‘लम्फू’का अडियो गीत सार्वजनिक, चारवटै गीत छन् दमदार



काठमाण्डौ। २०७५ बैशाख २८ मा रिलीज हुने नेपाली चलचित्र ‘लम्फु’का अडियो गीतहरु सार्वजनिक भएका छन् । सार्वजनिक चारवटै गीतमा चर्चित संगीतकार अर्जुन पोखरेको संगीत रहेको छ भने गीतहरुमा प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, शुरेष लामा र अप्सरा घिमिरेको स्वर रहेको छ ।

‘यो चलचित्रको संगीतमा संगीतकारको एक पूर्ण प्याकेज पाईन्छ । चारवटै गीत कथामा बसेर बनाईएको छ तर कथा भन्दा बाहिर बसेर हेर्दा पनि यि सबै गीतहरु अर्थपुर्ण लाग्छन्’, चलचित्रका गीतको संगीतका बारेमा बोल्दै संगीतकार पोखरेलले भने, ‘

‘सँगै जिउने सँगै मर्ने’, ‘तिम्लाई भुलेर’, ‘दोधार दोधारमा’ र ‘सुको छैन यार’ बोलका गीत ‘लम्फू’मा समावेश छन् । चलचित्रका गीतले मायाप्रेममा रोमाञ्स, वियोग तथा युवा अवस्थाको जीन्दगी प्रस्तुत गरेका छन् ।

‘सँगै जिउने सँगै मर्ने’ बोलको गीतमा अप्सरा घिमिरे र शुरेष लामाको स्वर रहेको छ भने दिग्गज धौलारीले शब्द लेखेका छन् । ‘तिम्लाई भुलेर’ बोलको गीतमा प्रमोद खरेलको स्वर तथा युवराज सापकोटाका शब्द छन् । ‘सुको छैन यार’ बोलको गीतमा शिव परियारको स्वर तथा प्रमोद ढुंगानाका शब्द छन् । त्यस्तै, ‘दोधार दोधारमा’ बोलको गीतमा दुर्गा खरेलले स्वर दिएकी छन् भने सञ्चारकर्मी समेत रहेका नरेश भट्टराईले शब्द लेखेका छन् ।

गोपालचन्द्र लामिछाने निर्देशित चलचित्र ‘लम्फू’बाट नव-नायक कबिर खड्काले डेब्यू गरेका छन् । कबिर सहित यो चलचित्रमा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठ लगायतको अभिनय रहेको छ । तरकारीवाली उर्फ कुशुमले पनि ‘लम्फू’बाट नै चलचित्रमा डेब्यू गरेकी हुन् ।

‘लम्फू’ले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ । यो चलचित्र समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउछ भन्ने कथामा बनेको निर्देशक लामिछानेले बताए ।

‘लम्फू’लाई पपुलर मल्टिमिडियाको लागि शक्तिबल्दब घोरासैनीले बनाएका हुन् । यो चलचित्रमा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको ‘लम्फू’मा सम्पादन हरि सिलवालको रहेको छ । ‘लम्फू’को डिजिटल तथा अन्तराष्ट्रिय अधिकार हाईलाईट्स नेपालले लिएको छ ।

चलचित्रका गीतमा समावेश गायक, गायिका तथा रचनाकारहरुको गीतका बारेमा भनाई:
प्रमोद खरेल: ‘तिम्लाई भुलेर’ गीत वियोगान्त गीत हो । गीतका शब्द, संगीत तथा एरेञ्जमेन्ट अत्यन्तै सुन्दर छन् । आफैले गाउँदा पनि चित्त नबुझेर म आफुले तीन पटक सम्म गाएको गीत हो । सानो-सानो कुरामा ध्यान दिँदै गीतलाई तयार पारिएको छ । यो गीत उत्कृष्ट बनाउन ‘लम्फू’ यूनिट तथा संगीतकार अर्जुन पोखरेलले निकै मेहनत गर्नुभएको छ । दर्शकले पनि मन पराउने कुरामा बिश्वस्त छु ।

शिव परियार: ‘सुको छैन यार’ गीत चलचित्रको पात्रलाई मध्यनजर गर्दै फरक पृष्ठभूमिमा बनाईएको गीत हो । गीतले प्रस्तुत गर्ने पात्र नेपालका धेरै बेरोजगार युवाको प्रतिनिधि पात्र हो । हामीसँग मनग्गे पैसा हुँदा मात्र होइन, गोजीमा एक सुको नहुँदा पनि दिल खोलेर रमाईलो गर्न सकिन्छ भन्ने भाव यो गीतमा पाईन्छ । सबै खुशीहरु पैसाले मात्र किन्न सकिँदैन भन्ने अर्थ यो गीतले बुझाउँछ । मैले यो गीतले स्टेज कार्यक्रमहरुमा निकै रुचाउने गरी गाएको छु । चलचित्रमा यो गीत अत्यन्तै सुन्दर रुपमा रहेको छ ।

अप्सरा घिमिरे: गायक शुरेष लामा र मैले युगल गाएको ‘सँगै जिउने सँगै मर्ने’ बोलको गीत मलाई एकदमै मनपर्छ । संगीतकार अर्जुन पोखरेलले यसअघि पनि मलाई धेरै गीत गाउन दिनुभएको छ । यो गीत पनि उहाँले नै अफर गर्नुभएको हो । यो गीत अहिलेको पुस्ताले निकै मन पराउने शैलीको छ ।

शुरेष लामा: मलाई पार्श्व गायनको लागि ‘सँगै जिउने सँगै मर्ने’ बोलको गीतले अर्को फड्को मार्न सघाउने कुरामा ढुक्क छु । अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलसँग काम गर्न पाउनु पनि मेरो लागि निकै ठुलो कुरा हो । ‘लम्फू’ चलचित्र आँफैमा राम्रो चलचित्र हो । यो चलचित्रले मेरो फिल्मी करियरलाई नयाँ बाटो देखाउनेछ ।

दुर्गा खरेल: ‘दोधार दोधारमा’ बोलको गीत लोकलयमा आधारित छ । सञ्चारकर्मी नरेश भट्टराईले अत्यन्तै सुमधुर गीत लेख्नुभएको छ, संगीत पनि उत्तिकै गज्जबको छ । मलाई फेरी एकपटक यो गीतले चिनाउने कुरामा ढुक्क छु ।

दिग्गज धौलारी: ‘सँगै जिउने सँगै मर्ने’ बोलको गीतलाई संगीतकार अर्जुन पोखरेलको आग्रहमा लेखेको हुँ । यो गीत चलचित्रको कथा अनुसार लेखिएको छ । मानिस सम्बन्धमा रहँदा पनि र नरहँदा पनि यो गीत आफ्नै लागी लेखिएको महशुस हुन्छ ।

नरेश भट्टराई: ‘दोधार दोधारमा’ बोलको गीतमा एउटा रमाईको खालको गीत बनेको छ । गीतमा यौवना दोधारमा परेका कुरा छन् । यो गीत वजनदार नाच्ने गीत बनेको छ । संगीतकार अर्जुन पोखरेलले अत्यन्तै राम्रो मेलोडी दिएका छन् । यो गीतले चलचित्र लम्फूलाई प्रचारमा ठुलो सहयोग पुर्‍याउनेछ ।

युवराज सापकोटा: ‘तिम्लाई भुलेर’ बोलको गीत चलचित्रको कथालाई हेरेर लेखिएको हो । गायक प्रमोद खरेल र संगीतकार अर्जुन पोखरेलले यो गीतमा निकै मेहनत गर्नुभएको छ । म आफुले पनि यो गीतबाट निकै आशा लिएको छु ।

प्रमोद ढुंगाना: ‘सुको छैन यार’ बोलको गीतलाई गायक शिव परियारले अत्यन्तै सुन्दर तरिकाले गाउनु भएको छ । संगीतकार अर्जुन पोखरेलले पनि कुनै कसुर बाँकी राख्नुभएको छैन । चलचित्रमा त यो गीत अत्यन्तै दमदार हुनेछ साथमा स्टेज समेत यो गीतले ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍तताउनेछ ।

 

Playlists:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu