दर्शकले रुचाए ‘लिलिबिली’, हलमा प्रदीप र जसिताको क्रेज यस्तो (भिडियो र फोटोसहित)



नयाँ वर्ष २०७५ को छेकोमा रिलिज भएको चलचित्र ‘लिलिबिली’ ले दर्शकको राम्रो साथ पाएको छ । युवा स्टार प्रदीप खड्का लिड रोलमा रहेका कारण चलचित्रलाई दर्शकको कमी छैन । शुक्रवार ६५ प्रतिशत रहेको चलचित्रको अकुपेन्सी शनिवार बिहानैदेखि शतप्रतिशत छ ।

राजधानी भित्र र बाहिरका सबै प्रमुख स्टेशनहरुमा चलचित्र हेर्ने दर्शकको चाप देखिएको छ । शनिवार बिहान प्रदीप राजधानीको अष्टनारायण हलमा पुग्दा दर्शकको भीड सम्हाल्नै मुश्किल परेको थियो ।

उनीसँग सेल्फी खिच्न र हात मिलाउन युवापुस्ताका दर्शक उल्लेख्य देखिन्थे । नव-अभिनेत्री जसिता गुरुङको एक झल्को हेर्न पनि दर्शक उस्तै ‘बेकाबु’ भएका थिए ।

उनी पनि अष्टनारायणमा चलचित्र हेर्न पुगेका दर्शकसँग निकैबेर सेल्फीमा रमाइन् । उनी दर्शकको साथ र माया देखेर दंग देखिन्थिन् । उनको यो पहिलो चलचित्र हो । दर्शकले जसिताको अभिनय, डाइलग डेलिभरी र सुन्दरताको खुलेरै प्रशंसा गरेका छन् ।

यस्तै, शनिवार दिउँसो साढे १ बजे बडिगार्डसहित प्रदीप र जसिता राजधानीको गोपीकृष्ण हलमा दर्शक भेट्न पुगे । त्यहाँ पनि टिकट काट्नेको भीड थामिसक्नु थिएन । २ बजेको शोका लागि दर्शकहरु १२ बजेदेखि नै टिकट काउन्टरमा चर्को घाम सहेर उभिरहेका थिए ।

प्रदीप र जसितालाई देखेपछि उनीहरुमा जोश आयो । त्यसपछि त गोपीकृष्ण हलमा ‘प्रदीप-प्रदीप’ भन्दै गुञ्जिएको आवाज मात्र सुनिन्थ्यो । दर्शकको भीड देखेर प्रदीप खुसी मुद्रामा देखिन्थे ।

गोपीकृष्णको ग्राउन्डबाट बालकुनी पुग्दा प्रदीपलाई फ्यानको भीडबाट बचाउन बडिगार्ड समेत पसिना- पसिना भएका थिए । उनले सकेसम्म दर्शकलाई निराश बनाएनन् । उनी हात मिलाउँदै र तानातान गरिरहेका दर्शकको सेल्फीमा पनि सकभर अट्ने प्रयास गरे ।

दिउँसो गोपीकृष्ण हलले ‘लिलिबिली’ लाई उपलब्ध गराएको ‘गोपी’ र ‘ऊँ’ हल हाउसफुल भएका छन् । टिकट नपाएर कयौं दर्शक निराश हुँदै घर समेत फर्किन बाध्य भए ।

टिकट काट्न तछाडमछाड गरेर बसिरहेका दर्शकसँग प्रदीपले आफ्नै मोबाइलबाट केही सेल्फी खिचे । अनि चलचित्रमा समाबेश ‘इञ्जिन गाडीमा’ बोलको गीत गाउँदा दर्शकले ताली र सिठ्ठी बजाउँदै उनलाई साथ दिए ।

जसिता भने अस्वस्थ भएका कारण दर्शकलाई हात जोड्दै धन्यवाद व्यक्त गरिन् । युवतीहरु प्रदीपलाई देखेपछि गहभरी भए । पुरुष दर्शकहरु पनि प्रदीपलाई ‘आई लभ यू’ भन्दै एकतमासले चिच्याइरहेका थिए ।

राजधानीका गुण, गंगाजस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हलमा पनि शनिवार बिहानैदेखि ‘लिलिबिली’ हेर्ने दर्शकको उपस्थिति उत्साहजनक छ ।

उता, राजधानीको मुख्य मल्टिप्लेक्स क्युएफएक्स अन्तर्गतको सिभिल मल, जय नेपाल, कुमारी हलसँगै विग मुभिज, एफक्यूव, विएसआर मुभिजको हरेक शोमा दर्शक भरिभराउ देखिएका छन् ।

मोफसलका प्रमुख स्टेशनहरु पोखरा, विर्तामोड, दमक र चितवनका पर्दाहरुमा पनि ‘लिलिबिली’ ले हाउसफुल दर्शक भित्राएको छ । चलचित्रले शनिवार मात्र ८० लाख ग्रस कलेक्सन गरेको हुन सक्ने अनुमान गरिएको छ ।

मिलन चाम्स निर्देशित यस चलचित्रमा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ ।

काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu