
काठमाडौं – भविष्य फिल्मस् प्रालि र थर्ड आइ आर्ट्सको संयुक्त ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘टिका’ (TIKA: Stateless Soul) को विधिवत रूपमा शुभमुहूर्त सम्पन्न भएको छ। बिहीबार ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा निर्माण टोली, कलाकार र प्राविधिकहरूको उपस्थितिमा क्यामेरा, क्ल्याप र स्क्रिप्ट पूजा गर्दै चलचित्रको साइत गरिएको हो। हरितालिका तीजको अवसर पारेर आगामी भदौ २६ गतेलाई प्रदर्शन मिति तय गरिएको यस चलचित्रको छायांकन यसै साताबाट सुरु हुने निर्माण पक्षले जनाएको छ।
पूर्ण रूपमा महिला प्रधान विषयवस्तुमा निर्माण हुन लागेको यस चलचित्रले समाजमा महिलाले भोग्नुपरेका विभिन्न विभेद र उनीहरूको गम्भीर कथालाई उठान गर्ने निर्माता भविष्य खड्काले बताइन्। ब्लकबस्टर चलचित्र ‘जेरी अन टप’ की निर्मात्रीसमेत रहेकी खड्काले उक्त सफल प्रोजेक्टबाट प्राप्त अनुभव र सिकाइलाई ‘टिका’ निर्माणमा भरपुर उपयोग गर्ने विश्वास व्यक्त गरेकी छन्। खड्काकै निर्माण रहेको अर्को चलचित्र ‘बाटुलो जुन’ भने आगामी दसैँमा प्रदर्शनको पर्खाइमा छ।
शंकर कार्कीको निर्देशन रहने यस चलचित्रमा अभिनेत्रीद्वय प्रियंका कार्की र वर्षा सिवाकोटीका साथै महेश त्रिपाठी, निर्मल शर्मा, पार्वती अधिकारी र आयुषी ढकालको मुख्य अभिनय रहनेछ। यद्यपि, पारिवारिक समस्याका कारण निर्देशक कार्की भने मुहूर्त कार्यक्रममा उपस्थित हुन सकेनन्। तेजविक्रम केसी कार्यकारी निर्माता रहेको यस चलचित्रको कथा निर्देशक कार्की र चन्दन झाले संयुक्त रूपमा लेखेका हुन् भने पटकथा विश्वास तिम्सिना (बिटी कान्छा) ले तयार पारेका हुन्। चलचित्रलाई नरेन्द्र मैनालीले क्यामेरामा कैद गर्नेछन् भने संगीतमा कालीप्रसाद बास्कोटा र केतन क्षेत्रीको सहकार्य रहनेछ।
मुहूर्त कार्यक्रममा बोल्दै कलाकारहरूले चलचित्रको विषयवस्तु र आफ्नो भूमिकाप्रति निकै उत्साह व्यक्त गरेका थिए। अभिनेत्री प्रियंका कार्कीले यस चलचित्र र आफ्नो पात्र जीवनकै एक विशेष हिस्सा रहेको बताउँदै नेपाली रजतपटमा अहिलेसम्म नदेखाइएको नितान्त फरक र नौलो कथा ‘टिका’ ले बोल्ने दाबी गरिन्। त्यसैगरी, अर्की अभिनेत्री वर्षा सिवाकोटीले निर्मात्री खड्का तथा सहकर्मीहरू प्रियंका र महेश त्रिपाठीसँगको यस नयाँ सहकार्य निकै उपलब्धिमूलक र सौहार्दपूर्ण हुने विश्वास व्यक्त गरेकी छन्।





