शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको नेपाली चलचित्र ‘शेरबहादुर’ लाई दर्शकबाट राम्रो प्रतिक्रिया मिलेको छ । सिनेमा घरहरुमा दर्शकको ठेलमठेल उपस्थिति नरहेपनि चलचित्र हेर्ने दर्शकले राम्रो बोलेका छन् । शुक्रवार ४५ प्रतिशत अकुपेन्सी रहेको यो चलचित्रले शनिवार ६५ प्रतिशत माथीको अकुपेन्सी कायम गरेको वितरक गोपाल कायस्थले जानकारी दिए ।
शनिवार ८० प्रतिशत माथिको अकुपेन्सी अपेक्षा गरिएको भएपनि दर्शक सोचे जस्तो हलमा आएका छैनन् । कतिपय दर्शक आफैंले चलचित्र हलिउडको प्रभावमा बनाएको थाहा हुँदाहुँदै पनि हेरेको र नेपालमा पनि हलिउड जस्तै चलचित्र निर्माण हुनसक्छ भने विश्वास ‘शेरबहादुर’ बाट मिलेको बताएका छन् ।
शनिवार गोपिकृष्ण, अष्टनारायण लगायतका हलमा दर्शकहरु चलचित्रका प्रमुख कलाकार सुनिल थापा र रविन्द्र झासँग सेल्फी खिच्न व्यस्त देखिन्थे । ‘शेरबहादुर’ को दुईदिने कलेक्सन आइतवार दिउँसो मात्र सार्वजनिक गरिने वितरक कायस्थले जानकारी दिए ।

चलचित्रलाई आर राजवंशीले निर्देशन गरेका हुन् । धिराज प्रोडक्सनको व्यानरमा निर्मित यो चलचित्रमा प्रमोद क्षेत्रीको कथा छ । चलचित्रमा गौरीशंकर धुनुजु र धिराज राजवंशीको लगानी रहेको छ ।
‘शेरबहादुर’ एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको चलचित्र हो । चलचित्रमा बरिष्ठ कलाकार सुनिल थापा, कर्मा, रविन्द्र झा, मेनुका प्रधान लगायतका कलाकारहरुको प्रमुख भूमिका छ ।
‘जात्रा’ निर्देशक प्रदीप भट्टराईको सह-निर्देशन रहेको चलचित्रका सिनेम्याटोग्राफर दीर्घ गुरुङ हुन् ।






