“भाग् सानी भाग्”मा हाँस्यरस प्रयोग गरेको छु: नवल नेपाल



nawal-nepal-1
महसुश, लज्जा लगायतका चलचित्रहरु निर्देशन गरेर चौतर्फी तारिफ बटुलेका निर्देशक हुन् नवल नेपाल । चलचित्रलाई जीवन्त बनाउन सबै किसिमका रस प्रयोग गर्ने नवल नेपाल अहिले स्थापित निर्देशक बनिसकेका छन् । आफुले निर्देशन गरेका चलचित्रले लगातार सफलताको सिढि चढिरहेको बेला चैत ५ गतेबाट उनले निर्देशन गरेको चलचित्र भाग् सानी भाग् प्रदर्शनमा आउँदैछ । विशेषत कमेडी शैलीमा निर्माण भएको यहि चलचित्रको विषयमा निर्देशक नवल नेपालसँग गरिएको संक्षिप्त कुराकानी:

१. चलचित्रको प्रचारका लागि पोखरा हुँदै पूर्वसम्म पुग्नुभयो । दर्शकहरुबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
हामी देश दौडाहमा निस्कनुभन्दा अगाडी नै चलचित्रको ट्रेलर र गीतहरु सार्वजनिक गरिसकेका थियौं । ट्रेलर र गीतले नै दर्शकहरु चलचित्र भाग् सानी भाग् हेर्न आतुर हुनुहुन्थ्यो त्यहि क्रममा हामी देशदौडाहमा निस्कियौं । देशदौडाहमा निस्कदा हामीले प्रत्यक्ष दर्शकहरुसाग बसेर भलाकुसारी गर्यौं त्यसैले पनि दर्शकहरु चलचित्र हेर्न यति बेला आतुर हुनुहुन्छ भन्ने हामीले पाएका छौं ।

२. जसरी तपाईहरुले चलचित्रका नायक सविन श्रेष्ठ र नायिका केकी अधिकारीलाई सडक सडकमा बेहुला बेहुली बनाएर हिडाउनु भयो त्यो गर्न उचित थियो ?
अहिले के भएको छ भने दर्शक र चलचित्रका कलाकारहरुको दुरी बढ्दै गएको छ । यसलाई हामीले गम्भिर रुपमा हेर्नु पर्ने भइसकेको छ । पछिल्लो समय कलाकारहरु दर्शकहरुको सल्लाह सुझाव लिन खासै हिँडेको पाइदैंन, त्यसैले पनि हामीले यो गरेका हौँ । यो गरेकोमा दर्शकहरु खुसी पनि हुनुहुन्छ । किनकी कलाकारहरुलाई दर्शकहरुले रियल लाइफमा खासै देख्न नपाउने भएका कारणले गर्दा पनि धेरैले हामीलाई धन्यवाद पनि दिएका थिए । हामीले चलचित्रको प्रचारसँगै कलाकार र दर्शकबीचको सुमधुर सम्बन्ध बनाउन पनि यस्तो गरेका हौँ ।

३. नवल नेपालले यस अघि निर्देशन गरेका चलचित्रभन्दा भाग् सानी भाग् के फरक ?
मैले यस अघि निर्देशन गरेका चलचित्रमा करुणा रस र सिंघारिक रस हावी छ । र यस चलचित्र भाग् सानी भाग्मा एउटा जीवन्त कथा नै छ । यसमा मैले अलि बढि हाँस्यरस प्रयोग गरेको छु ।

४. तपाईँले यस अघिका चलचित्रमा बढि दर्शक रुवाउनु भएको छ । यस चलचित्रको ट्रेलर हेर्दा अलि बढि हँसाउनु भएको देखिन्छ । दर्शक हँसाउन सजिलो हुँदो रहेछ की रुवाउन ?
कुन गाह्रो सजिलो भन्दा पनि दुवै गाह्रो र सजिलो हुन्छ । मलाई लाग्छ हँसाउन गाह्रो र सजिलो पनि छ र रुवाउन गाह्रो र सजिलो पनि छ । किनकी मैले निर्देशन गरेका चलचित्रले जबसम्म दर्शकहरुको मन जित्दैन तबसम्म निकै गाह्रो नै हुन्छ । मैले अहिलेसम्म जति पनि चलचित्र निर्देशन गरे त्यसमा मैले अहिलेसम्म करुणा रस र श्रृंगारिक रस प्रयोग गरेको छु । अहिलेसम्म मेरो विर रस अर्थात एक्शन प्रधान चलचित्र तिर ध्यान गएको छैन । त्यसैले पनि सबै प्रकारका चलचित्र निर्देशन गर्न गाह्रो र सजिलो नै हुन्छ तर अहिलेसम्म मैले निर्देशन गरेका चलचित्रहरुलाई दर्शकहरुले मनपराउनु भएको छ त्यसैले मलाई लाग्छ अगामी दिनहरुमा पनि उत्कृष्ट चलचित्र निर्देशन गर्नेछु ।

५. सार्वजनिक ट्रेलर हेर्दा केकी अधिकारी र सविन श्रेष्ठ कमेडी शैलीमा प्रस्तुत भएको देख्न सकिन्छ । सबैभन्दा गाह्रो चाहिँ कमेडी गराउन कसलाई गाह्रो भयो ?
एक त कलाकार आँफैमा सक्षम हुन्छन् । त्यसैले कसलाई गाह्रो र सजिलो भन्ने हुादैन तर मैले कलाकारबाट कतिसम्म लिनसक्छु भन्ने हो र त्यो म चलचित्रमा सफल भएको छु । चलचित्रमा केकी र सविनले उत्कृष्ट काम गरेका छन् । दुवैले चलचित्रमा उतिक्कै मेहेनत गरेका छन् त्यसैले दुवैलाई चलचित्रमा अभिनय गराउन मलाई निकै सजिलो भएको थियो । यति बुझ्नुहोस् कि सविन श्रेष्ठबाट मैले चलचित्रमा जति लिनु पर्ने थियो त्यति लिएको छु र केकीबाट मैले जति लिनुपर्ने थियो त्यो भन्दा अधिकतम लिएको छु ।

bhag-sani-bhag-3

६. चलचित्रको ट्रेलर हेर्दा बढि जसो कमेडी देख्न पाइन्छ भने केहि दृश्यमा सविनको एक्शन पनि देखाइएको छ । चलचित्रले कुन चाहिँ पाटोलाई विशेष उठाएको छ ?
चलचित्र भाग् सानी भाग्मा सविन साने र केकी सानीको भुमिकामा छन् । उनीहरुले जिउने जिन्दगीलाई चलचित्रले उठाएको छ । जिन्दगी जिउँदै जाँदा आउने विभिन्न समस्या, हँसाइ, रुवाइहरुलाई चलचित्रले प्रस्तुत गरेको छ । त्यसमा कहिले हँसाउछन् भने कहिले केकी र सविनले रुवाउँछन् पनि । त्यसलाई हामीले चलचित्रको शैलीमा उतारेका छौँ । यो पक्षलाई विशेष उठाएको भन्दा पनि हामीले चलचित्रमा सबै पक्षलाई बराबरी उठाएका छौँ ।

७. जसरी अहिले नेपाली चलचित्रक्षेत्रमा चलचित्रहरु बनिरहेका छन् त्यो भन्दा फरक छ भाग् सानी भाग् ?
होइन, अरुको जस्तै हो मेरो सिनेमा पनि । अरुले जसरी बनाउँछन् सिनेमा मैले पनि त्यसरी नै बनाएको छु । अरुले जसरी चलचित्र क्यामेराले खिच्छन्, सम्पादन गर्छन डविङ्ग गर्छन् त्यसरी नै हामीले पनि गरेका छौं । फरक यति होला कि मैले यसमा धेरै दुख गरेको हौंला, मैले चलचित्रमा मौलिकता देखाउन खोजेको हौँला ।

८. मैले भाग् सानी भाग् फरक बनाएको छु भनेर भन्न सक्नुहुन्छ ?
त्यस्तो त म कहाा भन्न सक्छु होला र । होला अरु साथीले बनाउने शैली फरक होला, मेरो सोच र शैली फरक होला तर चलचित्र नै फरक तरिकाले तयार गरेको छु भनेर त कहाँ भन्न सक्छु र । यति बुझ्नुहोस् कि चलचित्र दर्शकहरुले २ घण्टासम्म हाासी, रमाई हेर्न लायकको बनेको छ ।

९. चलचित्र हेर्न हलसम्म आइदिनुहोस् भनेर दर्शकहरुलाई केहि भन्न चाहनुहुन्छ ?
सर्वप्रथम त हामीले चलचित्र राम्रो बनाएका छौँ । दर्शकहरुले अहिले जस्तो चलचित्र मनपराउनु हुन्छ त्यस्तै चलचित्र बनेको छ भाग् सानी भाग् । एकपटक चलचित्र हेर्न आइदिनुहोस् राम्रो लागे अरुलाई पनि चलचित्र हेर्न अनुरोध गर्दिनुहोस् र नराम्रो लागे विभिन्न माध्यमबाट आफ्नो विचार राखिदिनुहोस् भन्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu