कान्समा छनोट भएको ‘एलिफेन्ट्स इन द फग’ को ट्रेलर सार्वजनिक



काठमाडौं – विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएर इतिहास रचेको नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ। अविनाश विक्रम शाहको लेखन तथा निर्देशन रहेको यस बहुप्रतिक्षित चलचित्रको ट्रेलरले जंगली हात्तीको सन्त्रास र एउटी आमाको सन्तानप्रतिको गहिरो तड्पाइलाई सशक्त रूपमा पर्दामा उतारेको छ।

सार्वजनिक ट्रेलरले जंगली हात्तीको आतंकबाट प्रताडित एक सीमान्तकृत तथा अल्पसंख्यक बस्तीको कथालाई उजागर गरेको छ। हराएको आफ्नो सन्तानको खोजीमा निस्किएकी एउटी आमाको कठोर संघर्ष, यस क्रममा आइपर्ने अनेकौँ अवरोध र सुरक्षाको गुहार माग्दै प्रहरी प्रशासनसम्म पुगेका निरिह गाउँलेहरूको अवस्थालाई ट्रेलरमा निकै संवेदनशील ढंगले प्रस्तुत गरिएको छ। यसले चलचित्रको मूल कथावस्तु र त्यसले उठान गरेको सामाजिक यथार्थलाई प्रस्ट पारेको छ।

यस चलचित्रमा पुष्पा थिङ, दिपीका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, जोएल गुरुङ र उमेश पाण्डे मुख्य भूमिकामा प्रस्तुत भएका छन्। त्यसैगरी, दिग्गज अभिनेत्री गौरी मल्ल, माओत्से गुरुङ, शान्ति गिरी, सञ्जय गुप्ता दुरा, महिमा नवबाग, आशान्त शर्मा, अनिल कुर्मी र आकांक्षा कार्की लगायतका स्थापित तथा उदीयमान कलाकारहरूको पनि यसमा बलियो र जीवन्त अभिनय रहेको छ।

यो चलचित्र स्वदेशी तथा विदेशी निर्माताहरूको बृहत् सहकार्यमा निर्माण भएको हो। जयन्ती क्रिएसनका तर्फबाट कुमुदिनी गुरुङ श्रेष्ठ, सोहम ढकाल र प्रचण्डमान श्रेष्ठ तथा अन्डरग्राउन्ड टकिज नेपालका तर्फबाट अनुप पौडेलले यसको निर्माण गरेका हुन्। चलचित्रमा फ्रान्सका जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीका माइकल हेनरिक्स र पल जिश्लर, ब्राजिलका तातियाना लेइते र लेओनार्दो मेक्की तथा नर्वेकी भेरोना मेइर स्टोर्म अन्तर्राष्ट्रिय निर्माताका रूपमा जोडिएका छन्। साथै, नेपाली चलचित्रकर्मीहरू मिन भाम, प्रवेश गुरुङ, अभिनेत्री केकी अधिकारी, प्रतीक सुवेदी, प्रतिभा जोशी, सन्तोष भट्टराई, आदित्य बस्नेत र अनोज पौड्यालले पनि निर्माताको रूपमा यस प्रोजेक्टमा महत्त्वपूर्ण योगदान दिएका छन्।

यसअघि आफ्नो लघु चलचित्र ‘लोरी’ बाट कान्समा अवार्ड जितेर चर्चा बटुलिसकेका निर्देशक शाह नेपाली सिनेमा वृत्तमा एक सशक्त पटकथाकारका रूपमा चिनिन्छन्। उनले अन्तर्राष्ट्रिय रूपमा सफल चलचित्रहरू ‘कालो पोथी’ र ‘शाम्बाला’ का साथै चर्चित टेलिभिजन शृंखला ‘सिंहदरबार’ को पटकथासमेत लेखेका छन्। उनको यो नयाँ पूर्ण कथानक चलचित्रले पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमाको गौरव बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu