अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘कृ’ मा समावेश ‘उकालीमा अघि अघि’ गीत चोरीको आरोपमा निर्माता सुवास गिरीलाई अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको छ ।
शम्भु प्रधान निर्देशित तथा भुवन केसी अभिनीत चलचित्र ‘सम्झना’ मा समावेश यो गीत विना अनुमती ‘कृ’ फिल्ममा राखेको अभियोगमा निर्माता गिरीलाई यतिबेला अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसर, टेकुमा राखिएको छ । उनी मंगलबार साँझ ६ बजे छलफलको लागि प्रहरी परिसर टेकु पुगेका थिए ।

डिएसपी मोहन कुमार थापाले दुबै पक्षसँगको वार्ता सफल नभएपछि अनुसन्धानका लागि निर्माता गिरीलाई हिरासतमा राखिएको जानकारी दिए । उनले भने, ‘अनुसन्धान पूरा नहुन्जेल उहाँलाई थुनामा राखिनेछ ।’
केही हप्ता अगाडि निर्देशक प्रधानले गीत चोरेको आरोपमा प्रहरीमा जाहेरी दिएका थिए । पटक-पटक चलचित्रबाट गीत हटाउन आग्रह गरेपनि ‘कृ’ टिमले बेवास्था गरेका कारण प्रहरीले निर्माता गिरीलाई अनुसन्धानका लागि हिरासतमा राखेको हो ।
प्रधानले निर्माता भुवन केसीविरुद्ध पनि जाहेरी दर्ता गराएका थिए । तर, चलचित्र विकास बोर्डको दर्ता फाइलमा सुवास गिरीको नाम मात्र निर्मातामा उल्लेख छ । कानुनी रुपमा केसी निर्माता नभएको खुलेपछि गिरीविरुद्ध मुद्दा चलाउन लागिएको हो ।
प्रतिलिपि अधिकार ऐनअनुसार दोषी ठहर भए ६ महिनासम्म कैद सजाय हुनसक्छ । त्यस्तै, मागअनुसार क्षतिपूर्ति र जरिवाना समेत हुन सक्ने व्यवस्था छ ।






