‘प्रेमगीत’ र ‘प्रेमगीत २’ बाट अभिनेता प्रदीप खड्काले गज्जब क्रेज बनाएका छन् । स्टार अभिनेताको सूचीमा आफूलाई उभ्याइसकेका उनी अभिनीत नयाँ चलचित्र ‘लिलिबिली’ चैत ३० गतेको प्रदर्शन मिति कुरेर बसेको छ । यही चलचित्रको प्रचारका लागि यतिबेला उनी देशदौडाहामा छन् ।
खराब मौसमका कारण हवाईजहाज ल्याण्ड हुन नसकेपछि आइतवार पोखरामा चलचित्रको कन्सर्ट हुन सकेन । सोमबार भने चितवनको नारायणी किनारमा ‘लिलिबिली’ को स्टेज कन्सर्ट राखिएको थियो ।
जहाँ प्रदीपलाई हेर्नकै लागि हजारौं युवायुवती जमघट भएका थिए । फ्यानको भीडबाट जोगिएर स्टेजसम्म पुग्न प्रदीपलाई हम्मेहम्मे परेको थियो
चितवनको कन्सर्ट लगत्तै चलचित्र यूनिट पुर्वका दमक, इटहरी, धरान लगायतका शहरमा पुग्नेछ । यस टुरमा प्रदीप र निर्देशक मिलनसँगै नव-अभिनेत्री जसिता गुरुङ, निर्माता सुदिप खड्का, नेपाल आइडलका प्रतिस्पर्धी तथा गायक प्रताप दास, गायक एसडी योगी र गायिका मेचु धिमाल रहेका छन् ।
चितवनमा कन्सर्ट गर्नु अगाडि चलचित्र यूनिटले पत्रकारसँग भेटघाट गरेको थियो । प्रदीपले ‘लिलिबिली’ मा निभाएको भूमिका र कामको नयाँ अनुभवले आफूलाई नयाँ उचाई दिने आशा व्यक्त गरे । उनी हरेक नयाँ काम डेब्यु सरह हुने तर्क राख्छन् । डेब्यु गर्ल जसिताले चलचित्रमा इमोसनल र सिम्पल केटीको भूमिका निर्वाह गरेको बताइन् ।
बेलायत, स्कटल्याण्ड र टर्कीको स्थानबुलमा छायांकन गरिएको यस चलचित्र हरेक नेपाली चलचित्रका फ्यानले गर्व गर्न लायक बनेको निर्देशक चाम्सले बताए । उनी भन्छन्, ‘विदेशमा मात्र छायांकन गरिएता पनि चलचित्रले नेपालको प्रतिनिधित्व गर्छ ।’
यस्तै, निर्माता खड्काले ‘लिलिबिली’ को क्लाइमेक्स सिन हेरेर चाम्स र आफू गहभरी भएको सुनाए । ‘यस फिल्मले नेपाली चलचित्रमा क्षेत्रलाई एक स्टेप माथि उठाउने छ ।’ उनले भने ।
उक्त चलचित्रमा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ ।
काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।
फिल्ममा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायांकन छ ।