५१ दिनमा ‘शत्रु गते’



गएको वर्षको चैत ९ गतेबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘शत्रु गते’ प्रदर्शनको ५१ दिनमा प्रवेश गरेको छ । ‘शत्रु गते’ टिमले शनिवार साँझ ५१ दिने सेलिव्रेसन कार्यक्रम समेत राखेको छ ।

प्रदीप भट्टराई निर्देशित यस चलचित्र प्रदर्शनको ५१ दिनसम्म देशभरका ८ हलमा प्रदर्शन भइरहेको छ । वितरक गोपाल कायस्थले चलचित्रको कूल कलेक्सन जोड्न बाँकी रहेको बताए । यस चलचित्रले प्रदर्शनको ५१ औं दिनसम्ममा १२ करोड ग्रस कलेक्सन गरेको खबर प्राप्त छ ।

यो चलचित्रले चौथो हप्तामा आफ्नो प्रदर्शन सुरु गर्दा १० करोड ग्रस कलेक्सन गरेको थियो । यसले ‘छक्का पञ्जा’ ले बनाएको १६ करोडको एतिहासिक रेकर्ड ब्रेक गर्ने अपेक्षा गरिएपनि अब यो असंभव देखिन्छ ।


निर्देशक भट्टराईले सफलताको सबै जस दर्शक, शुभचिन्तक र सञ्चारकर्मीलाई दिन चाहेको बताए । यस्तै, चलचित्रका प्रस्तुतकर्ता किरण केसीले ५१ औं दिनमा पनि चलचित्रलाई दर्शकको साथ कम नभएकोमा खुसी व्यक्त गर्छन् ।

उनले यो चलचित्र गोपीकृष्ण, अष्टनारायण, गुण, क्यूएफएक्स, बिग मुभिज, सिटीम्याक्स, बाराहीलगायतका हलमा ५१ औं दिनमा पनि हाउसफुल रहेको बताए ।

उनी भन्छन्, ‘व्यापारिक सफलताभन्दा पनि अत्याधिक दर्शक कमाइ गर्न सक्नु हाम्रा लागि सुखद हो ।’ निर्माता केसीले बिग मुभिजमा ‘छक्का पञ्जा’ ले ५१ औं दिनमा गरेको ग्रस ‘शत्रु गते’ ले ३८ दिनमा गरेको जानकारी दिए ।

गुण सिनेमा हलमा यस चलचित्रले इतिहासमै सर्वाधिक कलेक्सन गरेको खबर छ । उक्त चलचित्रले अष्ट्रेलियामा ४० र अमेरिकामा ५० शोसम्म पाउने नेपाली चलचित्रको इतिहासमै यो पहिलो पटक हो ।

‘शत्रु गते’ मा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, शिवहरी पौडेल, रमेश रञ्जन झा लगायतका कलाकारको प्रमुख भूमिका छ । सामाजिक कथामा केन्द्रीत चलचित्र विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu