अभिनेता दयाहाङ राईले कान्छी उर्फ श्वेता खड्कासँग यस वर्षको ‘भ्यालेन्टाइन डे’ मनाएका छन् । उनले पोखराको फेवातालको बिचमा श्वेतालाई गुलाबको फूल दिँदै भ्यालेन्टाइन ‘विस’ गरेका हुन् । फूल दिँदै गर्दा दयाले चलचित्र ‘कान्छी’ को प्रेमिल डाइलग बोलेका थिए ।

उता, श्वेताले फूल लिन मानिनन् । उनले जवाफ दिइन्, ‘फूल दिँदैमा माया हुन्छ ?’ दयाले उत्तर दिए, ‘जे भएपनि राख न ।’ दयाको मधुरो वचन सुनेपछि श्वेताले फूल लिँदै ‘थ्याङक्यू’ भनिन् ।

अहिले यो जोडी फागुन ४ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘कान्छी’ को प्रचारका लागि मोफसल टुरमा छन् ।
श्रीकृष्ण श्रेष्ठको निधनपछि विक्षिप्त बनेकी श्वेता आफ्नै चलचित्र ‘कान्छी’ बाट चलचित्र क्षेत्रमा फर्केकी छिन् । ग्रामीण भेगकी कान्छीको कथा बोल्ने चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन छ ।

आकाश अधिकारीको निर्देशन रहेको चलचित्र ‘कान्छी’ मा श्वेता खड्का, दयाहाङ राई, अनु शाह, कामेश्वर चौरसिया, निर शाह, भूमिका श्रेष्ठ, प्रज्वल सुजल गिरीलगायतका कलाकारको अभिनय रहेको छ ।






