वर्षा र प्रशान्तलाई लिएर ‘रानीमहल’ घोषणा



नायक द्वय प्रदीप खड्का र पल शाहले अस्वीकार गरेको चलचित्र ‘रानीमहल’ को औपचारिक निर्माण घोषणा गरिएको छ । बिहीवार काठमाडौंको पाँचतारे होेटल अन्नपूर्णमा चलचित्रको घोषणासँगै शुभ मुहूर्त पनि गरियो ।

हिमाल न्यौपानेले निर्देशन गर्ने यस चलचित्रमा वर्षा सिवाकोटी, प्रशान्त ताम्राकार, आशिष अधिकारी, साहिल श्रेष्ठ, मानस्वी खरेल, नीर शाह, बिएस राना, केशव भट्टराई, युनिता खत्री, बासु खनाल, शिलु पोखरेल लगायतका कलाकारहरुको अभिनय रहने छ । माघ तेस्रो साताबाट चलचित्रको छायांकन सुरु हुँदैछ ।

चलचित्रका निर्माता बिमल भुसाल हुन् । स्वस्तिक फिल्मस् को ब्यानरमा बन्ने चलचित्रका निर्देशक न्यौपानेले ‘रानीमहल’ त्रिकोणात्मक प्रेमकथामा आधारित हुने बताए ।

उनले भने, ‘नामले चलचित्र दरबारसँग सम्बन्धित जस्तो लागे पनि यथार्थमा फिल्म दरबार वा यसको सेरोफेरोको कथाबाट टाढा छ । यो एक विशुद्ध त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र हो ।’ उनले यसअघि प्रदीप र पललाई चलचित्र अफर गरेको पनि स्वीकार गरे ।

नायिका वर्षा सिवाकोटीले चलचित्रको कथा औधी मन परेका कारण काम गर्न लागेको बताइन् । यस्तै, ‘ऐश्वर्य’ का भिलेन प्रशान्तले ‘रानीमहल’ मा आफ्नो भूमिका खोजे जस्तै रहेको बताए । डेढ करोड लगानीमा बन्ने ‘रानीमहल’ मा प्रेमसँगै अतिरिक्त मित्रता, पुत्र मोह आदि विषयलाई रोचक शैलीमा प्रस्तुत गरिने निर्माण पक्षको भनाई छ ।

चलचित्रमा दीपक पौडेलको पटकथा, निरज कँडेलको छायांकन, अर्जुन पोखरेल र हर्कुलस बस्नेतको संगीत, हिमाल केसीको द्वन्द्व, कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन रहने चलचित्रको सुटिङ बुटबल, भैरहवा, चितवन, स्याङग्जा,पोखरा, पाल्पा र काठमाडौंमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu