नै दर्शकहरुले यस्तो कुराहरु गर्नु भएको होला ।

७. तपाईको चलचित्रसँग अर्को एउटा नेपाली चलचित्र पनि प्रदर्शनमा आउँदैछ, कतै डर त लागेको छैन नी ?
मेरो चलचित्रको प्रतिस्पर्धा हलीउड र बलीउड चलचित्रसँग हो । नेपाली बजारमा प्रदर्शन भएर करोडौं कमाउने हलीउड र बलीउड चलचित्रसँग ड्रिम्सले प्रतिस्पर्धा गर्नु पर्छ भन्ने मलाई थाहा छ । मैले उनीहरुसँग प्रतिस्पर्द्या गर्न चलचित्र बनाएपछि म कोहिासँग डराउने भन्ने कुरै हुँदैन ।

८. ड्रिम्ससँग ‘फुलै फुलको मौसम तिमीलाई’ एकसाथ प्रदर्शनमा आउँदैछ, के महशुस हुँदैछ ?
मलाई अरु/अरु हलीउड र बलीउड गरि ५० भन्दा बढि चलचित्र एकसाथ प्रदर्शनमा आएपनि केहि फरक पर्दैन । मैले दर्शकका लागि चलचित्र बनाएको हुँ म कतिसम्म ढुक्क छु भने चलचित्र ड्रिम्सले नेपाली चलचित्रको इतिहासमा सुनौलो नाम कोर्नेछ भन्नेमा विश्वस्त छु ।

९. दर्शकलाई के भन्न चाहनुहुन्छ ?
प्राय: दर्शकहरुलाई थाहा छ चलचित्र ड्रिम्स फगुन २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । एउटा उत्कृष्ट चलचित्र बनेको छ ड्रिम्स, आउनुहोस् एकपटक हेर्नुहोस् भन्न चाहन्छु । म के विश्वास तपाईहरुलाई दिलाउन चाहन्छु भन्दा नेपालमा पनि यो स्तरसम्मको चलचित्र बन्दो रहेछ भन्ने आभाष तपाईहरुलाई चलचित्र हेरेपछि दिलाउन हामी सफल हुन्छौं किनकी चलचित्र सबैपक्षबाट उत्कृष्ट बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu