‘पञ्चायत’ गर्व गर्न लायकको चलचित्र : नीता ढुंगाना



पञ्चायती शासन व्यवस्थाका बेला एउटा गाउँको सामाजिक विषय र न्याय प्रणालीलाई आधार बनाएर निर्माण गरिएको चलचित्र ‘पञ्चायत’ आउँदो चैत २ गतेबाट देशैभर एकसाथ प्रदर्शनमा उत्रिदैछ । यस्तैमा चलचित्रको निर्माण टिम प्रचार-प्रसारका लागि मोफसल टुरमा निस्केको छ ।

५० बर्ष अगाडिको सामाजिक संरचना र त्यो समयका किशोरीहरुको यौन मनोविज्ञानलाई समाजले हेर्ने दृष्टिकोण र छाउपडी प्रथामा बस्ने किशोरीको पीडालाई ‘पञ्चायत’ मा देखाइएको निर्देशक शिवम् अधिकारी बताउँछन् ।

उनी भन्छन्, ‘पञ्चायत’ मौलिक र अर्गानिक चलचित्र हो । आजभन्दा ७ वर्ष अगाडि नै चलचित्रको कथा लेखेको थिएँ । बल्ल स्क्रिप्टले पूर्णता पाएको छ ।’

बुधवार चितवनको भरतपुरमा पत्रकार सम्मेलनमा आफ्नो भनाई राख्दै अभिनेता सरोज खनालले आफू अभिनीत चलचित्र ‘प्रेमपिण्ड’ मन पराउने दर्शकलाई ‘पञ्चायत’ हेर्न आग्रह गरे ।


उनी भन्छन्, ‘वर्षौ–वर्षसम्म अर्काइभ (अभिलेख) गरेर राख्ने खालको चलचित्र बनेको छ । एउटा कालखण्डको छाउपडी प्रथा र न्याय प्रणालीको कस्तो थियो भन्ने कुरा ‘पञ्चायत’ हेरेपछि प्रष्ट हुन्छ ।’ अभिनेत्री नीता ढुंगाना ‘पञ्चायत’ गर्व गर्न लायकको चलचित्र बनेको बताइन् ।

यो चलचित्रमा सरोज र नीताका अलवा रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रलाई गणेश गिरीको प्रस्तुतीमा सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् । टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको चलचित्रलाई विपिन मल्लले सम्पादन गरेका हुन् ।

यसअघि अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन् फ्रान्सिस्को चलचित्र महोत्सव’ मा ‘पञ्चायत’ ले बिदेशी भाषाको ‘उत्कृष्ट चलचित्र’ विधामा र ‘उत्कृष्ट मुख्य अभिनेत्री’ विधामा पुरस्कार जित्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu